जापानको दक्षिणी क्षेत्रमा आएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उद्धारकर्मीहरूले बुधबार पनि जीवित व्यक्तिको खोजी कार्यलाई तीव्र बनाएका छन्। भूकम्पका कारण हालसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ भने हजारौं घरमा विद्युत् सेवा अवरुद्ध भएको र सडकहरूमा व्यापक क्षति पुगेको छ।
भूकम्प गएको करिब एक घण्टापछि कुमामोटो नजिकै रहेको एयोन (Aeon) सपिङ मलमा भएको सम्भावित विस्फोटका कारण भवनको एक भाग भत्किएको थियो। भग्नावशेषबाट आठ जनाको उद्धार गरिएको भए पनि तीमध्ये तीन जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
मल सञ्चालकका अनुसार करिब २,७०० कर्मचारीमध्ये चार जना अझै सम्पर्कविहीन छन्। प्रारम्भिक भूकम्पपछि सबै ग्राहकलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले उद्धारको पर्खाइमा रहेका नागरिकको जीवन बचाउन उपलब्ध सबै स्रोत परिचालन गरिएको बताउँदै उद्धार कार्य समयसँगको प्रतिस्पर्धा भएको उल्लेख गरिन्।
सरकारले मलमा भएको घटनाको कारण ग्यास विस्फोट हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ। उद्धारकर्मीहरूले भवनभित्र ग्यासको गन्ध महसुस गरेको बताए पनि घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन।
उद्धार तथा राहत कार्यमा आपत्कालीन उद्धार टोली, प्रहरी र करिब १७० सैनिक प्रत्यक्ष रूपमा परिचालित छन् भने भूकम्प प्रभावित क्षेत्रमा ४,५०० भन्दा बढी सैनिक खटाइएको छ।
यस्तै, निप्पोन पेपर इन्डस्ट्रिजको एक कारखानामा चिम्नी भत्किँदा सात जना बेपत्ता भएका छन् भने चार जना गम्भीर घाइते भएका छन्। विभिन्न अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको छ।
प्रभावित क्षेत्रमा करिब २ लाख ६० हजार नागरिकलाई सुरक्षित स्थान तथा उद्धार शिविरमा जान निर्देशन दिइएको छ। प्रहरीले भवन भत्किएको तथा उद्धारको मागसहित ३८६ वटा आपत्कालीन फोन प्राप्त गरेको जनाएको छ।
भूकम्पको केन्द्रबिन्दु कुमामोटो सहरबाट करिब २० किलोमिटर दक्षिण रहेको जनाइएको छ। यत्सुशिरो लगायतका क्षेत्रमा घरका छाना क्षतिग्रस्त भएका छन्, केही भवन पूर्ण रूपमा भत्किएका छन् र सडकहरू चर्किएका छन्। एक पुलको भाग कुमागावा नदीमा खसेको छ।
अधिकारीहरूले आगामी करिब एक सातासम्म थप शक्तिशाली पराकम्पन आउन सक्ने तथा पहिरोको जोखिम पनि उच्च रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन्।
भूकम्पका कारण ३६ हजारभन्दा बढी घरमा अझै विद्युत् सेवा अवरुद्ध रहेको छ। तापक्रम ३४ डिग्री सेल्सियससम्म पुगेकाले प्रभावित क्षेत्रमा हिट स्ट्रोकको जोखिमसमेत बढेको छ।
भूकम्पपछि केही अस्पतालमा विद्युत् अवरुद्ध हुँदा सेवा प्रभावित भएको छ भने तीव्रगतिका रेल सेवासमेत अस्थायी रूपमा स्थगित गरिएको छ। प्रभावित क्षेत्रमा रहेका रेनेसास इलेक्ट्रोनिक्स, सोनी, टोकियो इलेक्ट्रोन, होन्डा, टोयोटा लगायतका उद्योगहरूले उत्पादन रोक्ने निर्णय गरेका छन्। टीएसएमसी (TSMC) ले भने सावधानीस्वरूप कर्मचारीलाई बाहिर निकालेपछि सञ्चालन क्रमशः पुनः सुरु गरेको जनाएको छ।
जापान प्रशान्त महासागर वरिपरि फैलिएको 'रिङ अफ फायर' क्षेत्रमा पर्ने भएकाले विश्वका ६.० वा सोभन्दा माथिका करिब २० प्रतिशत भूकम्प त्यहीँ हुने गर्छन्। कुमामोटोमा एक दशकअघि आएको विनाशकारी भूकम्पमा २७५ जनाको मृत्यु भएको थियो भने हजारौं संरचनामा क्षति पुगेको थियो।