नेपाल सरकारले आफ्नै म्यासेजिङ एप विकास गरिरहेको खुलासा गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले भविष्यमा सरकारी तथा व्यक्तिगत संवाद विदेशी सर्भरमा निर्भर नहुने दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित फिनटेक कन्क्लेभलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल सरकारले ह्वाट्सएपजस्तै सुरक्षित म्यासेजिङ सेवा विकास गरिरहेको जानकारी दिएका हुन्।
उनका अनुसार सूचना प्रविधि क्षेत्रमा आत्मनिर्भरता बढाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि सम्बन्धी संरचनालाई एकीकृत गर्ने तयारी भइरहेको छ। त्यसका लागि आइटी क्षेत्रका दक्ष युवाहरूलाई समेटेर सरकारी सफ्टवेयर र हार्डवेयर स्वदेशमै विकास गर्ने लक्ष्य लिइएको उनले बताए।
‘नयाँ अभ्यास पनि हुँदैछ। प्रधानमन्त्री कार्यालयमै आइटी विभाग मर्ज हुने भएको छ। त्यहाँ दर्जनौं आइटी क्षेत्रका विज्ञ युवा बसेर नेपाल सरकारका सम्पूर्ण सफ्टवेयर र हार्डवेयर आफैं बनाउने र दसौं अर्ब रुपैयाँ बचत गर्ने लक्ष्य छ,’ वाग्लेले भने।
उनले आफूले सरकारद्वारा विकास भइरहेको म्यासेजिङ एपको प्रारम्भिक स्वरूप समेत अवलोकन गरेको जानकारी दिए। उक्त एपमा सुरक्षित रूपमा सन्देश आदानप्रदान गर्न सकिने, क्यूआर स्क्यानमार्फत सहज पहुँच हुने तथा डकुमेन्ट आदानप्रदानको सुविधा समेत रहने उनले बताए।
‘नेपाल सरकारको आफ्नै ह्वाट्सएपजस्तो म्यासेजिङ सर्भिस मैले हेर्न पाएँ। यो सुरक्षित छ, सजिलै स्क्यान गर्न सकिन्छ, डकुमेन्ट सेयर गर्न सकिन्छ। तपाईं–हामीले गर्ने संवाद अब विदेशी सर्भरमा गएर बस्दैन,’ उनले भने।
सरकारले डिजिटल पूर्वाधारलाई स्वदेशमै विकास गरी डेटा सुरक्षा, सूचना सार्वभौमिकता र विदेशी प्रविधिमाथिको निर्भरता घटाउने लक्ष्यसहित यस्तो पहल अघि बढाएको जनाएको छ।