सेयर बजारमा निरन्तर दबाब देखिँदै गएको छ । लगातार तेस्रो कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घट्दै २७३८ अंकमा झरेको छ । यसअघि मंगलबार २६ अंक र बुधबार २५ अंकले घटेको बजारमा तीन दिनमै झन्डै ६० अंकको गिरावट आएको हो ।
कारोबार सुरु भएको २२ मिनेटमै परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि केही सम्हालिएको देखिएको छ ।
कारोबार रकम पनि सामान्य रूपमा घटेको छ । अघिल्लो दिन ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ । कुल ९८ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकतर्फ बैंकिङ ०.०२ प्रतिशत र उत्पादन तथा प्रशोधन ०.८४ प्रतिशतले वृद्धि भएका छन् । अन्य सबै समूहका सूचक भने १ प्रतिशतभन्दा कम दरले घटेका छन् ।
घट्ने समूहमा विकास बैंक ०.४८ प्रतिशत, फाइनान्स ०.२० प्रतिशत, होटल तथा पर्यटन ०.०४ प्रतिशत, हाइड्रोपावर ०.४० प्रतिशत, लगानी ०.४२ प्रतिशत, जीवन बीमा ०.२६ प्रतिशत, माइक्रोफाइनान्स ०.३४ प्रतिशत, निर्जीवन बीमा ०.०२ प्रतिशत, अन्य ०.९७ प्रतिशत तथा व्यापार ०.६३ प्रतिशतले गिरावट आएको छ ।
व्यक्तिगत कम्पनीतर्फ श्रीनगर एग्रिटेक १२.५७ प्रतिशतले बढ्दै शीर्ष स्थानमा रह्यो । त्यसैगरी शिखर पावर ७.९१ प्रतिशत, एसियन हाइड्रोपावर ७.८८ प्रतिशत, रिभर फल्स पावर ४.९५ प्रतिशत तथा एसवाई प्यानल ३.८१ प्रतिशतले वृद्धि भएका छन् ।
कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेका छन् ।