जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा ट्राफिक सप्ताहको सभ्य तथा भव्य रूपमा शुभारम्भ गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य सडक अनुशासन, सभ्यता र सुरक्षा प्रवर्द्धन गर्नु रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर थापाले रिबन काटेर ट्राफिक सप्ताहअन्तर्गतको जनचेतनामूलक र्यालीको शुभारम्भ गर्नुभयो। उहाँले “जान नै जहान हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सबै सवारी चालक तथा नागरिकले ट्राफिक नियमको पूर्ण पालना गरे सडक दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सकिने बताउनुभयो। उहाँले सबैलाई जिम्मेवार नागरिक बनेर ट्राफिक नियम पालना गर्न आग्रह गर्नुभयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवालको अध्यक्षतामा आयोजित र्यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न संघ–संस्था, विद्यार्थी, महिला समूह, युवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
र्यालीका क्रममा “सुरक्षित स्थानबाट मात्र ओभरटेक गरौँ”, “ट्राफिक नियमको पालना गरौँ” र “जिम्मेवार चालक बनौँ” लगायतका सन्देशसहित प्लेकार्ड प्रदर्शन गरिएको थियो।
प्रहरी निरीक्षक कटुवालले सडक सुरक्षा मानव जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सवारी साधन चलाउँदा ट्राफिक नियमको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले ट्राफिक सप्ताहलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै सडक दुर्घटना न्यूनीकरणका लागि निरन्तर जनचेतना अभियान सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रमको समापन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरि बस्नेतले धन्यवाद ज्ञापनसहित गर्नुभयो। उहाँले “अनुशासन, सभ्यता र सुरक्षा” लाई व्यवहारमा उतारे सडक दुर्घटना उल्लेख्य रूपमा घटाउन सकिने बताउँदै सबैलाई सुरक्षित यात्राको संस्कृति अपनाउन आग्रह गर्नुभयो।