मधेश प्रदेश सरकारअन्तर्गतको आमसञ्चार प्राधिकरणले सञ्चार क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै सञ्चार क्षेत्रका समसामयिक मुद्दामाथि व्यापक छलफल गरेको छ।
आइतबार जनकपुरधाममा आयोजित पुरस्कार तथा सम्मान कार्यविधिसम्बन्धी छलफल कार्यक्रममा सञ्चार क्षेत्रको वर्तमान अवस्था, पत्रकारिताका चुनौती, सञ्चार नीति, पत्रकार सुरक्षा तथा सञ्चारमाध्यमको दिगोपनालगायत विषयमा बहस भएको थियो।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले लोकतान्त्रिक शासन व्यवस्थामा स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै सञ्चार क्षेत्रले भोगिरहेका समस्याको समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राखे।
छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा तथा मिडिया काउन्सिल मधेशका कार्यवाहक अध्यक्ष बन्दना झाले सञ्चार क्षेत्रका विविध विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रको व्यावसायिक विकास, सञ्चारमाध्यमको दिगोपना तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि प्राधिकरणले सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी गराइएको थियो।
अन्तरक्रियामा मधेश प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासंघका अध्यक्ष, पूर्वअध्यक्ष, सञ्चारकर्मी, सञ्चार संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पत्रकारिता क्षेत्रका चुनौती, स्थानीय सञ्चारमाध्यमको अवस्था, सूचनामा पहुँच तथा सञ्चार नीतिको प्रभावकारी कार्यान्वयनका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
आमसञ्चार प्राधिकरणले यस्ता अन्तरक्रिया कार्यक्रममार्फत सञ्चार क्षेत्रका सरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि हुनुका साथै नीतिगत सुधारका लागि आवश्यक सुझाव संकलन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।a