नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा निलम्बन गरेको छ।
पार्टीका अनुसार यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष सिफारिस गरिएको थियो। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको आरोप लगाउँदै यादवविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो।
बिहीबार बसेको नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले उनीमाथि लागेको आरोपबारे अन्तिम निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो। पार्टीका सचिव दिनेश थापामगरले अनुशासन उल्लंघनसम्बन्धी विषयमा थप अनुसन्धान आवश्यक देखिएकाले निलम्बन गरिएको जानकारी दिए।
पार्टीले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम यादवमाथि कारबाही गरिएको जनाएको छ।
अनुशासन समितिले यादवसँग वैशाख ३० गते पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तोकिएको समयभित्र जवाफ नआएपछि जेठ १२ गते पुनः स्पष्टीकरण सोधिएको थियो।
तर, दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि कुनै जवाफ प्राप्त नभएको र विषयवस्तुबारे थप अनुसन्धान आवश्यक देखिएकाले अन्तिम निर्णय नआउन्जेलसम्मका लागि निलम्बन गरिएको सचिव थापामगरले बताएका छन्।
पार्टीभित्र अनुशासन कायम राख्ने र संगठनात्मक मर्यादा संरक्षण गर्ने उद्देश्यले आवश्यक प्रक्रिया अघि बढाइएको नेपाली कांग्रेसले जनाएको छ।