वर्षापछि वीरगञ्ज महानगरपालिकाका विभिन्न ठाँउ फेरि डुबानमा परेका छन्। आदर्शनगर, रामटोल, श्रीपुर, मुर्ली, पानीटङ्कीलगायतका क्षेत्र जलमग्न हुँदा स्थानीयवासीको दैनिक जीवन अस्तव्यस्त बनेको छ। वर्षेनी दोहोरिने यो समस्या यसपटक भने सडक विस्तारका क्रममा पर्याप्त पानी निकासको व्यवस्था नगरिँदा झन् जटिल बनेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार गण्डकदेखि मितेरी पुलसम्म करिब सात किलोमिटर सडक विस्तारको काम भइरहेका बेला नाला तथा फुटपाथका संरचना हटाउने क्रममा आवश्यक व्यवस्थापन नगरिएकाले वर्षाको पानी सहज रूपमा बग्न सकेन। कतिपय स्थानमा नाला पुरिएका छन् भने केही ठाउँमा निर्माण सामग्रीले पानीको बहाव अवरुद्ध बनाएको छ। त्यसको प्रत्यक्ष असर मुख्य सडकसँगै जोडिएका बस्तीमा परेको उनीहरूको भनाइ छ।
वर्षासँगै केही स्थानमा खानेपानीका पाइप फुट्दा सडकमा पानी अझ बढी जमेको देखिएको छ। पानी घरभित्र पस्दा फर्निचर, खाद्यान्न, विद्युतीय उपकरण तथा अन्य घरायसी सामग्रीमा क्षति पुगेको छ। धेरै परिवारले रातभर घरबाट पानी निकाल्न बाध्य भएको स्थानीयले बताएका छन्।
डुबानपछि केही क्षेत्रमा नाला व्यवस्थापन र सडक विस्तारको कामलाई लिएर स्थानीयबीच असन्तुष्टि बढेको छ। निर्माणअघि वा निर्माणकै अवधिमा अस्थायी तथा दीर्घकालीन पानी निकासको स्पष्ट योजना नबनाइएकाले हरेक वर्ष एउटै समस्या दोहोरिने अवस्था सिर्जना भएको स्थानीयको आरोप छ।

शहरी योजनाविद्हरूका अनुसार सडक विस्तार, ढल तथा नाला निर्माण र वर्षाको पानी व्यवस्थापनलाई एकीकृत रूपमा अघि नबढाउँदा यस्ता समस्या समाधान हुन कठिन हुन्छ। पूर्वाधार निर्माणसँगै जोखिम व्यवस्थापनलाई समान प्राथमिकता नदिँदा विकासका कामले नै सर्वसाधारणलाई थप सास्ती दिने अवस्था देखिएको उनीहरूको भनाइ छ।
वीरगञ्जमा वर्षेनी दोहोरिने डुबान अब केवल मौसमी चुनौती नभई शहरी पूर्वाधार र योजनाको दीर्घकालीन कमजोरीको संकेतका रूपमा देखिन थालेको छ। आधुनिक ढल तथा नाला प्रणालीको विस्तार, निर्माण कार्यको प्रभावकारी अनुगमन र वर्षाको पानीको वैज्ञानिक व्यवस्थापन बिना समस्या समाधान नहुने सरोकारवालाहरूको निष्कर्ष छ।