सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सेयर बजारले नकारात्मक प्रतिक्रिया जनाएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य अंकले घटेको छ।
सोमबार नेप्से परिसूचक २८.७५ अंकले घटेर २ हजार ७ सय ५३ दशमलव ३४ विन्दुमा बन्द भएको हो। बजार खुलेदेखि नै ओरालो लागेको परिसूचक दिनभर उतारचढावबीच अन्ततः नकारात्मक अवस्थामा बन्द भएको थियो।
आज कुल ५ अर्ब ४६ करोड ६३ लाख ३८ हजार ६४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये २३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको मूल्य बढेको छ। ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
समग्र बजारमा गिरावट देखिए पनि केही कम्पनीका सेयरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा १४.९९ प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लागेको छ। कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ४७ रुपैयाँ ६० पैसा कायम भएको छ।
त्यसैगरी, कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य पनि १४.९९ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ३९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस्तै, हिमालयन रि–इन्स्योरेन्स, रिडी पावर र नेशनल हाइड्रो पनि सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीमा परेका छन्।
बजारमा निर्जीवन बीमा समूह र अन्य समूहबाहेक सबै उपसूचकहरू घटेका छन्। बजेटमार्फत सरकारले नेपालमा हुने सबै प्रकारका बीमाको कम्तीमा १० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था घोषणा गरेपछि उक्त कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको हो।
यता, विशाल बजार कम्पनी र नेपाल टेलिकमको सेयर मूल्य भने घटेको छ। सरकारले नेपाल टेलिकमको २५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने तथा विशाल बजार कम्पनीको सेयर पनि सर्वसाधारणमा निष्कासन गर्ने घोषणा गरेपछि ती कम्पनीका सेयरमा दबाब परेको विश्लेषण गरिएको छ।