कृषि वैज्ञानिक तथा साहित्यकार डा. जीत बरालको संस्मरणात्मक कृति ‘गाँस, वास र जिन्दगी’ साहित्यिक चौतारी नेपालको १२औँ साधारणसभाको अवसरमा औपचारिक रूपमा विमोचन गरिएको छ।
अमेरिकामा बसोबास गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय बरालको यो कृतिलाई नेपाली डायस्पोरा साहित्यको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
यसअघि अमेरिकाको क्यालिफोर्नियामा सार्वजनिक भइसकेको कृति साहित्यिक चौतारी नेपालको आयोजनामा सम्पन्न ‘कृति विमोचन, सम्मान तथा रचना वाचन कार्यक्रम’मा पुनः विमोचन गरिएको हो।
कृतिमा नेपालको दुर्गम परिवेश, अभावपूर्ण बाल्यकाल, शिक्षा प्राप्तिका संघर्ष र आत्मनिर्माणको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ। गाँस र वासको अनिश्चितताबीच हुर्किएको व्यक्तिले शिक्षा, लगनशीलता र अथक परिश्रमका बलमा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हासिल गरेको जीवनकथा यस पुस्तकको केन्द्रमा रहेको छ।
कार्यक्रमका वक्ताहरूले विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिप्रति निरन्तर समर्पित रहनु आफैंमा ठूलो योगदान भएको बताए।
उनीहरूले भौगोलिक दूरीले मातृभाषा र सांस्कृतिक जिम्मेवारीलाई कमजोर बनाउन नसक्ने सन्देश डा. बरालको जीवन र साहित्यिक यात्राले दिएको उल्लेख गरे।
कार्यक्रममा साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारीले ‘गाँस, वास र जिन्दगी’ केवल संस्मरण नभई संघर्षबाट सम्भावनासम्मको यात्रालाई उजागर गर्ने प्रेरणादायी कृति भएको बताइन्। उनका अनुसार यसले नेपाल र डायस्पोराबीच साहित्यिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास दिलाएको छ।
मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री रामप्रसाद मेहता, विभिन्न साहित्यकार, प्राज्ञ तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा कृतिलाई नेपाली डायस्पोरा साहित्यको सशक्त दस्तावेजका रूपमा मूल्याङ्कन गरिएको थियो।