सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै त्यसको दुरुपयोगमार्फत महिला, बालबालिका तथा किशोरीलाई विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन तथा ओसारपसार गर्ने जोखिम बढ्दै गएको छ । अपराधीहरूले परम्परागत रूपमा विवाह वा रोजगारीको बहाना बनाउने शैली परिवर्तन गरी सामाजिक सञ्जालमार्फत प्रेमसम्बन्ध, आकर्षक रोजगारी, विदेश भ्रमण, छात्रवृत्ति, आर्थिक सहयोग तथा छोटो समयमा धेरै आम्दानी हुने प्रलोभन देखाएर पीडितलाई जालमा पार्ने गरेका छन् ।
हरेक वर्ष भदौ २० गते मनाइयो मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको यस वर्षको मूल नारा ‘प्रविधिको सही प्रयोग र सजगता स् मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ रहेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन माध्यमबाट हुने बेचबिखनका घटना नियन्त्रण गर्न प्रयोगकर्तालाई सचेत बनाउने विषयलाई यस वर्ष विशेष प्राथमिकता दिइएको छ ।
नेपालमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस २०६४ सालदेखि मनाउन थालिएको हो । सन् २००२ मा काठमाडौँमा सम्पन्न ११ औँ सार्क शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२’ लाई तत्कालीन व्यवस्थापिका संसद्ले २०६३ भदौ २० गते अनुमोदन गरेको दिनको स्मरणमा यो दिवस मनाइँदै आएको छ ।
यस वर्ष भने राष्ट्रिय शोक वा अन्य विशेष परिस्थितिजन्य कारणले २० औँ राष्ट्रिय दिवससम्बन्धी औपचारिक मूल समारोहका कार्यक्रम स्थगन गरिएका छन् । पर्सामा भने सामाजिक सञ्जालको दुरुपयोगमार्फत हुन सक्ने मानव बेचबिखन नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय तह, संघसंस्था र समुदायबीच सहकार्य बढाइएको छ । सम्भावित जोखिम पहिचान, सूचना आदानप्रदान, सीमाक्षेत्रमा निगरानी तथा जोखिममा रहेका महिला र बालबालिकालाई सचेत गराउने कामलाई प्राथमिकता दिइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सामाजिक सञ्जालमा झुटा आश्वासन, रोजगारी तथा अन्य प्रलोभन देखाएर मानव बेचबिखन गर्ने प्रवृत्ति गम्भीर बन्दै गएको छ । त्यसलाई नियन्त्रण गर्न सीमाक्षेत्रमा निगरानी, सतर्कता र सावधानी थप कडा बनाइएको उनले बताए ।
ुस्थानीय प्रहरी, बेचबिखन नियन्त्रण तथा उद्धारमा संलग्न संघसंस्था र समुदायबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउँदै सम्भावित जोखिम पहिचान, सूचना आदानप्रदान र रोकथामका गतिविधि सञ्चालन भइरहेका छन्,ु दाहालले भने ।
नेपालमा मानव बेचबिखन नियन्त्रणका लागि मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ तथा नियमावली, २०६४ लागू छन् । तर कानुनको प्रभावकारी कार्यान्वयन, पीडितको संरक्षण तथा पुनःस्थापना र जोखिम न्यूनीकरणका प्रयासमा अझै चुनौती कायमै रहेको सरोकारवालाको भनाइ छ ।
पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले मानव बेचबिखनमा संलग्न अपराधीको प्रवृत्ति र शैली परिवर्तन भएको बताएका छन् । उनका अनुसार पहिले विवाह र रोजगारीको बहानामा हुने बेचबिखन अहिले सामाजिक सञ्जालमार्फत रोजगारी, भ्रमणलगायतका प्रलोभन देखाएर हुने गरेको पाइएको छ ।
ुकेवल चेतनामूलक, दण्डात्मक र निषेधात्मक प्रयासबाट अपेक्षित सफलता हासिल हुन सकेको छैन । त्यसैले समुदाय, विद्यालय, संघसंस्था र सञ्चारक्षेत्रसँग सहकार्य गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ,ु भट्टराईले भने,ुसीमाक्षेत्रका नाकामा सूक्ष्म निगरानी बढाउनुका साथै पीडितको परिवारसँग पुनर्मिलन र सीमापारका निकायसँग समन्वय गरी उद्धार तथा नियन्त्रणका कामसमेत भइरहेका छन् ।ु
मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा काम गरिरहेका संस्थाहरूले पनि बालबालिका र किशोरीलाई लक्षित गरी सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । मानव बेचबिखनको जोखिम न्यूनीकरणका लागि गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता तथा सामाजिक विभेदजस्ता आधारभूत समस्याको सम्बोधनसँगै डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे जनचेतना बढाउनुपर्ने आवश्यकता देखिएको छ । विशेषगरी बालबालिका तथा किशोरीलाई अनलाइन प्रलोभन पहिचान गर्न सक्षम बनाउने, अभिभावकलाई डिजिटल जोखिमबारे जानकारी दिने र शंकास्पद गतिविधिको तत्काल सूचना दिने संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
आफन्त नेपाल शाखा कार्यालय पर्साकी संयोजक मनु रानाले परिवार, विद्यालय, समुदाय, गैरसरकारी संस्था, स्थानीय सरकार र सामाजिक सञ्जाल कम्पनीबीच सहकार्य आवश्यक रहेको बताइन् । उनका अनुसार अपराधीहरूले नक्कली प्रेमसम्बन्ध, आकर्षक रोजगारी, विदेश भ्रमण, छात्रवृत्ति तथा आर्थिक सहयोगको प्रलोभन देखाएर बालबालिका तथा किशोरीलाई जोखिममा पार्ने गरेका छन् । ुअनलाइन जोखिमबारे नियमित जानकारी दिने, अपरिचितसँग व्यक्तिगत सूचना, फोटो तथा भिडियो शेयर नगर्न सिकाउने र अभिभावकले विश्वासका साथ संवाद गर्ने वातावरण बनाउनुपर्छ,ु उनले विद्यालयमा साइबर सुरक्षा, मानव बेचबिखन र सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी सचेतना कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताइन् ।
मानव बेचबिखन रोकथामका लागि राज्यका निकाय मात्र नभई परिवार, विद्यालय, स्थानीय तह, सुरक्षा निकाय, संघसंस्था, सञ्चार क्षेत्र र आम नागरिकबीच निरन्तर सहकार्य आवश्यक छ । प्रविधिको सही प्रयोगसँगै सजगता बढाउन सके सामाजिक सञ्जाललाई मानव बेचबिखनको माध्यम बन्नबाट रोक्दै सुरक्षित र मानव बेचबिखनरहित समाज निर्माणमा योगदान पुग्ने सरोकारका पक्षको धारणा छ ।
माइती नेपाल वीरगञ्जकी सुपरभाइजर गोमाकुमारी पौडेलले सामाजिक सञ्जालमार्फत बालबालिका तथा किशोरीलाई प्रेमजाल, विवाह, रोजगारी, छोटो समयमा धेरै आम्दानी र वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लैजाने घटना बढिरहेको बताइन् । ुफेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा अपरिचित व्यक्तिमाथि सहजै विश्वास नगर्न र व्यक्तिगत विवरण नदिन बालबालिकालाई सिकाउन आवश्यक छ,ु पौडेलले भनिन् । अभिभावकले बालबालिकासँग विश्वासमा आधारित संवाद गर्दै उनीहरूको अनलाइन गतिविधिबारे संवेदनशील निगरानी राख्नुपर्नेमा उनको जोड छ ।
बालबालिकालाई आकर्षक जागिर, धेरै पैसा, मोडलिङ, विदेश पठाइदिने वा उपहार दिने जस्ता झुटा प्रलोभन पहिचान गर्न सिकाउनुपर्ने र शंकास्पद गतिविधिबारे तत्काल सम्बन्धित निकायलाई जानकारी दिन प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।
विद्यासदन माध्यमिक विद्यालय वीरगञ्जका प्राचार्य लालबहादुर गुरुङले सामाजिक सञ्जालमार्फत हुने बेचबिखन रोक्न ज्ञान र सचेतना नै महत्वपूर्ण आधार भएको बताएका छन् । बालबालिकालाई सही र गलत छुट्याउन, प्रलोभनको उद्देश्य बुझ्न तथा निर्णयको सम्भावित परिणामबारे सोच्न सिकाउन आवश्यक भएको उनले सुझाए । ुपढाइसँगै बालबालिकालाई व्यवहारिक ज्ञान, डिजिटल तथा कानूनी सचेतना र निर्णय क्षमता विकास गराउन आवश्यक छ,ु गुरुङले भने ।