नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिबार साँझ ‘वान टु वान’ भेटवार्ता भएको छ।
दुवै पक्षले भेटवार्ताको पुष्टि गरेका छन्। भेटमा खड्काले अघि सारेका माग सम्बोधन गर्न सभापति थापा सकारात्मक देखिएको स्रोतको भनाइ छ। यससँगै पार्टीभित्र सहमति जुट्ने सम्भावना बढेको नेताहरूले बताएका छन्।
खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका तथा नयाँ क्रियाशील सदस्यता लिएका सदस्यलाई अद्यावधिक नभएको कारण देखाएर महाधिवेशनबाट वञ्चित गर्न नहुने अडान राख्दै आएका छन्। त्यस्तै, १४औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यहरूलाई पनि विशेष महाधिवेशनमा समेटिनुपर्ने उनको माग छ।
यस विषयमा सभापति थापा सकारात्मक रहेको स्रोतहरूले बताएका छन्।
यसैबीच, सभापति थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार बिहान ११ बजे भेटवार्ता हुने भएको छ। भेटमा कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि अघि सारेका विभिन्न प्रस्तावबारे छलफल हुने बताइएको छ।
डा. कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताका आधारमा महाधिवेशन गर्ने र १४औँ महाधिवेशन तथा विशेष महाधिवेशनका केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै बनाउने प्रस्ताव राखेका छन्।
त्यस्तै, कार्यसम्पादन समितिमा सभापतिको बहुमत हुने व्यवस्था गर्ने तथा निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायतका समितिहरू आपसी सहमतिबाट गठन गर्ने प्रस्ताव पनि कोइरालाले अघि सारेका छन्। यी प्रस्तावमा खड्काको समेत सहमति रहेको नेताहरूले बताएका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापा पार्टीभित्रको विवाद समाधानका लागि विभिन्न नेतासँग निरन्तर छलफलमा रहेको बताए। उनका अनुसार भेटवार्ताका क्रममा भएका छलफल र सहमतिको अवस्थाबारे आइतबार दिउँसो १ बजे बस्ने कार्यसम्पादन समिति बैठकमा सभापतिले जानकारी गराउनेछन्।
प्रवक्ता चालिसेले सहमतिको सम्भावना प्रबल रहेको पनि बताए।
पार्टीभित्र सहमति जुटेमा भदौ २४ गतेका लागि तय गरिएको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन केही समय पर सर्न सक्ने सम्भावना पनि देखिएको छ। यसबारे आवश्यक निर्णय कार्यसम्पादन समिति बैठकबाट हुन सक्ने संकेत कांग्रेसले गरेको छ।