देशभर धान रोपाइँ ८५.७२ प्रतिशत सम्पन्न भइसक्दा प्रमुख अन्न उत्पादन क्षेत्र मानिने मधेस प्रदेशमा अझै सबैभन्दा धेरै क्षेत्रफलमा धान रोप्न बाँकी रहेको तथ्यांक सार्वजनिक भएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि विभागका अनुसार साउन ७ गतेसम्म मधेस प्रदेशमा धानखेती हुने कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमध्ये ३ लाख ५ सय ८० हेक्टर (७७.८८ प्रतिशत) मा मात्रै रोपाइँ सम्पन्न भएको छ। यसअनुसार प्रदेशमा २२.१२ प्रतिशत अर्थात् ८५ हजार ३ सय ५२ हेक्टर खेतमा अझै धान रोप्न बाँकी छ, जुन देशभरकै सबैभन्दा बढी हो।
देशभर भने कुल १३ लाख ७० हजार ६२ हेक्टर धानखेती हुने क्षेत्रफलमध्ये ११ लाख ७४ हजार ३ सय ९२ हेक्टर (८५.७२ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको छ। अझै १ लाख ९५ हजार ६ सय ६९ हेक्टर (१४.२८ प्रतिशत) क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको विभागको तथ्यांकले देखाएको छ।
मधेसपछि गण्डकी प्रदेशमा १९.२८ प्रतिशत क्षेत्रफलमा रोपाइँ बाँकी छ भने कोशीमा १३.०३ प्रतिशत, बागमतीमा १२.९१ प्रतिशत, कर्णालीमा ११.७८ प्रतिशत र लुम्बिनीमा ११.०१ प्रतिशत खेतमा अझै रोपाइँ हुन सकेको छैन।
सबैभन्दा बढी प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ, जहाँ ९७.९३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ।
यद्यपि, गत वर्षको तुलनामा यस वर्ष देशभरको धान रोपाइँमा सुधार देखिएको छ। गत वर्ष साउन ११ गतेसम्म ७८.८४ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष सोही अवधिमा ८५.७२ प्रतिशत पुगेको कृषि विभागले जनाएको छ।