चालु आर्थिक वर्ष सकिन अन्तिम साता मात्रै बाँकी रहँदा सरकारले बजेट खर्चको गति तीव्र बनाएको छ। आर्थिक वर्षको अन्त्य नजिकिएसँगै बुधबार मात्रै सरकारले १७ अर्ब ९ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधबारसम्म कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् मंगलबारसम्म यो रकम १५ खर्ब १४ अर्ब ८७ करोड रुपैयाँ थियो। यसरी एकै दिनमा उल्लेख्य रकम भुक्तानी भएको देखिएको छ।
कानुनी व्यवस्थाअनुसार सरकारले आजभित्र भुक्तानीका लागि सबै चेक जारी गरिसक्नुपर्ने भएकाले अन्तिम समयमा भुक्तानीको चाप अत्यधिक बढेको हो। यही कारण सरकारी भुक्तानी प्रणालीमा समेत जाम (लोड) हुने समस्या देखिएको छ।
विशेषगरी स्थानीय तहले प्रयोग गर्ने सूत्र प्रणाली देशभर प्रभावित भएको छ। आर्थिक वर्षको अन्तिम दिनहरूमा ठूलो संख्यामा भुक्तानी प्रक्रिया एकैपटक सञ्चालन हुने भएकाले यस्तो समस्या हरेक वर्ष दोहोरिने गरेको छ।
यद्यपि खर्चको गति बढे पनि पूँजीगत बजेट कार्यान्वयन भने अपेक्षाअनुसार हुन सकेको छैन। बुधबारसम्म सरकारले १ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ मात्र पूँजीगत खर्च गरेको छ, जुन वार्षिक लक्ष्यको करिब ४० प्रतिशत मात्रै हो। सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो।
चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट कार्यान्वयनमा रहेको छ।
राजस्व संकलनतर्फ पनि सरकार लक्ष्यभन्दा पछाडि नै देखिएको छ। १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा बुधबारसम्म ११ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ७८.१५ प्रतिशत हो। आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी रहँदा राजस्व र पूँजीगत खर्च दुवैमा लक्ष्य पूरा गर्न सरकारलाई चुनौती देखिएको छ।