मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.१६ अंकले घट्दै २७७० बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन ७.७ अंकले बढेको बजारमा आज पुनः गिरावट देखिएको हो।
कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा मंगलबार ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। कारोबार वृद्धि भए पनि बजारको समग्र प्रवृत्ति भने नकारात्मक रह्यो।
मंगलबार सबै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार अधिकांश संस्थाको नाफा तथा प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ। लोन लस प्रोभिजन (इम्पेयरमेन्ट चार्ज) केही घटेको र धेरै संस्थाहरू लाभांश वितरण गर्न सक्ने अवस्थामा देखिएका छन्।
यद्यपि, नउठेको ब्याज तथा साँवा असुलीमा रहेको चुनौतीले सकारात्मक वित्तीय सूचकहरूको प्रभाव बजारमा पर्न सकेन। यसका साथै उद्योगी–व्यवसायीमाथि भइरहेको धरपकडले पनि बजारमा नकारात्मक मनोवैज्ञानिक असर पारिरहेको देखिन्छ।
कारोबार भएका कम्पनीमध्ये ४२ वटाको सेयर मूल्य बढ्दा २१३ वटाको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकतर्फ ‘अन्य’ समूह ०.७३ प्रतिशतले बढे पनि बाँकी सबै समूहका सूचक घटेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूह २.४६ प्रतिशतले ओरालो लागेको छ।
त्यसैगरी बैंकिङ ०.८४ प्रतिशत, विकास बैंक १.२२ प्रतिशत, हाइड्रोपावर १.७४ प्रतिशत, लगानी ०.४७ प्रतिशत, जीवन बीमा ०.१६ प्रतिशत, माइक्रोफाइनान्स ०.४४ प्रतिशत, निर्जीवन बीमा ०.३९ प्रतिशत र व्यापार समूह ०.३९ प्रतिशतले घटेका छन्।
व्यक्तिगत कम्पनीतर्फ मंगलबार कुनै पनि कम्पनीको सेयर मूल्यमा दोहोरो अंकको वृद्धि देखिएन। हिमालयन बैंक डिबेन्चर ८६ को मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढ्दा साइन रेसुङ्गा विकास बैंक डिबेन्चर ३.४० प्रतिशत र सानिमा डिबेन्चर २०८९ को मूल्य ३.१७ प्रतिशतले बढेको छ।
यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले घटेको छ। त्यसैगरी रिजलाइन इनर्जी १०.२७ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ९.९४ प्रतिशत, सिटी होटल ९.२५ प्रतिशत तथा भुजुङ हाइड्रोपावर ८.५६ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र कुमारी बैंक अग्रस्थानमा रहेका छन्।
समग्रमा वित्तीय सूचकहरूमा सुधार देखिए पनि बजारमा विश्वासको अभाव तथा बाह्य मनोवैज्ञानिक दबाबका कारण नेप्से परिसूचक घटेको विश्लेषण गरिएको छ।