अघिल्लो कारोबार दिन ३० अंकले घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.११ अंकले बढेर २,५७६.०२ विन्दुमा पुगेको हो।
कारोबारका क्रममा दिउँसो १२:१० बजे नेप्से २,५४७ अंकसम्म झरे पनि त्यसपछि बजार सम्हालिँदै अन्ततः हरियो अंकमा बन्द भएको हो। अघिल्लो दिन नेप्से २,५७० अंकमा झरेको थियो, जुन गत मंसिर ४ यताकै न्यून स्तर थियो।
मंगलबार कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। यो वैशाख ३ यताकै उच्च कारोबार रकम हो। त्यस दिन ९ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज १६४ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत सूचकतर्फ अधिकांश क्षेत्र हरियो रहे। व्यापार समूह सबैभन्दा धेरै १.४७ प्रतिशतले बढ्यो। बैंकिङ ०.०९, विकास बैंक ०.२९, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.०८, जलविद्युत् ०.२७, लगानी ०.५४, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ०.२० तथा अन्य समूह ०.१५ प्रतिशतले उकालो लागे। उत्पादन तथा प्रशोधन समूह भने ०.१८ प्रतिशतले घट्यो।
व्यक्तिगत कम्पनीतर्फ उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.१९ प्रतिशत र भगवती हाइड्रोपावरको ५.७७ प्रतिशतले बढ्यो। यस्तै, विभिन्न बैंकका दीर्घकालीन ऋणपत्र (डिबेन्चर) हरू मूल्य वृद्धिमा अग्रस्थानमा रहे।
यता, सामुदायिक लघुवित्तको सेयर मूल्य ८.१० प्रतिशतले घट्दा स्वाबलम्बन लघुवित्त ४.४७ प्रतिशत र सुपर खुदी हाइड्रोपावर ३.६५ प्रतिशतले ओरालो लागे।
कारोबार रकमका आधारमा कुमारी बैंक डिबेन्चर–९०, एनआईएमबी डिबेन्चर–९०, एसबीआई डिबेन्चर–९०, एभरेस्ट बैंक डिबेन्चर–९१ तथा कृषि विकास बैंक डिबेन्चर–८३ सबैभन्दा बढी कारोबार हुने धितोपत्रमा परेका छन्।