नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहलाई आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालका मुद्दा तथ्य, प्रमाण र वैज्ञानिक अध्ययनसहित प्रस्तुत गर्न सुझाव दिएका छन्।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता वा ‘ग्रान्ड शो’मा सीमित नगर्न आग्रह गरे।
उनले विदेश भ्रमणको तयारी गर्दा प्रधानमन्त्रीको सचिवालयमा मात्र निर्भर नभई विश्वविद्यालयका अनुसन्धानकर्ता, विषयगत विज्ञ तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग व्यापक परामर्श गर्नुपर्ने बताए।
विपद्का वैज्ञानिक प्रमाणसहित जलवायु वित्तमा लबिङ गर्न सुझाव
थापाले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या र क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीलगायत प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालको न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नुपर्ने बताए।
‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ,’ थापाले बैठकमा भने, ‘नेपालले हानि र नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ।’
यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय तथा नेपालको कूटनीतिक प्राथमिकताको समेत गहिरो अध्ययन गरेर तयारी गर्न उनले सुझाव दिएका छन्।
विगतमा उठाइएका ‘हिमालदेखि महासागरसम्म’ का मुद्दा तथा कोप–२८ मा अघि सारिएका जलवायु न्यायसम्बन्धी पहललाई निरन्तरता दिँदै वर्तमान सरकारले त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
देशभित्र र बाहिर रहेका दक्ष जनशक्ति तथा विज्ञहरूको सुझाव लिएर पर्याप्त तयारी गरे मात्रै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मुद्दालाई प्रभावकारी रूपमा स्थापित गर्दै ठोस उपलब्धि हासिल गर्न सक्ने थापाले बताएका छन्।