शनिबार राति आएको भीषण हावाहुरीले बाराको जितपुरसिमरा उपमहानगरपालिकामा व्यापक क्षति पुर्याएको छ। हावाहुरीका कारण ४५ वटा घरमा पूर्ण क्षति पुगेको छ भने अन्य केही घरमा आंशिक क्षति भएको जनाइएको छ।
जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आइतबार प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै क्षतिको विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार हावाहुरीका कारण विभिन्न स्थानमा रुख ढलेपछि सडक अवरुद्ध हुनुका साथै विद्युत् सेवा समेत प्रभावित भएको छ।
अमलेखगञ्ज–चकरी सडकखण्डमा रुख ढलेपछि आवागमन पूर्ण रूपमा बन्द भएको थियो। आइतबार उपमहानगरपालिकाको नगरप्रहरीले रुख पन्छाएर सडक सञ्चालनमा ल्याएको नगरप्रमुख पौडेलले जानकारी दिए।
त्यस्तै, जितपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिका जोड्ने चकरी–डम्बरपुर सडकखण्डमा पनि ठूलो रुख ढलेकाले सडक अझै पूर्ण रूपमा अवरुद्ध रहेको छ।
नगरप्रमुख पौडेलका अनुसार कतिपय रुखहरू जरैदेखि उखेलेर ढलेकाले केही वर्षअघि बारामा आएको टोर्नाडोकै झल्को दिने खालको हावाहुरी देखिएको थियो। “कतिपय रुख जरैदेखि ढलेका छन्, हावाहुरी अत्यन्तै शक्तिशाली टोर्नाडोजस्तै देखियो,” उनले भने।
शनिबार रातिदेखि प्रभावित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध रहेको छ। डिभिजन वन कार्यालय बाराका अनुसार बस्ती क्षेत्रबाहेक वन क्षेत्रमा पनि ठूलो संख्यामा रुखहरू ढलेको सूचना प्राप्त भएको छ।
उपमहानगरपालिकाले हाल क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ। जितपुरसिमरा–२१ का वडाध्यक्ष सुवास श्रेष्ठले संकलित विवरण उपमहानगरपालिका कार्यालयमा पठाउने तयारी भइरहेको बताए।
यसैबीच, बारा क्षेत्र नम्बर ४ का संघीय सांसद रहबर अन्सारीले पनि आइतबार बिहानै हावाहुरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।