वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य सडक विस्तारअन्तर्गत सडक सीमाभित्र परेका घर तथा अन्य संरचना हटाउने अभियान अन्तिम चरणमा पुगेको छ। केही दिन स्थगित भएको अभियान सोमबारदेखि पुनः सुरु गरिएको हो।
गत बिहीबार गहवामाईको रथयात्रा, अत्यधिक गर्मी तथा वीरगञ्जमा लागू गरिएको निषेधाज्ञाका कारण संरचना हटाउने कार्य अस्थायी रूपमा रोकिएको थियो। सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर तथा वीरगञ्जका फोकल पर्सन दुर्गाप्रसादका अनुसार सोमबार दिउँसो १ बजेदेखि माईस्थान क्षेत्रबाट अभियान पुनः सञ्चालन गरिएको हो।
उनका अनुसार सोमबार माईस्थान क्षेत्रमा साना–ठूला गरी करिब एक दर्जन घर भत्काइएको छ। हालसम्म अधिकांश संरचना हटाइसकिएको र अब करिब ८५ वटा घर तथा भवन हटाउन बाँकी रहेको उनले बताए।
ठूला संरचना हटाउनुपर्ने चरणमा पुगेकाले हाल उपलब्ध स्रोत–साधन पर्याप्त नभएको भन्दै प्रसादले आवश्यक उपकरणको व्यवस्था गरी सकेसम्म छिटो अभियान सम्पन्न गरिने जानकारी दिए।
उनले घण्टाघर क्षेत्रमा रहेको डाबर नेपालको भवन पनि सडक विस्तारको दायरामा परेकाले हटाइने बताए। तर सोही क्षेत्रमा रहेको नेपाली सेनाको कम्पाउन्ड पर्खाल र भवन भने तत्कालका लागि नहटाइने स्पष्ट पारे।
सडक विभागले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडक क्षेत्रका करिब एक हजार २०० घर तथा भवनमा डोजर चलाएको थियो। त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग हटाइएको थियो।
विभागले सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको थियो। तोकिएको अवधिमा धेरैले संरचना नहटाएपछि करिब दुई साताअघि दोस्रो चरणको अभियान सुरु गरिएको हो।
सडक विभागका अनुसार दोस्रो चरणअन्तर्गत बाँकी रहेका संरचना हटाउने काम तीव्र रूपमा अघि बढाइएको छ भने अभियान छिट्टै सम्पन्न गर्ने तयारी गरिएको छ।