नेपाली कांग्रेस बाराको पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ। तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय परिसरमै विवाद चर्किँदा धकेलाधकेल र ढुंगामुढासमेत भएको हो।
पार्टीको केन्द्रीय अनुशासन विभागले तत्कालीन सभापति यादवलाई कारबाही गरेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो। सोही जिम्मेवारीअनुसार बीपी कोइरालाको स्मृति दिवसको तयारीस्वरूप साउन ६ गते हुने कार्यक्रमअघि पार्टी कार्यालय सरसफाइ गर्न भट्ट पक्षका कार्यकर्ता कार्यालय पुगेपछि विवाद सुरु भएको बताइएको छ।
कार्यवाहक सभापति भट्टले पार्टीको निर्णय र केन्द्रीय नेतृत्वको निर्देशनअनुसार आफूले जिम्मेवारी सम्हालेको दाबी गर्दै कार्यालयको कागजात तथा भवन हस्तान्तरण गर्न पुगेको बताए।
उनका अनुसार कार्यालयको जिम्मेवारी बुझाउन आग्रह गर्दा तत्कालीन सभापति यादव पक्षले अस्वीकार गरेपछि विवाद उत्पन्न भएको हो।
उता, तत्कालीन जिल्ला सभापति राजेश राय यादवले यस विषयमा तत्काल प्रतिक्रिया दिन अस्वीकार गर्दै आफू छलफलमा रहेको र पछि धारणा सार्वजनिक गर्ने बताए।
कार्यालय प्रवेशलाई लिएर सुरु भएको विवाद केहीबेरमै धकेलाधकेल र ढुंगामुढामा परिणत भएको थियो। घटनामा केही कार्यकर्ता सामान्य घाइते भएका छन्।
प्रत्यक्षदर्शीहरूले तनावपूर्ण अवस्था हुँदासमेत स्थानीय प्रशासन प्रभावकारी रूपमा हस्तक्षेप नगरेको आरोप लगाएका छन्।
हाल विवाद समाधानका लागि पार्टी कार्यालयमै दुवै पक्षबीच छलफल जारी रहेको जनाइएको छ।