उद्योग प्रतिष्ठानमा सुरक्षित, मर्यादित र समानतामूलक कार्यस्थल निर्माण गर्ने उद्देश्यले वीरगञ्जमा गुनासो व्यवस्थापन संयन्त्रसम्बन्धी एकदिने क्षमता अभिवृद्धि तथा व्यवहारिक तालिम सम्पन्न गरिएको छ।
पर्साको वीरगञ्जमा प्रतिष्ठान स्तरमा गुनासो व्यवस्थापन संयन्त्र सञ्चालन समितिका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तथा व्यवहारिक सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।
महिला सशक्तीकरण, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत आयोजित उक्त तालिममा विभिन्न उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूको सहभागिता रहेको थियो।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वीरगञ्ज उद्योग वाणिज्य संघ का अध्यक्ष हरि गौतम ले कार्यस्थललाई सुरक्षित, मर्यादित र समानतामूलक बनाउन गुनासो व्यवस्थापन संयन्त्र प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याए। उनले उद्योग व्यवसायमा कार्यरत श्रमिकहरूको अधिकार संरक्षण तथा कार्यस्थलमा हुने विभिन्न समस्याको समाधानका लागि यस्ता तालिम उपयोगी हुने बताए।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ का सहायक निर्देशक हरि पौडेल ले कार्यक्रमको उद्देश्य तथा सञ्चालनबारे प्रस्तुति दिएका थिए। उनका अनुसार यूरोपियन युनियन को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघ अन्तर्गतका चारवटा संस्थामध्ये अन्तर्राष्ट्रिय श्रम संगठन सँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा सञ्चालित महिला सशक्तीकरण, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो। कार्यक्रमको संयोजन डा. वासुदेव लाल कर्ण ले गरेका थिए।
तालिममा मधेश प्रदेशका पाँच उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूलाई कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारको सम्बोधन गर्ने विषयमा प्रयोगात्मक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
सहभागीहरूलाई अधिवक्ता सर्मिला श्रेष्ठ ले प्रशिक्षण दिएकी थिइन्। उनले कार्यस्थलमा हुने लैङ्गिक हिंसा न्यूनीकरण, गुनासो व्यवस्थापन संयन्त्रको प्रभावकारी सञ्चालन तथा सुरक्षित कार्य वातावरण निर्माणका विषयमा विस्तृत जानकारी दिएकी थिइन्।
कार्यक्रमको सहजीकरण तालिम संयोजक डा. वासुदेव लाल कर्णले गरेका थिए।