डा. आमिर आलम दन्त रोग विशेषज्ञ हुन् । त्रिभुवन विश्वविद्यालयबाट बिडीएस गरेका उनले विगत १० वर्षदेखि स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनिकबाट दाँतसम्बन्धी सेवा दिँदैआएका छन् । दन्तरोग विशेषज्ञ डा. आलमसँग मुख र दाँतमा हुने समस्या र समाधानका उपायबारे मध्य नेपालले गरेको कुराकानी ः
मुख र दाँतको हेरचाह कसरी गर्न सकिन्छ ?
बच्चाको दाँत आएको छैन भनेर हामी बच्चाको मुखको सरसफाईमा ध्यान दिँदैनौं । बच्चाको दाँत नआए पनि गमप्याड एरियामा बच्चालाई दूध खुवाइसकेपछि सफा कपडालाई पानीमा भिजाएर पुछ्नु पर्छ । ६ महिनापछि दाँत आएपछि पनि दाँतको सरसफाई गरिदिनु पर्छ । बच्चा बुझ्ने भएपछि पनि बच्चालाई राति ब्रस गर्न सिकाउने, राति गुलियो खानेकुरा कम खुवाउने, राति बच्चाले दूध खाएको छ भने दूध खाएपछि ब्रस गर्न लगाउने, धेरै सानो बच्चा छ भने दूध खाएपछि पानी खान दिने गर्नु पर्छ । उमेर भएपछि बाङ्गोटिङ्गो दाँत भएकाहरूको दाँतमा खाना अड्किन्छ भने डेन्टल फ्लसले सफा गरेर कुल्ला गर्नु पर्छ । दाँत धेरै समय ब्रसले रगड्नु हुँदैन । सबै दाँतको भागहरूमा फ्लोराइडयुक्त टुथपेष्टले सफा गर्नु पर्छ । हरेक मानिसले ६÷६ महिनामा दाँतको जाँच गराउनु पर्छ । दिनको दुई पटक बिहान र बेलुका ब्रस गर्नु पर्दछ । ब्रस गर्ने तरिका प्रयोगमा ल्याउनु पर्छ । ४५ डिग्रीको एङ्गलमा ब्रसलाई राखेर माथिको दाँतलाई तलतिर र तलको दाँतलाई माथितिर एकहोरो ब्रस गर्ने । कुनै पनि दाँतमा टाँसिने खाना खाइरहेका छौं भने मुख कुल्ला गर्नु पर्छ । टुथपिकको प्रयोग नगर्ने र खाना खाइसकेपछि दाँतमा अड्किएको खाना डेन्टल फ्लस वा इनोडेन्टल ब्रसले मात्र निकाल्नु पर्छ ।
कस्ता समस्या भएका बिरामीहरू बढी आउँछन् ?
उपचार गर्न सबैभन्दा बढी दाँतमा किरा लागेका बिरामीहरू बढी आउने गर्छन् । आम जनसमुदायमा दाँत नदुखेसम्म दन्त चिकित्सककोमा नजाने चलन छ । दाँत दुखेर चिकित्सककहाँ पुग्दा धेरै ढिलो भइसकेको हुन्छ । ढिलो अस्पताल आएमा उपचार खर्च पनि बढी लाग्छ । दाँतमा समस्या भएको शुरूको अवस्थामा फिलिङ्ग गरेमात्र हुन्छ । यदी जरासम्म दाँतलाई खाइसकेको जटिल समस्या छ भने जरादेखि दाँत भर्नु पर्छ । १२ वर्ष उमेर भएका बच्चाहरूमा दाँत बाङ्गोटिङ्गो हुने समस्या देखिएको छ । मुख गन्हाउने, गिजाबाट रगत आउने र दाँत किराले खाने समस्या भएका बिरामी बढी आउँछन् । गिजामा संक्रमण हुँदा समयमै उपचार गर्नु पर्छ ।
दाँतको उपचार महँगो हुन्छ भनिन्छ नि ?
नेपालमा दाँतको उपचार महँगो छैन । अमेरिका, अष्ट्रेलियाजस्ता देशहरूमा दाँत सफा गरेको २ लाख रुपैयाँसम्म लिन्छन् । नेपालमा दाँत सफा गरेको १ हजार ५ सयमात्र लिइरहेका छौं । नेपालमा १÷२ हजार रुपैयाँ पनि तिर्न सकिरहेको छैन । मानिसहरूमा जनचेतनाको कमी छ । जनचेतनाको कमी भएर दाँतको महत्व बुझेका छैनन् । विदेशी मानिसहरू वीरगञ्जमा आएर दाँतको उपचार गरेर फर्किन्छन् । फ्लोराइड भएको मञ्जन प्रयोग गर्नु पर्छ । फ्लोराइड मञ्जनमा भएको तत्वले दाँतमा किरा लाग्ने दिँदैन । पेप्सोडेन्ड र क्लोज अफ मञ्जनको प्रयोग गर्न सकिन्छ ।
बीमाले दाँत रोगलाई किन समेट्न सकेको छैन ?
सरकारको दाँतको रोगप्रति ध्यान पुग्न सकेको छैन । मानिसको एउटा दाँत भएन भने उसको अनुहार नै कुरुप देखिन्छ । सरकारले अन्य रोगजस्तै दाँतको रोगलाई पनि बीमामा समावेश गर्नु पर्छ । बाङ्गोटिङ्गो दाँतलाई मिलाउन र दाँत प्रत्यारोपण गर्न धेरै खर्च लाग्छ । तर सरकारले बिमामा समावेश गरेको छैन । दाँत महत्वपूर्ण अंग भएकोले सरकारले दाँतको समस्यालाई पनि बीमाको सुविधा दिनु पर्छ ।
बजारमा डेन्टल क्लिनिकहरू धेरै खुलेका छन्, गुणस्तरीय सेवा कसरी थाहा पाउने ?
बजारमा डेन्टल क्लिनिक धेरै खुले पनि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त दक्ष डक्टरकहाँ गएर उपचार गराउनु पर्छ । उपचार गर्नुअघि कुन विश्वविद्यालयबाट अध्ययन गरेको छ । मेडिकल काउन्सिलबाट लाइसेन्स पाएका डेन्टल क्लिनिकहरूमा मात्र उपचार गराउनु पर्छ ।
तपाईंको डेन्टल क्लिनिकमा कस्ता सेवाहरू उपलब्ध छन् ?
दाँत सफा गर्ने, दाँतको प्रत्यारोपण गर्ने, मुख दाँतसम्बन्धी समस्याहरू, आरसीटी गर्ने, बच्चाको दाँतको उपचार, बाङ्गोटिङ्गो परेको दाँतको उपचार, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे गर्ने र दाँत उखेल्ने आधुनिक प्रविधिबाट सेवाहरू उपलब्ध छ ।
दाँतमा किरा लाग्नबाट बचाउन कस्तो सावधानी अपनाउनु पर्छ ?
धेरै चिनी वा मिठाइ खानु हुँदैन । गुलियो खानेकुरा खाएपछि मुख कुल्ला गर्नु पर्छ । ब्रस गर्ने तरिकाअनुसार राम्रोसँग ब्रस गर्नु पर्छ । मुखमा रहेका ब्याक्टेरियाले चिनीबाट एसिड बनाउँछन् । जसले दाँतको सतहलाई बिस्तारै बिगार्छ । सकेसम्म ६÷६ महिनामा दाँतको जाँच गराउनु पर्छ । समस्या शुरूमा नै पत्ता लगाउन र सजिलै उपचार गर्न मद्दत गर्छ । स्वस्थ दाँत व्यक्तित्वको महत्वपूर्ण हिस्सा हो । नियमित ब्रस, सन्तुलित आहार र समयमै डेन्टल जाँच गराउनु राम्रो हुन्छ । दाँतमा सानो समस्या देखिएमा तुरुन्त दाँतको उपचार गर्नु पर्छ ।
आरसीटी कस्तो अवस्थामा गरिन्छ ?
दाँतको किरा धेरै भित्र पुगेर नसासम्म संक्रमण भएको छ भने यस्तो अवस्थामा दाँतको संक्रमित भाग सफा गरेर हटाइन्छ । रुट क्यानल ट्रिटमेन्ट अथवा आरसीटी गरिन्छ । आरसीटी गर्दा दाँत निकाल्नु पर्दैन ।
दाँतको प्रत्यारोपण कसरी गरिन्छ ?
झरेको दाँतको लागि दाँत प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) गर्ने आधुनिक र प्रभावकारी उपचार विधि हो । जबडाको हड्डीमा टाइटेनियमको सानो स्क्रु जडान गरेर त्यसमाथि नयाँ दाँत राखिन्छ । जसले प्राकृतिक दाँतजस्तै काम गर्छ ।
दाँतमा चोट लागेमा के गर्नु पर्छ ?
खेलकुद, दुर्घटना वा कुनै झडपका कारण दाँतमा चोट लाग्न सक्छ । यस्तो अवस्थामा तुरुन्त डेन्टल चिकित्सकलाई देखाउनु धेरै महत्वपूर्ण हुन्छ । दाँत भाँचियो भनेर बेवास्ता गर्नु हँुदैन । समयमै उपचार गरेमा भाँचिएको वा हल्लिएको दाँतलाई पनि बनाउन सकिन्छ । मानिस कुरुप हुनबाट बच्छ ।
अन्त्यमा केही सुझाव दिन चाहनुहुन्छ ?
दाँत आएपछि बच्चालाई पनि बिहानबेलुका ब्रस गर्न सिकाउने गर्नु पर्छ । ठूला मानिसले पनि डेन्टल फ्लसको प्रयोग गर्नु पर्छ । जंकफुड र गुलिया खानेकुराहरू खान कम गर्ने, हरेक ६÷६ महिनामा डेन्टल सर्जनकोमा गएर जाँच गराउनु उपयुक्त हुन्छ । दाँत माझ्न कुनै पनि दतिवन वा अन्य डाठहरूको प्रयोग गर्नु हुँदैन ।