कलैया उपमहानगरपालिका–१ कट्टीपर्साकी दुई वर्षीया बालिका विन्दी मण्डल १२ घण्टापछि सकुशल फेला परेकी छन्।
स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ करिब ५ः३० बजे घरअगाडि खेलिरहेको अवस्थामा अचानक बेपत्ता भएकी थिइन्। बालिका हराएपछि उनका हजुरबुबाले तत्काल प्रहरीलाई खबर गरेका थिए।
बालिकाको खोजीका क्रममा स्थानीयवासीले आइतबार बिहान करिब ५ बजे कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुरमा उनलाई फेला पारेका हुन्। सडक किनारमा रोइरहेको अवस्थामा बालिकालाई स्थानीय महिला सल्मा नेशाले देखेपछि प्रहरीलाई जानकारी गराएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेका अनुसार बालिका आफ्नो घरबाट करिब एक किलोमिटर उत्तरतर्फ सकुशल फेला परेकी हुन्।
बालिका हराएको जानकारी पाएलगत्तै प्रहरी, परिवार तथा स्थानीयवासीले रातभर खोजी अभियान सञ्चालन गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमान्डमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले सम्भावित स्थानमा खोजी गरेको थियो।
डीएसपी घलेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको समेत सहयोगमा बालिका पुग्न सक्ने सम्भावित स्थानमा रातभर खोजी अभियान सञ्चालन गरिएको थियो।
उद्धारपछि बालिकालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। स्वास्थ्य परीक्षणपछि उनको अवस्था सामान्य रहेको पाइएपछि प्रहरीले उनलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको जनाएको छ।
बालिका कसरी घरबाट करिब एक किलोमिटर टाढा पुगिन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।