स्वरोजगार र सीपमूलक व्यवसायको क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको छ । सीमित लगानी, मिहिनेत र सीपको भरमा आत्मनिर्भर बन्न सकिने व्यवसायमध्ये बुटिक व्यवसाय पनि एक हो । यही क्षेत्रमा डेढ दशकभन्दा लामो समयदेखि सक्रिय आरती गौरोले आफ्नो लगन, धैर्यता र निरन्तर अभ्यासबाट सफल उद्यमीका रूपमा पहिचान बनाएकी छन् । वीरगञ्जको माइस्थानमा आरती बुटिक एण्ड ट्रेनिङ्ग सेन्टर सञ्चालन गरेकी उनले केवल व्यवसाय सञ्चालनमात्र नभई दर्जनौं महिलालाई सिलाइ तालिम प्रदान गरी रोजगारी तथा स्वरोजगारको अवसरसमेत सिर्जना गरेकी छन् । बुटिक व्यवसायका अवसर, चुनौती, आम्दानी तथा महिलाको आर्थिक सशक्तीकरणका विषयमा आरती गौरोसँग मध्य नेपालले गरेको कुराकानी:
बुटिक व्यवसायमा कसरी आकर्षित हुनुभयो ?
समाजमा महिलालाई अन्य पेशामाभन्दा सिलाइ पेशातर्फ राम्रो मान्ने चलन पनि धेरै छ । मेरो घरपरिवारमा पनि मलाई पनि सिलाइ पेशा नै गर्न सुझाव आयो । सिलाइ सिकेँ पनि । मलाई सिलाइ पनि राम्रो लागेकोले यो पेशालाई नै अपनाएको हो । एकै ठाउँमा बसेर नै काम गर्न सकिने र धेरै दौडधुप गर्नुनपर्ने काम भएकोले मलाई पनि यही काम नै राम्रो लागेर सिलाइ सिकेर बुटिक पसल सञ्चालन गरेको हो ।
शुरूमा यो पेशामा काम गर्न कत्तिको सहज थियो ?
सिलाइ सिकेपछि शुरूको अवस्थामा अलि गाह्रो नै लाग्थ्यो । पहिला घरको मात्र कपडा सिलाउने गरेकी थिए । बिस्तारै टोलका कपडाहरू सिलाउन थालेँ । अन्यबाट आउने कपडा पनि सिलाउन थालेँ । पहिला कपडा बिग्रिन्छ कि भनेर पसल खोल्न डर लागेको थियो । बिस्तारै कपडा सिलाउँदै गएपछि बानी बस्यो । मनमा डर पनि हटेर गयो । पसल खोलेर सिलाइ गर्न थालेँ । अहिले राम्रोसँग सिलाउन सक्छु भन्ने आत्मविश्वास छ ।
तपाईंले कति लगानीबाट व्यवसाय शुरू गर्नुभयो ?
मैले सिलाइ सिकेर पहिला एउटा मेसिनबाट काम गर्न शुरू गरेको हो । जम्मा लगानी मात्र १५ हजार रुपैयाँमात्र थियो । शुरूदेखि नै एक्लै काम गर्न थालेँ । सिलाइ सिक्नको लागि विद्यार्थीहरू आए । उनीहरूलाई सिलाइ सिकाएँ । उनीहरूलाई राम्रोसँग सिकाएर काम दिएँ । उनीहरूले नै मेरोमा काम गरेका छन् । राम्रोसँग सिक्ने विद्यार्थीहरू आफ्नो पसल खोलेर बसेका पनि छन् । अहिले सिलाइ, इन्टरलक, पिको मेसिन गरेर ६ वटा मेसिन छ । लगभग ८० हजारको पूँजी लगानी छ ।
तपाईँको मासिक आम्दानी कस्तो छ ?
बुटिकबाट हुने आम्दानी सधैं एकैनास हुँदैन । सिजनको समयमा मासिक आम्दानी बढी हुन्छ । अफ सिजनको समयमा केही कम आम्दानी हुन्छ । विभिन्न संघसंस्थाहरूले आयोजना गरेको तालिममा पनि प्रशिक्षक भएर काम गरिरहेकी छु । त्यसको तलब अलग नै हुन्छ । प्रमुख प्रशिक्षक भएर तालिममा जाँदा ३० हजार रुपैयाँसम्म दिन्छन् । सहायक प्रशिक्षक भएर जादाँ २० हजार रुपैयाँसम्म दिन्छन् । ठाउँ हेरेर तलबमा फरक पर्छ ।
अहिलेसम्म कतिलाई तालिम दिनु भएको छ ?
मैले आफ्नो पसलमा ६० जनाभन्दा बढीलाई तालिम दिएकी छु । अन्य संस्थामार्फत् १ सयभन्दा बढीलाई सिकाउन सफल भएकी छु । मैले व्यक्तिगत तालिम दिँदा कोर्षको १० हजार रुपैयाँमा सिकाउने गरेकी छु । सिक्नेको अवस्था हेरेर केही छूट पनि गर्ने गरेकी छु । मैले तालिम दिएकामध्ये ३ जनालाई आफैले रोजगारी दिन सफल भएकी छु । अहिले विभिन्न संस्थाबाट पनि ट्रेनरको लागि अफर आउने गरेको छ । समय मिलाएर सिकाउने गरेकी छु ।
यो पेशामा काम गर्न कत्तिको चुनौती छ ?
सिलाइ पेशामा ध्यान दिएर काम गरेन भने धेरै चुनौती छ । कहिलेकाहीँ काम गर्दागर्दै सिलाएको कपडा बिग्रिन्छ । कपडा बिग्रेमा ग्राहकलाई कपडा तिर्नुपर्छ । शुरूमा तिरेका पनि छौं । हामी आफ्नो तरिकाले सिलाउछौं । सिलाइ राम्रो गरे पनि कहिलेकाहीँ आइरन लगाउँदा कपडा जल्छ । कहिले इन्टरलकले कपडा काटिन्छ । शुरूमा यस्तो समस्या धेरै भएको थियो । अब काम गर्दागर्दै बानी भइसकेको छ । केही बिग्रेमा मिलाउन सक्छौं ।
तपाईं पेशाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म सिलाइ पेशाबाट सन्तुष्ट छु । यो पेशाले मलाई स्वरोजगार बनाएको छ । मैले पनि धेरै महिला दिदीबहिनीहरूलाई रोजगार दिन सकेकी छु । समाजले पनि यो पेशालाई नकारात्मक रुपमा हेर्दैन । घरपरिवारले पनि सहयोग गर्छन् । आफैंले कमाएर आफ्नो लागि चाहिने खर्च गर्न पाएकी छु । सिलाइबाट कमाएको पैसाले घरपरिवारको लागि पनि केही रकम दिन सफल भएकी छु । यो पेशा गर्दा सबैको माया पाउन सफल भएकोले सन्तुष्ट नै छु । पहिला ट्रेनर भएर सिकाउने काममात्र गर्थेँ । अहिले तालिम लिएर विद्यार्थीको परीक्षा लिएर मूल्यांकन गर्ने जिम्मेवारी पनि थपिएको छ ।
सिक्न चाहने दिदीबहिनीहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?
सिक्ने क्रममा धेरै गल्ती हुन्छन् । कपडा काट्दा बिग्रिन्छ । गल्ती गर्दै सिक्ने हो । कुनै पनि काम सिक्दा डराउनु हँुदैन । धैर्यता राखेर काम गर्नुपर्छ । हामीले घरमा बस्नुभन्दा पनि केही काम गर्नुपर्छ । सिलाइमात्र होइन, जुनसुकै काम सिकेर आत्मनिर्भर भएको राम्रो हुन्छ । घरपरिवारको लागि पनि केही सहयोग गर्न सकिन्छ । त्यसैले फुर्सदको समयको सदुपयोग गरौं । फुर्सदमा घरमा यत्तिकै नबसौं ।