मध्य नेपाल साप्ताहिकले आफ्नो ११ औँ वार्षिकोत्सव मनाउँदै गर्दा यसले पूरा गरेको यात्रा एउटा पत्रिकाको यात्रामात्र होइन, महिलाको आवाजलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउने अभियानको यात्रा पनि हो । एघार वर्ष केवल निश्चिति समयको गणना होइन, न कि औंलामा गनिने दिन । यो त निरन्तर यात्राको प्रमाण हो । साच्चिकै भन्नुपर्दा पत्रकारिताको क्षेत्रमा एघार वर्षसम्म आफ्नो पहिचान, उद्देश्य र अभियानलाई निरन्तरता दिनु आफैँमा चुनौतीपूर्ण उपलब्धि हो । सञ्चारकर्मी महिलाहरूको सक्रियतामा सञ्चालन भएको यो पत्रिका समग्र महिलाको मात्रै नभएर समाजको उदाहरण हो ।
महिलाले नेतृत्व गरेको पत्रिका हुनु यसको एउटा विशेषता हो । तर, यसको वास्तविक विशेषता त्यसभन्दा पनि माथि छ । जहाँ महिलाका विषयहरू लुकाइन्छन्, जहाँ आवाजहरू दबाइन्छन्, बोलीहरू रोकिन्छन्, जहाँ महिलाका प्रश्नहरू प्राथमिकतामा पर्दैनन्, त्यहाँ यो पत्रिकाले विषयहरू उजागर गर्दै आएको छ ।
पत्रकारिताको मूल धर्म नै प्रश्न गर्नु हो । तर, सबै प्रश्न समान रूपमा सुनिँदैनन् । समाजमा केही विषय सहजै समाचार बन्छन्, केही विषयलाई समाचार बन्नुअघि नै दबाइन्छ । विशेषगरी महिलासँग जोडिएका कतिपय सवाल घरको चार भित्ताभित्र सीमित हुन्छन् । श्रम गर्ने महिलाको पीडा, कार्यस्थलमा हुने विभेद, नेतृत्वमा महिलाको उपस्थिति, निर्णय प्रक्रियामा महिलाको भूमिका, हिंसा, आर्थिक निर्भरता, अवसरको असमानता र आफ्नो जीवनबारे आफैं निर्णय गर्ने अधिकार यी विषयहरू अझै पनि पर्याप्त रूपमा सार्वजनिक बहसमा आउन सकेका छैनन् ।
के हो महिला नेतृत्व ?
यो प्रश्न सरल देखिए पनि यसको उत्तर निकै गहिरो छ । सुन्दा साधारण लाग्ने यी शब्द आफैं बोलेको होइन । महिला नेतृत्वमा आउँदा उनीहरूलाई केवल ‘महिला भएकै कारण’ स्थान चाहिएको होइन । उनीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने समान अवसर चाहिएको हो । निर्णय गर्ने अधिकार चाहिएको हो । आफ्नो आवाज सुन्ने नेतृत्व चाहिएको हो । र, सबैभन्दा महत्वपूर्ण कुरा महिलालाई नेतृत्वमा ल्याउनेमात्र होइन, नेतृत्वमा टिक्न र प्रभावकारी रूपमा काम गर्न सक्ने वातावरण चाहिएको हो । यो धेरै बोलिएको, सुनिएको तर नटेरिएको विषय हो । आज पनि धेरै क्षेत्रमा महिलाको संख्या बढेको देखिन्छ, तर निर्णय गर्ने तहमा पुग्दा संख्या घट्दै जान्छ । उपस्थितिमा महिला छन्, तर निर्णायक भूमिकामा कति छन् ? पदमा महिला छन्, तर निर्णयमा उनीहरूको प्रभाव कति छ ? अवसर दिइएको छ, तर समान स्रोत, अधिकार र विश्वास दिइएको छ कि छैन ? यो र यस्ता प्रश्नहरू उठाउनु आवश्यक छ । यो आवाज मध्य नेपालले उठाइरहेको छ ।
महिला नेतृत्वको बहसलाई केवल ‘महिलालाई अगाडि ल्याउनुपर्छ’ भन्ने नारामा सीमित गर्नु पर्याप्त हुँदैन । महिलाले नेतृत्वमा के चाहन्छन् ? उनीहरूले कस्तो नेतृत्व गर्न चाहन्छन् ? र समाजले उनीहरूको नेतृत्वलाई कसरी स्वीकार गर्छ ? यी प्रश्नमा बहस आवश्यक छ ।
उसो त महिलाको कुरा गरिरहँदा पुरुषको नेतृत्वलाई अस्वीकार गरेको पक्कै होइन, महिलाले नेतृत्वमा पुगेर पुरुषको प्रतिरूप बन्न चाहेका पनि होइनन् । उनीहरू न्यायपूर्ण, जवाफदेही, संवेदनशील र सहभागितामूलक नेतृत्व स्थापित गर्न चाहन्छन् । नेतृत्वमा महिलाको उपस्थिति आफैंमा उपलब्धि हो, तर त्यो उपस्थितिले नीति, व्यवहार र निर्णय प्रक्रियामा परिवर्तन ल्यायो भनेमात्र त्यसको वास्तविक अर्थ हुन्छ । लुकाइएका विषयलाई उजागर गर्ने साहस हो पत्रकारिता । पत्रकारिता केवल देखिएको कुरा लेख्नु होइन, नदेखाइएको कुरा देखाउनु पनि पत्रकारिता हो ।
महिलाका धेरै समस्या यस्तै छन् । समाजले सामान्य मानेका कतिपय व्यवहार वास्तवमा विभेद हुन सक्छन् । घरभित्र सामान्य ठानिएका कतिपय व्यवहार हिंसा हुन सक्छन् । कार्यस्थलमा ‘चल्दै आएको’ भनिएका कतिपय अभ्यास श्रम अधिकारको उल्लंघन हुन सक्छन् । नेतृत्वमा महिलाको अनुपस्थितिलाई ‘महिलाले रुचि नदेखाएको’ भनेर व्याख्या गरिन्छ, तर त्यसको पछाडि रहेको संरचनात्मक अवरोधबारे कमै प्रश्न गरिन्छ ।
प्रश्नमा कलम असहज
मध्य नेपाल साप्ताहिकको ११ वर्षलाई एउटा यस्तो पत्रकारिताको निरन्तरताका रूपमा हेर्न सकिन्छ, जसले लुकेका र लुकाइएका सवाललाई सार्वजनिक बहसमा ल्याउने प्रयास गरिरहेको छ । यस अर्थमा यो एउटा पत्रिकामात्र होइन, एउटा अभियान पनि हो । विचारमा विविधता मध्य नेपाल साप्ताहिकको अर्को विशेषता हो यसको रङिन छापा स्वरूप हो । आज डिजिटल माध्यमको तीव्र विस्तार भइरहेका बेला पनि छापा पत्रिकालाई निरन्तरता दिनु आफैँमा महत्वपूर्ण कुरा हो ।
तर, आजको पत्रकारिता छापामा मात्र सीमित छैन । हामीलाई थाहा छ, पाठकको व्यवहार परिवर्तन भएको छ । समाचार पढ्ने तरिका बदलिएको छ । त्यसैले छापासँगै डिजिटल माध्यम र युट्युबमार्फत् पनि सूचना, विचार र आवाजलाई फराकिलो समुदायसम्म पु¥याउने प्रयास समयअनुकूल कदम हो । छापा र डिजिटलबीच प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक छ । एउटा माध्यमले गहिराइ दिन सक्छ भने अर्कोले तत्काल पहुँच दिन सक्छ । पत्रकारिताको भविष्य सम्भवतः यी माध्यमहरूको संयोजनमै छ । त्यसैले मध्य नेपालले अनलाइन पोर्टल र श्रब्यदृष्यमा पनि आफूलाई सशक्त रुपमा उभ्याएको छ ।
११ वर्षपछि अबको प्रश्न एघारौं वार्षिकोत्सव मनाइरहँदा प्रश्न केवल ‘अहिलेसम्म के गरियो?’ भन्ने होइन । अबको प्रश्न हो—अब के गर्ने ? महिलाका आवाजलाई अझ बलियो बनाउने, ग्रामीण तथा श्रमिक महिलाका मुद्दालाई प्राथमिकतामा ल्याउने, निर्णय तहमा महिलाको वास्तविक सहभागिताबारे बहस गर्ने, नयाँ पुस्ताका महिलालाई पत्रकारितामा जोड्ने र डिजिटल पुस्तासम्म विश्वसनीय सूचना पु¥याउने काम अझ विस्तार गर्न सकिन्छ । पत्रिकाले महिलाका बारेमा मात्र लेख्ने होइन, महिलालाई आफैँ बोल्ने ठाउँ पनि दिनुपर्छ, मध्य नेपाल पडकाष्टमार्फत यो काम गरेको छ । किनभने महिलाका बारेमा पुरुषले लेख्नु र महिलाले आफ्नो अनुभव, संघर्ष र दृष्टिकोण आफैँ अभिव्यक्त गर्नुबीच ठूलो अन्तर हुन्छ । आजको महिला केवल पीडितको रूपमा देखिन चाहँदैनन् । आफ्नो क्षमता, संघर्ष, उपलब्धि र नेतृत्वको कथासहित सार्वजनिक जीवनमा उपस्थित हुन चाहन्छन् । त्यसैले अबको पत्रकारिताले महिलालाई ‘समस्याको पात्र’मात्र होइन, समाधानको नेतृत्वकर्ताका रूपमा पनि प्रस्तुत गर्नुपर्छ । मध्य नेपाल साप्ताहिकको ११औं वार्षिकोत्सव एउटा उत्सव हो । तर, यो उत्सवसँगै एउटा जिम्मेवारी पनि जोडिएको छ–कलमलाई अझ निर्भीक बनाउने, आवाजविहीनका आवाजलाई अझ बलियो बनाउने र समाजले बेवास्ता गरेका प्रश्नलाई निरन्तर उठाइरहने ।