भारत सरकारले नेपालको कानून प्रवर्तन तथा सुरक्षा व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन १० वटा कैदी वाहक ट्रक नेपाललाई हस्तान्तरण गरेको छ ।
भारतकाे महावाणिज्य दूतावास द्वारा जारी विज्ञप्तिअनुसार वीरगञ्जमा आयोजित एक कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीणा ले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ती ट्रक औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
महावाणिज्य दूतावासका अनुसार उक्त सहयोग भारत सरकारद्वारा नेपाललाई उपलब्ध गराइएको सुरक्षा तथा कानून प्रवर्तनसम्बन्धी सहयोगअन्तर्गतको एक हिस्सा हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दाहालले भारत सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपाल–भारतबीचको सहकार्यलाई पारस्परिक रूपमा लाभदायक र दीर्घकालीन सम्बन्धको उदाहरण भएको बताएका छन् ।
विज्ञप्तिअनुसार यसअघि पनि भारत सरकारले ५ मार्च २०२६ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल सरकारको अनुरोधमा एसयूभी, पिकअप र ट्रकसहित करिब ६४० वटा सवारी साधन सहयोगस्वरूप प्रदान गरेको थियो ।
त्यसैगरी विगतका वर्षहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनालगायत सुरक्षा निकायलाई भारत सरकारले २ हजारभन्दा बढी सवारी साधन उपलब्ध गराइसकेको उल्लेख गरिएको छ ।
भारतीय पक्षले नेपाललाई निरन्तर उपलब्ध गराउँदै आएको सहयोगले दुई देशबीचको बहुआयामिक विकास साझेदारीलाई थप मजबुत बनाएको र नेपाल–भारत जनस्तरको मित्रता तथा पारस्परिक विश्वासको प्रतीकका रूपमा रहेको विज्ञप्तिमा उल्लेख छ ।