जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पर्सा, बारा लगायत मध्य तराईका जिल्लाहरूमा अत्यधिक गर्मी र तातो हावा (हीट वेभ) चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले बिहीबार सार्वजनिक गरेको आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार पर्सा, बारा र आसपासका तराई क्षेत्रलाई पहेँलो सतर्कता (येलो अलर्ट) सूचीमा राखिएको छ। जारी मौसम नक्सामा यी जिल्लाहरूमा तातो लहरको प्रभाव पर्ने संकेत देखाइएको छ।
केही सातायता निरन्तर बढ्दो तापक्रमका कारण वीरगञ्ज, कलैया तथा आसपासका शहरी र ग्रामीण क्षेत्रको जनजीवन प्रभावित भइरहेको अवस्थामा मौसम विभागको पछिल्लो चेतावनीले स्थानीयवासीलाई थप सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
महाशाखाका अनुसार देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र उच्च भू–भागमा हिमपातको सम्भावना रहे पनि पर्सा, बारा लगायतका तराई जिल्लामा वर्षाको सम्भावना न्यून देखिएको छ। यस क्षेत्रमा मुख्य चुनौतीका रूपमा अत्यधिक गर्मी र तातो हावा रहने अनुमान गरिएको छ।
तातो लहरको सम्भावित प्रभावलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरूले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। चिकित्सकहरूका अनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्मको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनु उपयुक्त हुन्छ। साथै शरीरमा पानीको मात्रा सन्तुलित राख्न पर्याप्त मात्रामा पानी, कागती पानी, जीवनजल तथा अन्य तरल पदार्थ सेवन गर्न आग्रह गरिएको छ।
स्वास्थ्य विशेषज्ञहरूले मौसमसम्बन्धी आधिकारिक सूचना तथा चेतावनी नियमित रूपमा पछ्याउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको विशेष हेरचाह गर्न पनि अनुरोध गरेका छन्।
बढ्दो गर्मीका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले पर्सा र बाराका स्थानीय तह तथा सम्बन्धित निकायहरूले आवश्यक पूर्वतयारी, जनचेतना अभिवृद्धि तथा स्वास्थ्य सेवा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिएको छ।