नेपाली घरपरिवारले पर्यटन सम्बन्धी गतिविधिमा वार्षिक कुल ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ ले यस्तो देखाएको छ ।
नेपालमा आन्तरिक पर्यटनको अवस्था, खर्चको ढाँचा र अर्थतन्त्रमा यस क्षेत्रको योगदान मापन गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय स्तरमा यो विस्तृत सर्वेक्षण गरिएको हो ।
पर्यटन स्याटलाइट लेखाको अन्तर्राष्ट्रिय अवधारणामा आधारित यस सर्वेक्षणले आन्तरिक तथा बाह्य आउटबाउन्ड पर्यटनका विविध पक्षहरूलाई समेटेको छ ।
सर्वेक्षणकाअनुसार नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ५२.४ प्रतिशत करिब ३६ लाख २१ हजार घरपरिवारले सन्दर्भ अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएका छन् ।
पर्यटक घरपरिवारको औसत सदस्य संख्या ३.९४ रहेको तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा। कमलप्रसाद पोखरेलले बताए । जसमा पर्यटनमा ग्रामीण क्षेत्रको हिस्सा सहरी क्षेत्रको तुलनामा बढी देखिएको पनि उनले बताए ।
उनले यो रिपोर्टले प्रदेश सरकारलाई समेत पर्यटन नीति निर्माण गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । शोधकर्ताहरूका लागि पनि यो तथ्यांक महत्त्वपूर्ण हुने उनले बताए ।
यसमध्ये आन्तरिक पर्यटनमा ३ खर्ब ५५ अर्ब ४२ करोड रुपैयाँ र बाह्य पर्यटनमा ६३ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ । खर्चको शिर्षकअनुसार किनमेलमा सबैभन्दा बढी २६ प्रतिशत खर्च हुने गरेको छ भने स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा प्रतिभ्रमण खर्चको हिस्सा अन्यको तुलनामा उच्च ३१.७८ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा आन्तरिक पर्यटनले अर्थतन्त्रमा २.६५ प्रतिशत योगदान पुर्याएको अनुमान गरिएको उनले बताए । यस्तै, आन्तरिक पर्यटनबाट सिर्जित कुल वस्तु तथा सेवाको उत्पादन ३ खर्ब ८१ अर्ब ८४ करोड रुपैयाँ बराबरको रहेको र यसले कुल १ खर्ब ४४ अर्ब ४९ करोड बराबरको मूल्य अभिवृद्धि गरेको सर्वेक्षणले देखाएको पोख्रेलले बताए ।
आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ ले नेपालको अर्थतन्त्रमा आन्तरिक पर्यटन एक बलियो आधारस्तम्भका रूपमा उदाएको पुष्टि गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार यस सर्वेक्षणको नतिजाले आगामी दिनमा पर्यटन नीति निर्माण, पूर्वाधार विकास र क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ठोस आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।
२०८१ को असोजदेखि २०८२ को भदौसम्म नेपाली बासिन्दाले कुल २ लाख ९३ हजार सोही दिन फर्किने तथा ६ लाख २० हजार रात बिताउने बाह्य भ्रमण गरेका छन् ।