डा. उदयनारायण सिंह
फेमली फिजिसियनहरेक मृत्यु चिकित्सकीय लापरवाही होइन
उपचार दक्ष र अनुभवी जनशक्तिले प्रदान गर्ने संवेदनशील सेवा हो । चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य सुधारका लागि सक्दो प्रयास गर्छन् । तर, उपचारका क्रममा रोगको प्रकृति, बिरामीको अवस्था र अन्य जटिलताका कारण कतिपय अवस्थामा मृत्यु हुन सक्छ । त्यसैले बिरामीको मृत्यु भएको हरेक घटनालाई चिकित्सकीय लापरवाहीका रूपमा बुझ्नु उचित हुँदैन ।
समयमै अस्पताल नपुग्नु, रोगको पहिचान ढिलो हुनु, अधुरो उपचार, स्वास्थ्यसम्बन्धी ज्ञानको कमी तथा आकस्मिक हृदयघात, स्ट्रोकजस्ता समस्याले पनि बिरामीको अवस्था गम्भीर बन्न सक्छ । कतिपय अवस्थामा सीमित साधनस्रोतका कारण उपचार थप चुनौतीपूर्ण हुन्छ । नेपालमा जनसंख्याको अनुपातमा चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल शय्या, आइसीयु, उपकरण तथा अन्य पूर्वाधारको पर्याप्तता अझै चुनौतीपूर्ण छ । अत्यधिक बिरामीको चापमा एक चिकित्सकले धेरै बिरामी हेर्नुपर्ने अवस्थाले पनि उपचार सेवामा दबाब सिर्जना गर्छ ।
यसका लागि सरकारले सरकारी तथा निजी अस्पतालमा आवश्यक मापदण्ड प्रभावकारी रूपमा लागू गर्नुपर्छ । चिकित्सक–बिरामी अनुपात, शय्या, आईसीयु, संवेदनशील वार्ड, उपकरण र जनशक्तिको नियमित अनुगमन गर्न आवश्यक छ । आकस्मिक बिरामीलाई समयमै उपयुक्त अस्पताल पु¥याउन एम्बुलेन्स सेवा पनि भरपर्दो र गुणस्तरीय बनाउनुपर्छ ।
बिरामीका परिवारले चिकित्सकको सुझाव पालना गर्ने, समयमै अस्पताल पु¥याउने, औषधि नियमित प्रयोग गर्ने र उपचार पूरा गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्छ । सञ्चारमाध्यमले पनि घटनाको तथ्य नबुझी चिकित्सकीय लापरवाहीको निष्कर्ष निकाल्नु हुँदैन । स्वास्थ्यसम्बन्धी समाचार तथ्य, प्रमाण र विशेषज्ञको सुझावमा आधारित हुनुपर्छ ।
लापरवाही भएको आशंका भए निष्पक्ष छानबिन गरी दोषीलाई कानूनअनुसार कारबाही गर्नुपर्छ । तर, प्रमाणबिनै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण वा दुव्र्यवहार गर्नु स्वीकार्य हुँदैन । असुरक्षित वातावरणले जटिल बिरामीको उपचारमा चिकित्सकलाई हिचकिचाउने अवस्था सिर्जना गर्न सक्छ । त्यसैले सरकारले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य संस्था, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबीच सहकार्य बढाउनुपर्छ । तथ्यमा आधारित अनुसन्धान, पर्याप्त पूर्वाधार र सुरक्षित कार्य वातावरणबाट मात्र स्वास्थ्य सेवा प्रभावकारी र विश्वसनीय बनाउन सकिन्छ ।
डा. मनोज उपाध्याय (निर्देशक)
एभरेष्ट डेन्टल सेवा केन्द्र
सुधारसँगै चिकित्सक र बिरामीबीच विश्वास आवश्यक
नेपालजस्तो विकासोन्मुख देशमा स्वास्थ्य क्षेत्रका आवश्यक मापदण्ड पूरा गर्न, आधुनिक प्रविधि र उपकरण विस्तार गर्न तथा दक्ष जनशक्ति उपलब्ध गराउन अझै धेरै काम गर्नुपर्ने अवस्था छ । सरकारले स्वास्थ्य संस्थाको क्षमता बढाउँदै आवश्यक प्रविधि, उपकरण, औषधि र जनशक्तिको पर्याप्त व्यवस्था गर्नुपर्छ । चिकित्सकको मूल उद्देश्य बिरामीको स्वास्थ्य सुधार गर्नु हो । कुनै पनि चिकित्सकले बिरामीलाई हानि पु¥याउने उद्देश्यले उपचार गर्दैनन् ।
तर, अस्पताल पुगेपछि शतप्रतिशत निको हुने अपेक्षा राख्ने प्रवृत्ति देखिन्छ । उपचारको परिणाम रोगको प्रकृति, बिरामीको अवस्था, उपचार सुरु भएको समय, उपलब्ध स्रोतसाधन र अन्य जटिलतामा निर्भर हुन्छ । चिकित्सकले आफ्नोतर्फबाट सक्दो प्रयास गरे पनि हरेक अवस्थामा अपेक्षित परिणाम प्राप्त नहुन सक्छ । उपचारकै क्रममा बिरामीको मृत्यु हुन सक्ने अवस्थालाई पनि चिकित्सकीय वास्तविकताका रूपमा बुझ्न आवश्यक छ ।
उपचारको परिणाम प्रतिकूल भएपछि स्वास्थ्य संस्था वा चिकित्सकमाथि आक्रोश पोख्ने, कुटपिट गर्ने, तोडफोड गर्ने र सेवा अवरुद्ध गर्ने घटना स्वीकार्य हुन सक्दैन । चिकित्सकीय दक्षताको कमी, उपचार प्रक्रियामा त्रुटि वा लापरवाहीका कारण क्षति भएको आशंका भए सम्बन्धित नियामक निकाय, काउन्सिल वा कानूनी निकायबाट निष्पक्ष छानबिन हुनुपर्छ । गल्ती प्रमाणित भए कानूनअनुसार कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ ।
स्वास्थ्य विवाद समाधानका लागि स्वास्थ्य बिमा प्रणालीलाई प्रभावकारी बनाउनुका साथै उपचारका क्रममा हुने क्षतिको जिम्मेवारी र क्षतिपूर्तिसम्बन्धी स्पष्ट नीति आवश्यक छ । दोषी नभएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आरोप र हिंसाबाट संरक्षण गर्नु पनि राज्यको दायित्व हो ।
यसका लागि बिरामी र परिवारलाई रोगको प्रकृति, उपचारको सीमा, सम्भावित जोखिम तथा परिणामबारे स्पष्ट जानकारी दिनुपर्छ । नागरिकमा स्वास्थ्यसम्बन्धी शिक्षा र चेतना बढाउन सरकार, स्वास्थ्य संस्था, चिकित्सक, नागरिक समाज र सञ्चारमाध्यमले सहकार्य गर्नुपर्छ । अधिकार र जिम्मेवारी दुवै पक्षले बुझ्न सके स्वास्थ्य क्षेत्रमा हुने विवाद र हिंसा घट्दै चिकित्सक तथा बिरामीबीचको विश्वास अझ बलियो बन्न सक्छ ।
डा. निरज सिंह
फिजिसियनदुव्र्यवहार रोक्न राज्यको जिम्मेवारी बढाउनुपर्छ
स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहारको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । सरकारी अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि त्यसअनुसार दक्ष जनशक्ति, उपकरण, स्रोतसाधन र भौतिक संरचनाको पर्याप्त व्यवस्था हुन सकेको छैन । एउटै चिकित्सकले अत्यधिक बिरामी हेर्नुपर्ने बाध्यता छ । त्यसैले चिकित्सकले दैनिक कति बिरामी हेर्ने भन्ने विषयमा स्पष्ट मापदण्ड बनाउँदै आवश्यक जनशक्ति तत्काल थप्नुपर्छ । लामो समयदेखि रिक्त पदमा विज्ञापन भए पनि पदपूर्ति हुन नसक्नु गम्भीर समस्या हो ।
अस्पतालबाट अपेक्षाअनुसार सेवा नपाउँदा उत्पन्न हुने आक्रोश स्वास्थ्यकर्मीमाथि पोखिने गरेको छ । विशेषगरी आकस्मिक कक्षको व्यवस्थापन, उपकरण र पूर्वतयारीमा कमजोरी हुँदा त्यसको प्रत्यक्ष असर फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले बेहोर्नुपर्छ । अस्पतालको व्यवस्थापनमा चिकित्सकको प्रत्यक्ष भूमिका नहुँदा पनि व्यवस्थापकीय कमजोरीको दोष उनीहरूमाथि लगाउनु उचित हुँदैन ।
वीरगञ्जको नारायणी अस्पताल यसको उदाहरण हो । लामो समयदेखि अस्पतालको भौतिक संरचना सुधार हुन नसक्दा उपचार सेवामा चुनौती थपिएको छ । प्रसूति गृह र आकस्मिक कक्षका भवनसमेत निजी क्षेत्र तथा विभिन्न संस्थाको सहयोगमा निर्माण हुनुपर्ने अवस्था राज्यको कमजोर लगानी र प्राथमिकता स्पष्ट गर्ने विषय हो । यस्तो अवस्थाको मार अन्ततः स्वास्थ्यकर्मी र बिरामी दुवैले बेहोर्नुपर्छ ।
अस्पतालमा संक्रमण नियन्त्रण पनि महत्वपूर्ण विषय हो । विशेषगरी आईसीयुुमा नियमित सरसफाइ, संक्रमण परीक्षण र आवश्यक नियन्त्रणका उपाय अपनाउनुपर्छ । उपचारपछि सुधार हुँदै गरेको बिरामी अस्पतालजन्य संक्रमणका कारण पुनः बिरामी हुन सक्ने भएकाले यसको वैज्ञानिक अनुसन्धान आवश्यक छ । बिरामीको अवस्था बिग्रिँदा पर्याप्त अध्ययनबिना स्वास्थ्यकर्मीलाई दोष दिने प्रवृत्ति रोक्नुपर्छ ।
सरकारले जनशक्ति, उपकरण र पूर्वाधारको अभाव तत्काल सम्बोधन गर्नुपर्छ । रेडक्रस तथा अन्य संस्थाले पनि आवश्यक सहयोग गर्न सक्छन् । निजी अस्पताललाई समेत सहुलियत र आवश्यक सुविधा उपलब्ध गराई गुणस्तरीय सेवा सुलभ बनाउनुपर्छ । सरकारी र निजी क्षेत्रको क्षमता बढाउँदै स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नु आजको आवश्यकता हो ।
डा. प्रिती यादव(स्त्री तथा प्रसुति रोग विशेषज्ञ)
श्रीराम हस्पिटल चिकित्सकमाथि हुने दुव्र्यवहार रोकौं
नागरिकले स्वास्थ्य सेवा छिटो, सहज र कम खर्चमा पाउनुपर्छ । उपचारका क्रममा रोगको जटिलता कति छ र अब कसरी अघि बढ्ने भन्ने विषयमा चिकित्सकले बिरामी तथा परिवारलाई स्पष्ट जानकारी दिन आवश्यक छ । जाँचका रिपोर्ट आउन २–३ दिन लाग्ने अवस्था, उपचार सोचेभन्दा बढी खर्च हुने समस्या र सबै उपचारमा बिमा सुविधा नहुनुले नागरिकलाई थप आर्थिक भार परेको छ । टाढाबाट अस्पताल आउने बिरामीका लागि यातायात खर्च पनि अर्को चुनौती बनेको छ । स्थानीय तहदेखि नै बिरामीको अवस्था छुट्याउने प्रभावकारी प्रणाली आवश्यक छ । सामान्य रोगको प्राथमिक तहमा उपचार, लामो समय उपचार आवश्यक पर्ने बिरामीको छुट्टै व्यवस्थापन र जटिल अवस्थाका बिरामीलाई समयमै रिफर गर्ने व्यवस्था हुनुपर्छ । आपत्कालीन बिरामीलाई मात्र अस्पतालमा तत्काल पठाउने स्पष्ट मापदण्ड बनाएमा अस्पतालको अनावश्यक भिड घट्नुका साथै गम्भीर बिरामीले समयमै सेवा पाउन सक्छन् । कुनै पनि चिकित्सकले बिरामीको अवस्था बिगार्ने उद्देश्य राख्दैन । रोगको प्रकृति र जटिलताका कारण उपचार गर्दागर्दै पनि बिरामीको अवस्था गम्भीर बन्न सक्छ । सामान्य ज्वरोदेखि ठूला रोगसम्म विभिन्न जटिलता देखिन सक्छन् र हरेक प्रतिकूल परिणामलाई तत्काल चिकित्सकीय लापरवाहीको संज्ञा दिनु उचित हुँदैन ।
उपचारका क्रममा समस्या वा शंका उत्पन्न भएमा कानूनी तथा चिकित्सकीय प्रक्रियामार्फत अनुसन्धान र निष्कर्ष निकाल्ने व्यवस्था छ । चिकित्सकमाथि सीधा दुव्र्यवहार वा हातपात गर्नु मानव अधिकार र कानूनी मर्यादाविपरीतमात्र होइन, यसले भविष्यमा आपत्कालीन अवस्थामा बिरामी छुनसमेत स्वास्थ्यकर्मी डराउने वातावरण बनाउन सक्छ । बिरामीले आफूलाई विश्वास लागेको चिकित्सकबाट उपचार गराउन पाउने अधिकार सुरक्षित हुनुपर्छ । तर, कुनै पनि विवादमा नागरिकले कानुन हातमा लिनु हुँदैन. स्वास्थ्य सेवा सुधारसँगै बिरामीको अधिकार र स्वास्थ्यकर्मीको सुरक्षालाई समान प्राथमिकता दिनु आजको आवश्यकता हो ।
डा. अनुपम उपाध्याय
जेष्ठ नागरिक रोग विशेषज्ञनागरिक–चिकित्सक विश्वास आवश्यक
नागरिकका गुनासो हेर्दा स्वास्थ्य सेवाप्रति जनताको अपेक्षा निकै ठूलो रहेको देखिन्छ । तर, आवश्यक सामग्री, जनशक्ति, उपकरण र पूर्वाधारको अभावका कारण बढ्दो अपेक्षा पूरा गर्न चुनौती भइरहेको छ । मधेश प्रदेशका सरकारी अस्पतालहरूको अवस्था हेर्दा कतिपय स्थानमा चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक औजार र उपकरणको कमी देखिन्छ । सीमित स्रोतसाधनका बीच पनि चिकित्सकले नागरिकको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
नागरिकले चिकित्सकमाथि विश्वास गर्नु स्वाभाविक हो । तर, उपचारपछि प्रत्येक बिरामी पूर्ण रूपमा निको हुनैपर्छ भन्ने धारणा सही होइन । चिकित्सकले आफ्नो ज्ञान, सीप र उपलब्ध स्रोतसाधनका आधारमा उपचार गर्ने भए पनि हरेक बिरामीलाई निको पार्ने ग्यारेन्टी दिन सक्दैनन् । उपचारका क्रममा बिरामीको अवस्था जटिल बन्ने वा मृत्यु हुने अवस्था आउन सक्छ । त्यसलाई तत्काल चिकित्सकीय लापरवाहीको परिणामका रूपमा बुझ्नु उचित हुँदैन ।
चिकित्सकले आफ्नो पेशाका लागि लामो समय अध्ययन र तालिम लिएका हुन्छन् । स्वास्थ्य क्षेत्रमा प्रवेश गरेपछि पनि उनीहरू नयाँ रोग, उपचार विधि र प्रविधिबारे निरन्तर अध्ययन गरिरहेका हुन्छन् । त्यसैले पर्याप्त जानकारी र तथ्यबिना चिकित्सकको उपचारलाई लापरवाहीको संज्ञा दिनु न्यायोचित हुँदैन । लापरवाही भएको आशंका भए सम्बन्धित नियमनकारी निकायमा उजुरी गरी तथ्यगत छानबिन गरिनुपर्छ ।
नागरिक र चिकित्सकबीचको विश्वास बलियो बनाउन सरकार, स्वास्थ्य संस्था, चिकित्सक, नागरिक समाज र सञ्चारमाध्यमले सहकार्य गर्न आवश्यक छ । सरकारले अस्पतालमा आवश्यक उपकरण, औषधि, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्छ । साथै स्वास्थ्यसम्बन्धी सही सूचना र चिकित्सकीय उपचारका सीमाबारे नागरिकलाई सचेत गराउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
पूर्वाधार र सेवा सुविधा विस्तारसँगै जिम्मेवार उपचार तथा सचेत नागरिकको अभ्यास विकास गर्न सके स्वास्थ्य सेवाप्रतिको अनावश्यक अविश्वास घट्नेछ । यसले नागरिक र चिकित्सकबीचको सम्बन्ध मजबुत बनाउँदै स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन सहयोग गर्नेछ ।
डा. सफ्रोज अन्सारी
कन्सल्टेन्ट न्यूरो सर्जनसेवामा विश्वास, जवाफदेहिता र कानूनी उपचार आवश्यक
नागरिकमा उपचारका क्रममा अस्पताल र चिकित्सकले अत्यधिक शुल्क लिने तथा उपचारका नाममा लुट्ने गरेको धारणा बढ्दै गएको छ । यसले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीप्रति गुनासो बढाएको छ । एउटै बिरामीले विभिन्न चिकित्सक तथा औषधि पसलमा रिपोर्ट देखाएर फरक–फरक सुझाव लिँदा उपचारप्रति अन्योल सिर्जना हुने र एक चिकित्सकको उपचारबारे अर्को चिकित्सकको फरक धारणा बन्ने अवस्था पनि देखिन्छ । अस्पतालमा बिरामीको मृत्यु भएलगत्तै त्यसलाई चिकित्सक वा अस्पतालको लापरवाहीको परिणाम मान्ने प्रवृत्ति पनि बढेको छ । तर, उपचारका क्रममा मृत्यु हुनुमात्र चिकित्सकीय लापरवाहीको प्रमाण होइन । चिकित्सकले बिरामीको अवस्था, उपलब्ध चिकित्सा विधि, ज्ञान, सीप र अनुभवका आधारमा उपचार गर्छन् । कतिपय अवस्थामा चिकित्सकीय प्रयास हुँदाहुँदै पनि रोगको जटिलताका कारण बिरामीको मृत्यु हुन सक्छ ।
चिकित्सकीय लापरवाही भए नभएको निष्पक्ष छानबिन गर्ने सम्बन्धित निकाय छन् । लापरवाही प्रमाणित भएमा नेपाल मेडिकल काउन्सिललगायत सम्बन्धित निकायबाट कानूनअनुसार कारबाही हुन सक्छ । त्यसैले तथ्य र प्रमाणबिना चिकित्सक वा अस्पताललाई दोषी ठहर गर्नु उचित हुँदैन । चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीमाथि हातपात गर्नु वा अस्पतालमा तोडफोड गर्नु कुनै समस्याको समाधान होइन । यसले स्वास्थ्यकर्मीको मनोबल घटाउनुका साथै अन्य बिरामीको उपचारमा समेत प्रतिकूल असर पार्न सक्छ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन बिरामी र चिकित्सकबीच विश्वास, सम्मान र सहकार्य आवश्यक हुन्छ । चिकित्सकले बिरामी र आफन्तलाई उपचारको अवस्था, सम्भावित जोखिम र विकल्पबारे स्पष्ट जानकारी दिनुपर्छ भने नागरिकले आफ्ना गुनासो कानूनी तथा सम्बन्धित निकायमार्फत राख्नुपर्छ । सञ्चारमाध्यमले पनि पर्याप्त तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्नुपर्छ । सनसनीपूर्ण समाचारले स्वास्थ्यकर्मीको प्रतिष्ठा र स्वास्थ्य प्रणालीप्रतिको जनविश्वासमा असर पार्न सक्छ । त्यसैले लापरवाही प्रमाणित भए कानूनी कारबाही गर्नुपर्छ, तर प्रत्येक प्रतिकूल उपचार परिणामलाई लापरवाहीका रूपमा बुझ्नु हुँदैन । तथ्यमा आधारित बहस, जिम्मेवार सञ्चार र पारस्परिक विश्वासबाट मात्र सुरक्षित तथा भरपर्दो स्वास्थ्य सेवा प्रणाली निर्माण गर्न सकिन्छ ।
डा. लक्ष्मी थापा (स्त्री तथा प्रसुति रोग विशेषज्ञ)
प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर तथ्यमा आधारित अनुसन्धान र सहकार्य आवश्यक
स्वास्थ्य सेवाप्रति आइरहेका नागरिकका गुनासोलाई दिगो रूपमा समाधान गर्न सेवाग्राही, स्वास्थ्यकर्मी, अस्पताल, सरकार, मिडिया र नागरिक समाज सबै पक्षबाट तथ्यमा आधारित अनुसन्धान र सहकार्य आवश्यक हुन्छ ।
अस्पतालमा आउने सबै बिरामी निको भएर वा जीवितै घर फर्किन्छन् भन्ने अपेक्षा यथार्थपरक हुँदैन । रोगको प्रकृति, बिरामीको स्वास्थ्य अवस्था, दीर्घरोग, खानपान, जीवनशैली, आत्मबल र परिवारको सहयोगले उपचारको परिणाममा प्रभाव पार्छ । चिकित्सक र स्वास्थ्यकर्मीले उपलब्ध ज्ञान, सीप तथा स्रोत–साधनका आधारमा आफ्नो सक्दो प्रयास गर्छन् । तर, सबै उपचार सफल हुन्छन् भन्ने ग्यारेन्टी कुनै पनि देशमा सम्भव छैन ।
कुनै बिरामीमा जटिलता देखिनासाथ चिकित्सकलाई दोषी वा अस्पताललाई लापरबाही गर्ने संस्था ठहर गर्नु उचित हुँदैन । उपचारको गुणस्तर,मा प्रयोगशाला, अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआईका रिपोर्ट, औषधिको गुणस्तर, तथा शल्यक्रियामा प्रयोग हुने सामग्रीको विश्वसनीयताले पनि प्रभाव पार्छ । उपलब्ध स्रोत–साधन र प्रविधि ठाउँअनुसार फरक हुने भएकाले नेपालका स्वास्थ्य संस्थालाई विकसित देशका मापदण्डसँग मात्र तुलना गर्नु व्यावहारिक हुँदैन ।
समस्या आएमा चिकित्सक वा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नुको सट्टा सत्यतथ्य अनुसन्धान गरी कानूनी बाटो अपनाउनुपर्छ । कानून कमजोर भए सुधार र बनेका कानून प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । मिडियाले पनि दुवै पक्षको तथ्य बुझेर समाचार सम्प्रेषण गर्नुपर्छ । मानवीय त्रुटि, उपचारको सीमा र रोगको जटिलतालाई तत्कालै लापरबाहीको संज्ञा दिँदा स्वास्थ्यकर्मीप्रति समाजमा अनावश्यक नकारात्मक धारणा बन्न सक्छ ।
सरकारले समयानुकूल स्वास्थ्य नीति, मापदण्ड, प्रविधि र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्छ । सामाजिक सञ्जालमा फैलिने गलत सूचना र भ्रामक प्रचारलाई पनि जिम्मेवार ढंगले नियमन गर्न आवश्यक छ । समाजलाई चिकित्सक चाहिन्छ भने चिकित्सकलाई पनि समाज चाहिन्छ । त्यसैले नागरिक, स्वास्थ्यकर्मी, अस्पताल, मिडिया, नागरिक समाज र सरकारले पारस्परिक सम्मान, सद्भाव, पारदर्शिता र जवाफदेहिताका साथ काम गरे मात्र स्वास्थ्य सेवाप्रतिको विश्वास कायम गर्दै गुनासोको दिगो समाधान गर्न सकिन्छ ।
अशोक दास (बाल रोग विशेषज्ञ)
आशाराम हस्पिटलचिकित्सकमाथि विश्वासको वातावरण बनाउन आवश्यक
चिकित्सकले आफ्नो हातमा आएको बिरामीलाई जानीजानी हानि पु¥याउने उद्देश्य राख्दैनन् । बिरामी आफ्नो नजिकको होस् वा विरोधीको, चिकित्सकको कर्तव्य समान रूपमा उपचार गर्नु हो । मानवताको भावनासहित बिरामीको उपचार गर्ने प्रतिबद्धता चिकित्सकीय पेशाको आधार हो । त्यसैले उपचारका क्रममा प्रतिकूल परिणाम आउँदा त्यसलाई तत्काल चिकित्सकीय लापरवाहीको निष्कर्षमा पु¥याउनु उचित हुँदैन ।
चिकित्सक पनि मानिस भएकाले गल्ती हुन सक्छ । मानिस मेसिन होइन, त्यसैले कुनै पनि पेशामा त्रुटिको सम्भावना रहन्छ । तर, गल्ती भएको अवस्थामा त्यसलाई सच्याउन र भविष्यमा दोहोरिन नदिन सुरक्षित तथा विश्वासिलो कार्य वातावरण आवश्यक हुन्छ । चिकित्सकमाथि निरन्तर, दबाब, धम्की वा हातपात हुने वातावरणमा उनीहरूले आफ्नो क्षमताअनुसार काम गर्न कठिन हुन्छ । त्यसैले बिरामी, परिवार र चिकित्सकबीच विश्वासको वातावरण निर्माण गर्नु आवश्यक छ ।
चिकित्सकीय लापरवाही भएमा कारबाही गर्ने स्थापित निकायहरू छन् । मेडिकल काउन्सिलले चिकित्सकको दक्षता र व्यावसायिक आचरणसम्बन्धी विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न सक्छ । गम्भीर अवस्थामा चिकित्सकको लाइसेन्स वा सदस्यता खारेज गर्नेदेखि औषधि लेख्ने अधिकारसमेत रोक्न सकिने व्यवस्था छ । त्यसैले चिकित्सकले गल्ती गरे कानूनी तथा संस्थागत प्रक्रियामार्फत दोषीलाई कारबाही गरिनुपर्छ ।
तर,, चिकित्सक, वकिल, प्रहरी वा अन्य कुनै पेशाकर्मीमाथि हातपात गर्नु सभ्य समाजको परिचय होइन । कानून कार्यान्वयन गर्ने निकाय र नियामक संस्थाको अस्तित्व हुँदाहुँदै भीड वा व्यक्तिले आफैं सजाय दिने प्रवृत्ति स्वीकार्य हुन सक्दैन । हिंसाविरुद्ध कडा कानूनी व्यवस्था र प्रभावकारी कार्यान्वयन आवश्यक छ ।
नेपालमा स्वास्थ्य सेवाको सुविधा सबै ठाउँमा समान छैन । काठमाडौँमा उपलब्ध सुविधा वीरगञ्ज वा अन्य स्थानमा तत्काल उपलब्ध नहुन सक्छ । त्यसैले बिरामीको अवस्था र आवश्यकताअनुसार सुविधासम्पन्न स्वास्थ्य संस्थामा समयमै पु¥याउनुपर्छ । स्वास्थ्य क्षेत्रप्रति घट्दै गएको विश्वास पुनःस्थापित गर्न चिकित्सक, स्वास्थ्य संस्था, सरकार र नागरिक सबैले आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक छ । चिकित्सकीय गल्तीलाई कानूनी प्रक्रियाबाट सम्बोधन गर्दै स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरण दिन सके मात्र गुणस्तर,ीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिन्छ ।
डा.नितिन तुल्स्यान
रामकुमार महाविर प्रसाद केडिया आँखा अस्पताल
सेवामा सुधारसँगै विश्वास र जवाफदेहिता आवश्यक
स्वास्थ्य सेवामा नागरिकका गुनासा र चिकित्सकमाथि हुने दुव्र्यवहारलाई दीर्घकालीन रूपमा समाधान गर्न स्वास्थ्य प्रणालीका विभिन्न पक्षमा एकसाथ सुधार आवश्यक छ । स्वास्थ्य सेवाको गुणस्तर, र पहुँच विस्तार गर्नुपर्छ । अस्पतालमा आवश्यक जनशक्ति, उपकरण, औषधि तथा पूर्वाधारको व्यवस्था गर्दै बिरामीले सहज, समयमै र गुणस्तर,ीय उपचार पाउने वातावरण बनाउनुपर्छ । सेवा विस्तारसँगै अस्पतालको व्यवस्थापन क्षमता पनि बलियो बनाउन आवश्यक छ ।
अस्पतालमा प्रभावकारी सञ्चार प्रणाली विकास गर्नुपर्छ । चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी र परिवारबीच उपचारको अवस्था, सम्भावित जोखिम तथा उपचारका सीमाबारे स्पष्ट र नियमित जानकारी आदानप्रदान हुनुपर्छ । गुनासो तथा गलतफहमी धेरैजसो पर्याप्त सूचना नपाउँदा उत्पन्न हुने भएकाले संवादलाई स्वास्थ्य सेवाको अभिन्न अंग बनाउनुपर्छ । अस्पतालमै व्यवस्थित गुनासो तथा विवाद समाधान संयन्त्र स्थापना गर्न आवश्यक छ । बिरामी वा परिवारलाई समस्या परे तत्काल सम्बन्धित निकायमा गुनासो राख्न र त्यसको निष्पक्ष सुनुवाइ हुने व्यवस्था हुनुपर्छ । चिकित्सकीय लापरवाही भएको भए तथ्य र प्रमाणका आधारमा छानबिन तथा कारबाही गर्ने प्रणाली प्रभावकारी बनाउनुपर्छ । यसले आक्रोशलाई हिंसामा परिणत हुनबाट रोक्न सहयोग गर्छ ।
स्वास्थ्यकर्मीको सुरक्षा र स्वास्थ्य संस्थाको संस्थागत जवाफदेहिता दुवै सुनिश्चित गर्नुपर्छ । स्वास्थ्यकर्मीमाथि कुटपिट वा दुव्र्यवहार स्वीकार्य हुनुहुँदैन भने स्वास्थ्य संस्थाले पनि आफ्नो सेवा र व्यवस्थापनका कमजोरीप्रति जिम्मेवार हुनुपर्छ । अधिकारसँगै दायित्वको स्पष्ट व्यवस्था आवश्यक छ । सरकार, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र नागरिकबीच विश्वासपूर्ण वातावरण निर्माण गर्नुपर्छ । सरकारले नीति, पूर्वाधार र आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्छ भने स्वास्थ्यकर्मीले व्यावसायिक आचरण र जिम्मेवारी पालना गर्नुपर्छ । नागरिकले पनि उपचारका सीमाबारे बुझ्दै कानूनी प्रक्रियामार्फत गुनासो समाधान गर्नुपर्छ । यी पक्षबीच सहकार्य र पारदर्शिता बढाउन सके चिकित्सक र सेवाग्राहीबीचको सम्बन्ध थप सुमधुर बन्नेछ । यसले स्वास्थ्य सेवाप्रतिको विश्वास बढाउँदै विवाद र दुव्र्यवहार न्यूनीकरण गर्न दीर्घकालीन आधार तयार गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ १५:३८