अमेरिकाको न्यु मेक्सिको राज्यको अदालतले सामाजिक सञ्जाल कम्पनी मेटालाई बालबालिकाको सुरक्षासम्बन्धी जोखिमबारे पर्याप्त चेतावनी नदिएको ठहर गर्दै थप ५६ करोड ७० लाख अमेरिकी डलर (करिब ४२ करोड १० लाख पाउन्ड) जरिवाना तिर्न आदेश दिएको छ।
न्यु मेक्सिकोका न्यायाधीश ब्रायन बिड्सचाइड ले मेटालाई ‘सार्वजनिक उपद्रव’ को संज्ञा दिँदै यसको प्रभावलाई वायु प्रदूषण फैलाउने कारखानासँग तुलना गरेका छन्। उनका अनुसार मेटाका सामाजिक सञ्जाल माध्यमहरूले बालबालिकामा मानसिक क्षति तथा यौन शोषणको जोखिम बढाएको छ।
यो निर्णय यसअघि सोही मुद्दामा लगाइएको ३७ करोड ५० लाख अमेरिकी डलर जरिवानाभन्दा अतिरिक्त हो। यससँगै मेटाले उक्त मुद्दामा तिर्नुपर्ने कुल जरिवाना ९४ करोड २० लाख अमेरिकी डलर पुगेको छ।
मेटाले भने अदालतको निर्णयप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने जनाएको छ। कम्पनीले आफूअन्तर्गत सञ्चालित इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप र थ्रेड्समा प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न निरन्तर प्रयास गरिरहेको दाबी गरेको छ।
यो मुद्दा सन् २०२३ मा न्यु मेक्सिको राज्यले दायर गरेको थियो। मुद्दामा मेटाको सिफारिस प्रणाली (एल्गोरिदम) ले बालबालिकालाई हानिकारक सामग्री तथा यौन शोषणमा संलग्न व्यक्तिसम्म पुग्न सहज बनाएको आरोप लगाइएको थियो।
मुद्दाको पहिलो चरणमा अदालतले मेटाले न्यु मेक्सिकोको अनुचित व्यापार अभ्यास ऐन पटक–पटक उल्लङ्घन गरेको ठहर गरेको थियो। दोस्रो चरणको सुनुवाइमा अदालतले कम्पनीका गतिविधिले सार्वजनिक उपद्रव को स्तर पुगेको निष्कर्ष निकालेको हो।
न्यायाधीश ब्रायन बिड्सचाइडले मेटालाई भविष्यमा हुने क्षति न्यूनीकरणका लागि विशेष कोष स्थापना गर्न पनि आदेश दिएका छन्। यस कोषमार्फत बालबालिकामा सामाजिक सञ्जालका कारण परेको मानसिक तथा व्यवहारिक असरको उपचारका लागि करिब ४२ करोड अमेरिकी डलर खर्च गरिनेछ। साथै शिक्षक, स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायलाई सामाजिक सञ्जालबाट हुने जोखिमबारे तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
अदालतले मेटालाई बालबालिकाको सुरक्षाका लागि थप कडा व्यवस्था लागू गर्न पनि निर्देशन दिएको छ। आदेशअनुसार १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको खाता कुनै वयस्क प्रयोगकर्तालाई सिफारिस गर्न पाइने छैन। साथै कुनै वयस्कले नाबालिगलाई प्रत्यक्ष सन्देश पठाउन नपाउने व्यवस्था गर्नुपर्नेछ। नाबालिगबीच नग्न तस्बिर वा भिडियो आदान–प्रदान पूर्ण रूपमा रोक्न र बाल यौन शोषणमा संलग्न हुने वयस्क प्रयोगकर्तामाथि पहिलो पटकमै कडा कारबाही गर्नुपर्ने आदेश पनि अदालतले दिएको छ।
त्यसैगरी अदालतले १८ वर्षमुनिका प्रयोगकर्ताका लागि पोस्टमा देखिने ‘मन पराइएको संख्या (लाइक)’ हटाउने, राति १० बजेदेखि बिहान ७ बजेसम्म तथा विद्यालय सञ्चालन हुने समयमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म (साप्ताहिक बिदाबाहेक) सूचना सन्देश (पुस सूचना) नपठाउने व्यवस्था गर्न आदेश दिएको छ। साथै इन्स्टाग्राम र फेसबुकमा उनीहरूको मासिक प्रयोग समय ९० घण्टाभन्दा बढी हुन नदिने व्यवस्था पनि गर्नुपर्नेछ।
मेटाविरुद्ध अमेरिकाका विभिन्न राज्यमा बालबालिकाको गोपनीयता तथा सुरक्षासम्बन्धी यस्तै प्रकृतिका हजारौँ मुद्दा विचाराधीन छन्। आगामी साता क्यालिफोर्नियामा पनि मेटाविरुद्ध बालबालिकाको गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा अर्को महत्वपूर्ण मुद्दाको सुनुवाइ सुरु हुने तय भएको छ।