बाराको निजगढ नगरपालिका–८ स्थित बकैया खोलामा तीव्र कटान भएपछि पुरानो तारजालीयुक्त ड्याम भत्किने अवस्थामा पुगेको छ। स्थानीयका अनुसार खोलाले ड्याम पार गरी वन क्षेत्र हुँदै महेन्द्र राजमार्गतर्फ पस्न अब करिब तीन मिटर दूरी मात्र बाँकी रहेको छ।
करीब ५० वर्षअघि तत्कालीन सोभियत सङ्घ (रूस) सरकारको सहयोगमा महेन्द्र राजमार्ग र बकैया पुलको संरक्षणका लागि निर्माण गरिएको उक्त ड्यामको आधाभन्दा बढी भाग बाढीले कटान गरिसकेको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार गत वर्ष निजगढ नगरपालिकाले खोलाको धार परिवर्तन गर्ने उद्देश्यले पश्चिमतर्फको ड्यामतर्फ च्यानलाइजिङ गरेपछि बाढीको बहाव सोही क्षेत्रमा केन्द्रित भएको र त्यसपछि कटान तीव्र बनेको हो।
बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शालिग्राम ढुङ्गानाले ड्याम जीर्ण रहेको विषयमा पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित प्राविधिकले बेवास्ता गरेको आरोप लगाए। उनका अनुसार पूर्वतर्फको बस्ती जोगाउने प्रयासमा पश्चिमतर्फको कमजोर ड्याम थप जोखिममा परेपछि अहिले वन क्षेत्र, सरकारी संरचना तथा महेन्द्र राजमार्ग नै संकटमा परेको छ।
लगातारको वर्षासँगै बुधबार राति बकैया खोलाको जलस्तर करिब नौ फिटले बढेपछि इलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले जोखिम क्षेत्रको निगरानी बढाएका थिए।
स्थानीयका अनुसार ड्याम पूर्ण रूपमा भत्किए जिल्ला ट्राफिक प्रहरी कार्यालय, उच्च भोल्टेज प्रसारण लाइनका टावर, तामागढी सबडिभिजन वन कार्यालय, सामुदायिक वनको भवन, तामागढी गेट, महेन्द्र राजमार्ग तथा आसपासका वन क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने जोखिम रहेको छ।
यसअघि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नगरप्रमुख तथा प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरी क्षेत्रलाई जोखिमयुक्त घोषणा गरेको थियो। तर प्रभावकारी रोकथामका काम अघि नबढाइएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।
नगरपालिकाले साउन ३ गतेदेखि चार वटा एक्साभेटर प्रयोग गरी खोलाको धार परिवर्तन तथा तटबन्ध निर्माणको काम सुरु गरेको थियो। तर साउन १० गते आएको बाढीले बालुवा र ग्राभेलबाट बनाइएको अस्थायी तटबन्ध बगाएपछि काम रोकिएको छ। यससँगै निजगढ–९ का बस्ती, क्रसर उद्योग क्षेत्र, शहीद हीरालाल रङ्गशाला तथा करिब सय बिघाभन्दा बढी क्षेत्र बाढीको उच्च जोखिममा परेको जनाइएको छ।
स्थानीयका अनुसार वर्षायाममै नदी नियन्त्रणको काम गर्दा करिब १५ देखि २० लाख रुपैयाँ खर्च भए पनि बाढीले एकैपटक अधिकांश संरचना बगाएको छ। उनीहरूले गत वर्ष पनि यस्तै प्रकृतिको काममा ५८ लाख रुपैयाँभन्दा बढी खर्च भएको स्मरण गराउँदै नदी नियन्त्रणका दीर्घकालीन योजना हिउँदयाममै कार्यान्वयन गर्नुपर्नेमा वर्षायाममा काम गर्दा सार्वजनिक स्रोतको दुरुपयोग दोहोरिएको आरोप लगाएका छन्।
स्थानीयले तत्काल ड्याम संरक्षण, प्रभावकारी नदी नियन्त्रण तथा दीर्घकालीन योजना कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।