मध्यपूर्वमा अवस्थित हर्मुज जलडमरू विश्व ऊर्जा आपूर्तिको अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ, जहाँबाट दैनिक करोडौँ ब्यारेल तेल तथा ग्यास विश्व बजारतर्फ पठाइन्छ।
हर्मुज जलडमरू ओमान र इरानको बीचमा अवस्थित छ। यसले उत्तरतर्फ रहेको पर्सियन खाडीलाई दक्षिणतर्फको ओमानको खाडी हुँदै अरब सागरसँग जोड्ने काम गर्छ।
यो जलडमरू सबैभन्दा साँघुरो स्थानमा करिब २१ माइल (३३ किलोमिटर) चौडा छ। तर जहाजहरू आवत–जावत गर्ने समुद्री मार्ग भने दुवैतर्फ करिब २ माइल (३ किलोमिटर) मात्रै चौडा रहेको छ।
विश्वको कुल तेल खपतको करिब पाँचौं भाग यही जलडमरू हुँदै ढुवानी हुने गरेको छ। ऊर्जा विश्लेषण कम्पनी भोर्टेक्साका अनुसार गत वर्ष औसतमा दैनिक करिब २ करोड ब्यारेलभन्दा बढी कच्चा तेल, कन्डेन्सेट र इन्धन यही मार्गबाट पार गरिएको थियो।
पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) का सदस्य राष्ट्रहरू साउदी अरब, इरान, संयुक्त अरब इमिरेट्स, कुवेत र इराकले आफ्नो अधिकांश कच्चा तेल यही मार्ग हुँदै निर्यात गर्छन्, जसको मुख्य गन्तव्य एशियाली बजार हो।
त्यसैगरी विश्वका प्रमुख तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यातकमध्ये एक कतारले पनि आफ्नो प्रायः सम्पूर्ण एलएनजी यही हर्मुज जलडमरू हुँदै विश्व बजारतर्फ पठाउने गर्दछ।