राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सुनसरी र मधेशमा देखिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले आफू मुस्लिम समुदायबाट आए पनि हिन्दू राष्ट्रको अवधारणा सबै धर्मप्रति सम्मान र सहअस्तित्वमा आधारित रहेको दाबी गरे। उनले राप्रपाले उठाउँदै आएको हिन्दू राष्ट्रको अवधारणालाई गलत रूपमा बुझ्न नहुने उल्लेख गरे।
उनले धार्मिक ग्रन्थहरूबीच समान मानवताको सन्देश रहेको उल्लेख गर्दै भगवद्गीताको "वसुधैव कुटुम्बकम्" र "सर्वे भवन्तु सुखिनः" तथा पवित्र कुरानको "अल्हम्दुलिल्लाहि रब्बिल आलमीन" को उदाहरण प्रस्तुत गरे। यी सन्देशले सम्पूर्ण मानवजातिको कल्याण र सहअस्तित्वको भावना व्यक्त गर्ने उनको भनाइ थियो।
सांसद भाटले सुनसरी घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। उनले यस्ता घटनाले समाजमा विभाजन होइन, एकताको आवश्यकता अझ बढी महसुस गराएको बताए।
प्रतिपक्षी दलका सांसद भए पनि उनले गृहमन्त्री सुधन गुरुङले तनावग्रस्त क्षेत्रमा पुगेर परिस्थिति सामान्य बनाउन गरेको पहलको प्रशंसा गरे। संकटको समयमा सरकारको सक्रियता सकारात्मक रहेको उल्लेख गर्दै उनले शान्ति स्थापना प्रयासको स्वागत गरे।
भाटले विगतमा नेपाल हिन्दू राष्ट्र रहँदासमेत मुस्लिम समुदायले राष्ट्रिय पहिचान र राष्ट्रिय झण्डाप्रति गर्व गर्दै धार्मिक गतिविधिमा सहभागी हुने गरेको स्मरण गरे। नेपालका मुस्लिम समुदायले सधैँ राष्ट्रिय एकता, सामाजिक सद्भाव र अखण्डताको पक्षमा योगदान दिँदै आएको उनको भनाइ थियो।
उनले धार्मिक, जातीय वा साम्प्रदायिक आधारमा समाजलाई विभाजित गर्ने कुनै पनि गतिविधिबाट टाढा रहन आग्रह गर्दै आपसी सम्मान, सहिष्णुता र संवादमार्फत सामाजिक सद्भाव जोगाउन सबै राजनीतिक दल, समुदाय र नागरिकलाई आह्वान गरे।