इरान युद्धपछि इन्धनको मूल्य आकासिँदै जाँदा विश्वभर विद्युतीय सवारी (ईभी)प्रति आकर्षण बढेको छ, र यही अवसरलाई समात्दै चिनियाँ कम्पनीहरू अन्तर्राष्ट्रिय बजारमा आक्रामक रूपमा अघि बढिरहेका छन्।
विश्वकै सबैभन्दा ठूलो ईभी उत्पादक देश चीनका कम्पनीहरूले अमेरिकाजस्तो ठूलो बजारमा सहज पहुँच नपाए पनि एसिया, युरोप र अन्य क्षेत्रहरूमा बढ्दो मागबाट उल्लेखनीय फाइदा उठाइरहेका छन्।
यस परिवर्तनको केन्द्रमा रहेको बीवाईडीले गत वर्ष टेस्लालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो ईभी विक्रेता बन्न सफल भएको थियो। कम्पनीले अहिले ब्राजिल, बेलायत र युरोपका बजारहरूमा विस्तारलाई तीव्र बनाएको छ।
बीवाईडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीका अनुसार कम्पनी अमेरिकी बजारबिना पनि सफलतापूर्वक अघि बढिरहेको छ। “तेलको मूल्य बढ्दा उपभोक्ताले दैनिक खर्चमा बचत महसुस गर्छन्, र ईभी त्यसको समाधान हो,” उनले बताइन्। तर, बढ्दो मागका कारण उत्पादन क्षमता अपुग भइरहेको उनले स्वीकार गरिन्।
कम्पनीले “फ्ल्यास चार्जिङ” प्रविधिमा ठूलो लगानी गरिरहेको छ, जसले केही मिनेटमै सयौं किलोमिटर यात्रा गर्न सक्ने ऊर्जा थप्न सक्छ। यसले चार्जिङ समयको चिन्ता कम गर्दै ईभी अपनाउने दर अझ बढाउने अपेक्षा गरिएको छ।
बेइजिङ अटो शो—हाल विश्वकै सबैभन्दा ठूलो अटो प्रदर्शनीमा १,४०० भन्दा बढी सवारी साधन प्रदर्शन गरिएका थिए, जहाँ चिनियाँ कम्पनीहरूको बलियो उपस्थिति देखिएको थियो।
एक्सपेङले नयाँ ६ सिटे इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै निकट भविष्यमै मानवरूपी रोबोट र सन् २०२७ सम्म उड्ने कार उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ।
उता भक्सवागन, टोयोटा र फोर्ड जस्ता परम्परागत कम्पनीहरू चिनियाँ बजारमा प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका छन्। केहीले स्थानीय कम्पनीहरूसँग सहकार्य गर्ने रणनीति अपनाएका छन्।
चीनभित्रै भने तीव्र प्रतिस्पर्धा, मूल्य युद्ध र घट्दो नाफाले चुनौती थपिएको छ। बीवाईडीकै घरेलु बिक्री सात महिनादेखि घटिरहेको छ, तर युरोपमा भने यस वर्षको पहिलो तीन महिनामै १५६ प्रतिशतले वृद्धि भएको छ।
विशेषज्ञहरूका अनुसार बढ्दो प्रतिस्पर्धाबीच सबै कम्पनी टिक्न नसक्ने सम्भावना उच्च छ। स्टेला लीका शब्दमा, “इतिहासले देखाउँछ—सबै टिक्दैनन्।”