‘भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो’
भानुभक्त आचार्यको घाँसी कविताका यी पङ्क्तिहरू नेपाली साहित्यका मात्र होइनन्, नेपाली समाजका पनि अमूल्य चेतना हुन् । एउटा सामान्य घाँसीले समाजका लागि कुवा खनेर आफ्नो नाम अमर बनाउने आकांक्षा राखेको देख्दा भानुभक्तले आफ्नै जीवनको उद्देश्यलाई पुनर्विचार गरे । यही आत्मबोधले उनको कलमलाई समाजतर्फ मोड्यो । त्यसैले भानुभक्तलाई केवल आदिकवि भन्नु पर्याप्त हुँदैन उनी समाजबाट सिक्ने, समाजकै लागि सिर्जना गर्ने र समाजलाई नै आफ्नो कृतिको केन्द्रमा राख्ने स्रष्टा थिए ।
भानुभक्तको सबैभन्दा ठूलो विरासत नेपाली भाषालाई जनजीवनसँग जोड्नु हो । उनले संस्कृतमा सीमित रहेको रामायणलाई नेपाली भाषामा रूपान्तरण गरे। यो केवल भाषिक अनुवाद थिएन, ज्ञानलाई सीमित वर्गबाट आम जनतासम्म पु¥याउने सांस्कृतिक अभियान थियो । जब ज्ञान जनताको भाषामा पुग्छ, तब चेतना विस्तार हुन्छ, चेतना विस्तार भएपछि समाज परिवर्तनको आधार तयार हुन्छ । यही कारणले भानुभक्तको योगदान साहित्यिक मात्र नभई सामाजिक र ऐतिहासिक पनि हो । जो आज वर्तमानमा पनि उत्तिकै ताजगी प्रदान गर्दैछ । नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश हो । यस्तो विविधताबीच साझा सम्पर्क भाषाका रूपमा नेपाली भाषाले राष्ट्रिय एकताको महत्वपूर्ण आधार निर्माण गरेको छ । यसमा भानुभक्तको योगदान स्मरणीय छ । उनले नेपाली भाषालाई सम्मानित साहित्यिक माध्यम बनाए र जनतामा आफ्नो भाषाप्रतिको आत्मविश्वास बढाए । तर, आज भाषालाई जोड्ने माध्यम बनाउनुको सट्टा कतिपय अवस्थामा विभाजनको विषय बनाउने प्रवृत्ति पनि देखिन्छ । भानुको विरासतले भने फरक सन्देश दिन्छ, आफ्नो मातृभाषाको सम्मान गर्दै साझा नेपाली भाषामार्फत परस्पर समझदारी, सहकार्य र राष्ट्रिय एकतालाई सुदृढ बनाऔँ ।
भानुभक्तले साहित्यको सामाजिक दायित्व पनि स्पष्ट गरेका छन् । साहित्य केवल कल्पना, मनोरञ्जन वा शब्दको सौन्दर्यमा सीमित हुँदैन यसले समाजलाई मार्ग दिनुपर्छ, अन्यायमाथि प्रश्न उठाउनुपर्छ र मानवताको पक्षमा उभिनुपर्छ । आज सूचनासँगै प्रविधिको युगमा अभिव्यक्तिका माध्यम बढेका छन्, तर विचारको गहिराइ, भाषाको मर्यादा र सामाजिक उत्तरदायित्वमाथि नयाँ चुनौती पनि थपिएका छन्। यस्तो समयमा सत्य, विवेक र नैतिकताको पक्षमा उभिने साहित्यको आवश्यकता झन् बढेको छ। यही भानुभक्तको विरासतको सार हो ।
आजको नेपालले भानुभक्तबाट अझै धेरै कुरा सिक्न बाँकी छ। गुणस्तरीय शिक्षा सबैको पहुँचमा पु¥याउने, सार्वजनिक सूचना नागरिकले सहजै बुझ्ने भाषामा उपलब्ध गराउने, नेपाली भाषालाई विज्ञान, प्रविधि, अनुसन्धान र डिजिटल माध्यममा अझ समृद्ध बनाउने तथा भाषालाई विभाजन होइन, संवाद र सहकार्यको माध्यम बनाउने दायित्व अझै हाम्रो सामु छ । त्यस्तै, समाजका लागि केही गरेर जाने संस्कार पनि उत्तिकै आवश्यक छ । घाँसीले कुवा खनेर समाजलाई पानी दियो, भानुभक्तले कलममार्फत ज्ञान र चेतनाको मूल फुटाए । आज हामीले आफ्नोआफ्नो क्षेत्रमा समाजलाई के योगदान दिइरहेका छौँ भन्ने प्रश्न प्रत्येक नागरिकले आफैँसँग सोध्नुपर्ने बेला आएको छ ।
हामीले यो बुझ्नुपर्छ, भानु जयन्ती केवल जन्मजयन्ती मनाउने दिन होइन यो आत्मसमीक्षा गर्ने अवसर पनि हो । हामीले भाषालाई कति सम्मान गरिरहेका छौँ ? साहित्यलाई समाजसँग कति जोडिरहेका छौँ ? भावी पुस्तालाई कस्तो बौद्धिक र नैतिक विरासत हस्तान्तरण गर्दैछौँ ? यी प्रश्नको इमानदार उत्तर खोज्नु नै भानुभक्तप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
भानुभक्त आचार्यको विरासत कुनै संग्रहालयमा थन्किएको इतिहास होइन। न कसैले पेवा भनेर राख्ने सम्पत्ति नै त्यो हाम्रो भाषा, विचार, संस्कृति र सामाजिक उत्तरदायित्वमा निरन्तर जीवित रहनुपर्ने मूल्य हो। जस्को कुनै मोल छैन । जबसम्म नेपाली समाजले ज्ञानलाई जनतासम्म पु¥याउने, भाषाले मानिसलाई जोड्ने र साहित्यले समाजलाई उज्यालोतर्फ डो¥याउने अभियानलाई निरन्तरता दिन्छ, तबसम्म भानुको विरासत पनि जीवन्त रहनेछ । भानु जयन्तीको वास्तविक अर्थ यही हो, महान् व्यक्तिलाई सम्झनुमात्र होइन, उनले देखाएको बाटोमा हिँड्ने साहस गर्नु पनि हो ।
अन्त्यमा ,एउटा घाँसीले कुवा खनेर आफ्नो नाम छोड्यो । भानुभक्तले नेपाली भाषामा ज्ञानको कुवा खनेर एउटा राष्ट्रलाई साझा सांस्कृतिक आधार दिए । अब प्रश्न हाम्रो पुस्तासामु छ, हामीले भावी पुस्ताका लागि कस्तो विरासत छोड्ने ? भानु जयन्तीको सबैभन्दा गहिरो अर्थ यही प्रश्नको उत्तर खोज्नु हो ।