डा. नितेश कुमार कर्ण जेनरल एण्ड ल्याप्रोस्कोपी सर्जन हुन् । टिचिङ्ग हस्पिटल महाराजगञ्जबाट एमबीबीएस र चितवन मेडिकल कलेज भरतपुरबाट एमएस गरेका उनी विगत ६ वर्षदेखि चिकित्सक सेवामा लागेका छन् । अहिले वीरगञ्जको नारायणी सेन्ट्रल हस्पिटलमा सेवारत डा. कर्णसँग गरिएको कुराकानी ः
सर्जनले काम गर्ने क्षेत्र कुन हो ?
सर्जन भन्नाले चिरफार गर्ने डक्टर भन्ने समाजले बुझ्ने गरेको छ । सर्जन सिधा चिरफार गर्ने डाक्टर होइन । शरीरमा भएको रोगहरूलाई औषधीले निको नभएपछि शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ । एपेन्डिक्सका कतिपय बिरामीलाई औषधीले पनि निको हुन्छ । औषधीले नछोएको एपेन्डिक्सको बिरामीलाई अप्रेशन गरेर निकाल्नुपर्ने हुन्छ । शल्यक्रिया गर्ने सर्जन हुन्छ । सर्जन भनेको औषधी र अप्रेशन गर्ने मानिस हो । सर्जिकल क्षेत्रमा सिधै चिरफार नगरी बिरामीको अवस्थालाई हेरेर शल्यक्रियाले हुने हो वा होइन निक्र्योल गरेर मात्र अप्रेशन गरिन्छ ।
कस्ता समस्या भएका बिरामीहरू बढी आउने गर्छन् ?
सर्जनकहाँ उपचार गर्न आउने बिरामीहरूमा सबैभन्दा बढी पेट दुखेर आउने गरेका हुन्छन् । पेट दुखाइको धेरैजसो सर्जिकल कारणहरू हुन्छ । सर्जिकल कारण भनेको पेट दुखाइलाई बढाउने कारणहरू हुन् । पित्तथैलीमा पत्थरी भएमा, ग्याष्टिक भएर अल्सर भएमा, एपेन्डिक्स सुन्निएर आन्द्रामा प्वाल परेमा पनि पेट दुख्ने हुन्छ ।
पेट दुखाइको कस्तो अवस्थामा उपचारको लागि जानु पर्छ ?
कतिपय अवस्थामा औषधीले ठिक नभएर आकस्मिक शल्यक्रिया गर्नुपर्ने हुन्छ । समाजमा तुरुन्तै अस्पताल जानुपर्ने हो वा होइन भन्ने अपूरो ज्ञान छ । बेस्सरी पेट दुखेको छ, ज्वरो आइरहेको छ र वान्ता भइरहेको छ भने अस्पताल जानुपर्छ । ग्याष्ट्रिक भएर पेट दुख्यो भनेर ग्याष्ट्रिकको औषधी खाएर बसेका हुन्छन् । कहिलेकाहीँ ग्याष्ट्रिकको दुखाई नभएर अल्सरको दुखाई पनि हुन सक्छ । ग्याष्ट्रिक बल्झिँदै गर्दाखेरि आन्द्रामा घाउ बन्दै जान्छ । त्यो घाउलाई नै अल्सर भनिन्छ । इमरजेन्सी हुने पेट दुखाई दुखेको औषधी खाँदा नर्मल अवस्थामा आउँदैन । इन्जेक्सन लगाएर कम हुन्छ वा अस्पतालमा आएमात्र कम हुन्छ । सामान्य पेट दुखाई छ भने औषधी खाएर कम हुन्छ । एपेन्डिसाइटिस् भयो, एपेन्डिक्स फुटेमा, आन्द्रामा भएको अल्सर फुटेमा पनि पेट दुखाई कम हुँदैन । प्राक्रिटाइटिस् सुन्निदा पनि पेट दुखाई असैह्य हुन्छ । यस्तो अवस्थामा अस्पतालमा आएर उपचार गर्नुपर्ने हुन्छ ।
अल्सर कसरी हुन्छ ?
नेपालको सन्दर्भमा ९० प्रतिशत मानिसहरूलाई ग्याष्ट्रिक हुने समस्या हुन्छ । हेलिकोव्याक्टो पाइलोरी भन्ने किटाणु हुन्छ । त्यो किटाणु पेटमा गएर बस्छ । किटाणुले बिस्तारै आन्द्राको भागमा घाउ बनाउँदैै, ग्याष्ट्रिक बनाउँदै अल्सर बनाउँछ । धेरै रक्सी खाने, चुरोट खाने मानिसहरूमा
यो समस्या बढी हुन्छ । खानपानमा धेरै चिल्लोपिलो खाने, माछामासुको सेवन धेरै गर्ने र स्न्याक्स् फुडहरू खाने मानिसहरूलाई यो समस्या हुन सक्छ । समस्या लामो समय भइरहँदा अल्सर फुट्न सक्छ । अल्सर फुटेको भागबाट सबै कुरा बाहिर निक्लेर शरीरभरि संक्रमण फैलिन सक्छ ।
अल्सरको उपचार कसरी गर्न सकिन्छ ?
अल्सरको डाइगनोसिस् इन्डोस्कोपीबाट गरिन्छ । इन्डोस्कोपीबाट अल्सरको समयमा डाइगनोस् भएमा औषधी खाएपछि बिस्तारै निको हँुदै जाने हो । अल्सर भएको यति समयमा फुट्छ भन्ने कुनै यकिन हुँदैन । क्रोनिक अल्सर भइरहेको मानिस छ, कुनैबेला खानपान बिग्रेमा अल्सर फुट्न सक्छ ।
अल्सरको शुरू अवस्थामा कस्तो लक्षण देखिन्छ ?
अल्सर भएको शुरूको पटकपटक पेटको बीचको भागमा दुख्ने, मुखमा अमिलो पानी आइरहने, खाना खाँदा पनि दुख्न थाल्ने, कब्जियत भइरहने र कालो दिसा जाने लक्षण हुन्छ । यो अवस्थामा जाँच गरेर अल्सर भएको पत्ता लागेमा अल्सर फुट्नबाट जोगाउन सकिन्छ । अत्यधिक पेन किलर खानाले पनि हुन्छ । भने अल्सर फुटाउन पनि पेन किलरले नै मद्दत गर्छ ।
अल्सर फुटेका बिरामीमा कस्तो लक्षण हुन्छ ?
अल्सर फुटेपछि सबैभन्दा पहिला बिरामीको पेट दुख्छ । पेटको दुखाइमा असहनीय पीडा हुन्छ । जति गरे पनि औषधी कम हुँदैन । वान्ता आउने हुन्छ । पेट ढाडिने हुन्छ । पेट फुलेर टाइट हुन्छ । संक्रमण धेरै छिटो फैलिन्छ । रगत, फोक्सो, मृगौला, मुटुमा असर गर्दै जान्छ ।
अल्सर फुटेका बिरामीको उपचार सम्भव छ ?
अल्सर फुटेका बिरामीको उपचार सम्भव छ । अल्सर फुटेपछि बिरामीको तत्काल इमरजेन्सीमा अप्रेशन गर्नुपर्ने हुन्छ । बिरामीको अवस्था हेरर कोही बिरामीको अल्सर फुटेर संक्रमण फैलिएर मुटुले काम गरिरहेको छैन भने पहिला मुटुलाई बचाउनेतर्फ लागेर पछि उपचार गर्नुपर्छ । अन्य अवस्था ठिक छ । अल्सर फुटेर पेट ढाडिएको छ भने अप्रेशन गर्नुपर्ने हुन्छ । अप्रेशन गरेर फुटेको भागको आन्द्रामा भित्री आन्द्राको बोसो टालेर रिपेयर गरिन्छ । अप्रेशन दुई तरिकाबाट गरिन्छ । चिरेर र दुरबिन प्रविधिबाट गरिन्छ । दुरबिन प्रविधिबाट अप्रेशन गर्दा घाउ ठूलो हुँदैन । पछि घाउ पाक्ने सम्भावना हुँदैन । दुखाइ कम हुन्छ । रिकभरी छिटो हुन्छ । धेरै किसिमका रोगहरूको दुरबिन प्रविधिबाट अप्रेशन गर्न सकिन्छ ।
दुरबिन प्रविधिको कमजोरी पनि हुन्छ ?
दुरबिन प्रविधिको एउटा कमजोरी छ । दुरबिन प्रविधिबाट अप्रेशन गर्दा भित्रको भिजन राम्रो देखिएन भने भित्र धेरै पिप भरिएको छ भने त्यस्तो अवस्थामा दुरबिनलाई हटाएर अप्रेशन गर्नुपर्छ ।
अल्सरबाट बच्न खानपिनमा कस्तो ध्यान दिनुपर्छ ?
अल्सरबाट बच्न मदिराको सेवन, सुर्तीजन्य पदार्थको सेवनले अल्सरलाई बढाउँछ । मदिरा र सुर्तीजन्य पदार्थको सेवन नगर्ने, चिल्लोपिरो कम खानुपर्छ । चिल्लोपिरोको प्रत्यक्ष असर नभए पनि अप्रत्यक्ष रुपमा ग्याष्ट्रिक गराएर असर गर्छ । एचपाइलोरी ब्याक्टेरीया खानपिनबाट सर्ने भएकोले जसको शरीरमा छ, उसको दिसाबाट निस्कन्छ । दिसा खानेकुराहरू र दुषित पानीमा मिसिएर जाने हुन्छ । तरकारीहरू पकाउँदा र हामीले खाने गरेको काँचो खाने गरेको गाँजर र काक्रोलाई राम्रोसँग पखालेर खानुपर्छ । जथाभावी औषधी सेवन गर्ने बानीलाई बन्द गर्नु पर्दछ । पेट दुख्दा औषधी पसलमा गएर पेन किलर खाँदा दुखाइ कम हुन्छ । तर, त्यसले साइड इफेक्टले झनै रोग निम्त्याउँछ । चिकित्सकको सल्लाहमा मात्र पेन किलर खानु पर्छ । एचपाइलोरीको इन्फेक्सन भएमा अल्सर भएर फुटिहाल्ने हँुदैन । रगत र दिसाबाट जाँच गर्न सकिन्छ । इन्डोस्कोपी गरेर बायप्सी गर्न मिल्छ । पोजेटिभ देखिएको बेलामा पूरै औषधीको डोज खाएमा किरालाई ९५ प्रतिशत मार्छ ।
उपचारको लागि कस्तो खालको सर्जनकहाँ जानुपर्छ ?
सर्जरी आफैंमा ठूलो विधा हो । सर्जरीभित्र पनि विभिन्न खालका सर्जरीहरू छन् । जेनरल सर्जनले इमरजेन्सी केशलाई कभर गर्न सक्ने हुन्छ । क्यान्सर लागेको छ भने जनरल सर्जनले एक्लै गर्न सक्दैन । ग्यास्ट्रोसर्जनहरूको पनि सहयोग चाहिन्छ । सर्जनको क्षमतामा निर्भर गर्दछ ।
अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?
मधेश प्रदेशमा शिक्षा र स्वास्थ्यमा गुणस्तर कम छ । शिक्षामा गुणस्तर कम भएकोले स्वास्थ्यसम्बन्धी जनचेतना कम छ । विद्यालयस्तरमा अभिभावकलाई बोलाएर स्वास्थ्य शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू चलाउँदा समाजमा जनचेतना फैलिने र रोगको बारेमा सचेत हुन्छन् ।