पाँच दशकदेखि वैज्ञानिकहरूलाई अन्योलमा पारेको एउटा ब्रह्माण्डीय रहस्य अन्ततः सुल्झिएको छ। खगोलविद्हरूले हाम्रो आकाशगंगा मिल्की वेको केन्द्रमा रहेको महाविशाल ब्ल्याक होलबाट हावा निस्किरहेको प्रत्यक्ष प्रमाण फेला पारेका छन्।
चिलीस्थित एएलएमए (ALMA) टेलिस्कोप र नासाको चन्द्रा एक्स–रे वेधशालाबाट प्राप्त तथ्यांकको अध्ययनपछि वैज्ञानिकहरूले मिल्की वेको केन्द्रमा रहेको ‘स्याजिटेरियस ए–स्टार’ (Sgr A*) वरिपरि विशाल शंकु आकारको खाली क्षेत्र पत्ता लगाएका हुन्।
अनुसन्धानकर्ताहरूका अनुसार उक्त खाली क्षेत्र तातो तथा विद्युतीय आवेशयुक्त ग्यासले भरिएको छ, जसलाई ब्ल्याक होलबाट निस्किएको हावाले निर्माण गरेको हो। यो हावाले आसपासका चिसा ग्यासलाई हटाएको वा अत्यधिक तताएको निष्कर्ष वैज्ञानिकहरूको छ।
अनुसन्धानमा संलग्न अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयकी भौतिकशास्त्री तथा खगोलविद् लेना मर्चिकोभाले यो खोजले “५० वर्ष पुरानो रहस्यको समाधान गरेको” बताएकी छन्।
वैज्ञानिकहरूका अनुसार स्याजिटेरियस ए–स्टार पृथ्वीबाट करिब २६ हजार प्रकाशवर्ष टाढा अवस्थित छ र यसको द्रव्यमान सूर्यको भन्दा करिब ४० लाख गुणा बढी छ। यद्यपि अन्य आकाशगंगाका केही महाविशाल ब्ल्याक होलहरूको तुलनामा यो हाल अपेक्षाकृत शान्त अवस्थामा रहेको बताइएको छ।
यही कारणले यसबाट निस्कने हावा पनि विनाशकारी आँधीजस्तो नभई ‘हल्का झोक्का’ जस्तै रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। अध्ययनका सह–नेता तथा खगोलविद् मार्क गोर्स्कीले यसलाई पृथ्वीको मौसमसँग तुलना गर्दै भने, “यो हाम्रो ब्ल्याक होलबाट आउने हल्का हावा हो, जसले आकाशगंगाको केन्द्रलाई ठूलो परिवर्तन गर्ने शक्ति राख्दैन।”
वैज्ञानिकहरूका अनुसार ब्ल्याक होलले आफ्नो वरिपरिका ग्यास र पदार्थलाई तीव्र गतिमा आफूतर्फ तान्छ। तर ती सबै पदार्थ भित्र नपसी केही भाग अत्यधिक ऊर्जा र चापका कारण बाहिर फ्याँकिन्छ। यही बाहिर निस्कने पदार्थलाई ‘ब्ल्याक होलको हावा’ भनिन्छ।
अनुसन्धानले देखाएअनुसार स्याजिटेरियस ए–स्टारबाट निस्किएको यो हावाले कम्तीमा ६.५ प्रकाशवर्षसम्म फैलिएको संरचना निर्माण गरेको हुनसक्छ।
वैज्ञानिकहरूले यस खोजलाई हाम्रो आकाशगंगाको केन्द्रको व्यवहार बुझ्न महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। उनीहरूका अनुसार अहिले शान्त देखिने यो ब्ल्याक होल भविष्यमा शक्तिशाली विस्फोट वा आँधीसरह सक्रिय हुनसक्ने सम्भावना भने कायमै छ।