तराई–मधेस केन्द्रित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ गठन गर्ने भएका छन्। मोर्चाको औपचारिक घोषणा साउन २३ गते गरिने तयारी गरिएको छ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी तथा हरिनन्दन कुमार अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी सहभागी छन्।
मोर्चाको नेतृत्व कसले गर्ने भन्ने विषय भने हालसम्म टुंगो लागेको छैन। जसपा नेपालका नेता जितेन्द्र सोनलका अनुसार मोर्चाको कार्यविधि, नेतृत्व संरचना, कार्यदिशा तथा आगामी कार्यक्रमबारे छलफल जारी रहेको छ। यी सबै विषय साउन २३ गते हुने औपचारिक घोषणासँगै सार्वजनिक गरिने उनले बताए।
सोनलका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा समान विचार र सिद्धान्त भएका दलबीच सहकार्य आवश्यक भएकाले मोर्चा गठन गर्न लागिएको हो। उनले भविष्यमा समान सोच भएका अन्य राजनीतिक दललाई पनि मोर्चामा सहभागी गराउने तयारी रहेको जानकारी दिए।
उपेन्द्र, सीके र प्रभु एउटै मोर्चामा
मोर्चा गठनको सबैभन्दा चासोको विषय भने मधेस राजनीतिका प्रतिस्पर्धी नेताहरू उपेन्द्र यादव, डा. सीके राउत र प्रभु साह एउटै मोर्चामा आउनु बनेको छ।
यी तीन नेताबीच विगतमा राजनीतिक प्रतिस्पर्धा र सार्वजनिक मतभेद रहँदै आएको थियो। विशेषगरी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए। त्यसपछि बारा–२ को उपनिर्वाचनमा पनि राउतले आफ्ना पार्टीका उम्मेदवारलाई समर्थन गर्दै उपेन्द्र यादवविरुद्ध सक्रिय प्रचार गरेका थिए।
यसअघि बनेको संघीय लोकतान्त्रिक मोर्चामा समेत सीके राउतले उपेन्द्र यादवको नेतृत्व स्वीकार नगरेका थिए। तर अहिले दुवै नेता एउटै मोर्चामा आबद्ध हुँदै संयुक्त रूपमा राजनीतिक आन्दोलन र आगामी निर्वाचनमा सहकार्य गर्ने तयारीमा पुगेका छन्।
जनमत पार्टीका महासचिव चन्दन सिंहले राजनीतिमा प्रतिस्पर्धा स्वाभाविक भए पनि समयअनुसार सहकार्य आवश्यक हुने बताए। उनका अनुसार वर्तमान परिस्थितिले तराई–मधेसका राजनीतिक शक्तिहरूलाई विभाजनभन्दा एकताको बाटो रोज्न प्रेरित गरेको हो।
गौर घटनापछि पहिलो पटक एउटै मोर्चामा
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच पनि लामो समयदेखि राजनीतिक सम्बन्ध सहज थिएन। २०६३ सालको गौर घटनापछि दुवै नेताबीच गम्भीर राजनीतिक विवाद रहँदै आएको थियो।
गौर घटनालाई लिएर प्रभु साह पक्षले उपेन्द्र यादवविरुद्ध आन्दोलन गर्नुका साथै अदालतमा मुद्दासमेत दायर गरेको थियो, जुन मुद्दा अझै विचाराधीन रहेको छ। यस्तो पृष्ठभूमिका दुई नेता अहिले एउटै राजनीतिक मोर्चामा उभिनु मधेस राजनीतिमा महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।