काठमाडौँको बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रा.लि.) गैरकानूनी रूपमा सञ्चालन भइरहेको भेटिएपछि नेपाल मेडिकल काउन्सिलले सिलबन्दी गरेको छ। काउन्सिलको स्थलगत अनुगमनमा अस्पतालले आवश्यक अनुमति तथा क्लिनिकल मापदण्ड पूरा नगरी सेवा दिइरहेको तथ्य फेला परेपछि उक्त कदम चालिएको हो।
काउन्सिलका अनुसार अनुगमनका क्रममा विदेशी चिकित्सकमार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको पाइएको थियो। यसलाई गम्भीर कानुनी उल्लङ्घन ठहर गर्दै काउन्सिलले अस्पतालविरुद्ध थप कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
घटना सार्वजनिक भएसँगै उपचार सेवामा संलग्न तीन जना चिनियाँ चिकित्सकको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरिएको छ। साथै, अस्पतालको बोर्डमा नाम राखेर काउन्सिलको आचारसंहिता उल्लङ्घन गरेको आरोपमा संलग्न नेपाली चिकित्सकहरूलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
काउन्सिलले अस्पताललाई भौतिक रूपमा बन्द गराउन तथा सञ्चालकमाथि आवश्यक कानुनी कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँलाई पत्राचार गरिसकेको जनाएको छ। त्यस्तै, भिसा सर्त विपरीत कार्य गरेको आरोपमा विदेशी नागरिकहरूको गैर-पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीका लागि सम्बन्धित निकायमा विस्तृत प्रतिवेदन पठाइएको छ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा कुनै पनि प्रकारको लापरबाही वा गैरकानूनी गतिविधि सह्य नहुने बताए। उनका अनुसार काउन्सिलको आचारसंहिता विपरीत कार्य गर्ने व्यक्ति वा संस्थालाई कानुनअनुसार कडा कारबाहीको दायरामा ल्याइनेछ।
काउन्सिलले बिना अनुमति सञ्चालन भएका स्वास्थ्य संस्था वा दर्ता नगरी लुकिछिपी बिरामी जाँच्ने चिकित्सकबारे जानकारी भए प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने पनि काउन्सिलले जनाएको छ।