आन्तरिक राजस्व कार्यालय, वीरगञ्जले आर्थिक वर्ष २०८२/८३ मा नौ अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले ११ अर्ब ६५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको भए पनि लक्ष्यको करिब ८० प्रतिशत मात्र हासिल गर्न सकेको हो।
कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत पप्पुकुमार गुप्ताका अनुसार लक्ष्यभन्दा दुई अर्ब ३३ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले नौ अर्ब ४५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। त्यसको तुलनामा गत आर्थिक वर्षमा १३ करोड रुपैयाँले राजस्व सङ्कलन घटेको उनले बताए।
राजस्वका विभिन्न शीर्षकमा भने मिश्रित अवस्था देखिएको छ। आयकरतर्फ चार अर्ब ३४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ५१ करोड रुपैयाँ मात्र उठेको छ, जुन लक्ष्यको करिब ५८ प्रतिशत हो।
यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ दुई अर्ब ५० करोड रुपैयाँको लक्ष्य रहेकामा दुई अर्ब २१ करोड रुपैयाँ अर्थात् करिब ८८ प्रतिशत राजस्व सङ्कलन भएको छ। अन्तःशुल्कतर्फ भने चार अर्ब ८० करोड रुपैयाँको लक्ष्यमध्ये चार अर्ब ५९ करोड रुपैयाँ अर्थात् करिब ९६ प्रतिशत राजस्व सङ्कलन गर्दै कार्यालय लक्ष्य नजिक पुगेको छ।
यसबीच करदाता दर्ता विस्तारमा भने उल्लेख्य प्रगति भएको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा दुई हजार ५५३ वटा नयाँ व्यापारिक स्थायी लेखा नम्बर (प्यान) र १५ हजार ५११ वटा व्यक्तिगत प्यान वितरण गरिएको छ। यसले करदाताको दायरा विस्तार हुँदै गएको कार्यालयको दाबी छ।
हालसम्म कार्यालयमा आयकरतर्फ ४४ हजार ९२१, मूल्य अभिवृद्धि करतर्फ १२ हजार १८३ तथा अन्तःशुल्कतर्फ एक हजार ९९२ करदाता दर्ता भएका छन्।
कार्यालयका अनुसार आर्थिक गतिविधिमा आएको सुस्तता, आयकर लक्ष्यअनुसार सङ्कलन हुन नसक्नु तथा समग्र आर्थिक चुनौतीका कारण अपेक्षित राजस्व सङ्कलन गर्न कठिन भएको हो। आगामी आर्थिक वर्षमा कर प्रशासनलाई थप प्रभावकारी बनाउने, करदाताको दायरा विस्तार गर्ने तथा स्वेच्छिक कर सहभागिता बढाउने कार्यक्रमलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।