अघिल्लो कारोबार दिन ३० अंकले बढेको सेयर बजार बिहीबार भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घट्दै २७४२ अंकमा कायम भएको हो ।
बजार घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज बजार दिनभरजसो रातो अंकमा कारोबार भएको थियो । कारोबार भएका कम्पनीमध्ये ७२ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बिहीबार अधिकांश समूहगत सूचकहरू घटेका छन् । बैंकिङ समूह ०.५७ प्रतिशत, विकास बैंक ०.३१, फाइनान्स ०.२१, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.४२ तथा अन्य समूह ०.३१ प्रतिशतले घटेका छन् । व्यापार समूहको सूचक भने स्थिर रहेको छ ।
आज बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाका डिबेन्चरहरू पनि धेरै बढ्ने सूचीमा रहेका छन् ।
यता अपर लोहोरेखोलाको सेयर मूल्य सबैभन्दा धेरै १४.९५ प्रतिशतले घटेको छ । त्यसैगरी झापा इनर्जी ८.१२ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल ७.४० प्रतिशत तथा सिटी होटल ३.८० प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स शीर्ष पाँचमा रहेका छन् ।