वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई आधिकारिक रूपमा सूचीकृत गर्ने प्रक्रिया सुरु गरेको छ। महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सञ्चालक समिति तथा व्यवस्थापन पक्षलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्पदाको विवरण दर्ता गराउन आग्रह गरेको हो।
महानगरपालिकाका अनुसार संस्कृति तथा सम्पदा संरक्षण एवं संवर्द्धन सम्बन्धी ऐन, २०८० को परिच्छेद–४, दफा ८ को उपदफा (२)(ख) बमोजिम धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाको अभिलेखीकरण र संरक्षणका लागि यो प्रक्रिया अघि बढाइएको हो।
सूचनाअनुसार महानगर क्षेत्रभित्र रहेका मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा, गुरुद्वारा, बिहार लगायत धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदालाई अनिवार्य रूपमा सूचीकरण गरिनेछ। यसबाट नगरभित्र रहेका सम्पदाको आधिकारिक अभिलेख तयार गरी संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने महानगरपालिकाको विश्वास छ।
सूचीकरणका लागि आवश्यक कागजात
सम्बन्धित सम्पदा सञ्चालक समिति वा व्यवस्थापन पक्षले वीरगञ्ज महानगरपालिकाको संस्कृति, पर्यटन तथा सम्पदा संरक्षण शाखा मा देहायका कागजातसहित निवेदन पेस गर्नुपर्नेछः
सूचीकरणका लागि निवेदन
- सञ्चालक समितिका पदाधिकारीहरूको सम्पर्क नम्बर तथा नागरिकता नम्बर सहितको विवरण
- समितिको स्वीकृत विधान
- सम्पदाको स्वामित्वमा रहेका चल तथा अचल सम्पत्तिको विवरण
- सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा तोकिएको ३० दिनभित्र विवरण दर्ता नगराए प्रचलित ऐनअनुसार आवश्यक कारबाही तथा अन्य कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
महानगरपालिकाले नगरभित्र रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको संरक्षण, अभिलेखीकरण र भावी पुस्ताका लागि सुरक्षित राख्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाएको छ। स्थानीय तहले पहिलोपटक व्यवस्थित रूपमा सम्पदाको सूची तयार गर्न थालेसँगै वीरगञ्जको ऐतिहासिक तथा सांस्कृतिक पहिचान संरक्षणमा यो कदम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
