प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार पर्सा–१ देखि पर्सा–४ सम्म रास्वपाले जित निकाल्दै जिल्लामा क्लिन स्वीप गरेको हो।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१
पर्सा–१ बाट रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पन्तले २७ हजार २७४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८८५ मत प्राप्त गरेका छन्।
पर्सा–१ मा कुल ८९ हजार ६३८ मतदाता रहेकामा ६१ हजार ३०६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–२
पर्सा–२ मा रास्वपाका उम्मेदवार सुशील कुमार कानु भारी मतान्तरसहित निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कानुले ३० हजार ७४० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय चौरसियाले ११ हजार ८९० मत प्राप्त गरेका छन्। नेकपा एमालेकी उम्मेदवार रिमा यादवले ११ हजार ६०५ मत प्राप्त गरेकी छन्।
कानुले चौरसियालाई १८ हजार ८५० मतान्तरले पराजित गरेका हुन्। पर्सा–२ मा कुल ९५ हजार १२० मतदाता रहेकामा ६५ हजार ८७८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–३
पर्सा–३ मा रास्वपाका रामाकान्त प्रसाद चौरसिया २९ हजार ६७९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत प्राप्त गरेका छन्। नेकपा एमालेका रुपेश कुमार पाण्डेयले ११ हजार ९१४ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपाका छोटेलाल प्रसाद पाण्डेयले २ हजार १३७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीकी मालती कुमारी कुशवाहाले ५८३ मत प्राप्त गरेकी छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर–४
पर्सा–४ मा पनि रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य विजयी भएका छन्। उनले २८ हजार ६ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका जालिम मियाँ मंसुरीले १२ हजार १४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
जसपा नेपालका कृपासिन्धु प्रसादले ४ हजार ७५८ मत प्राप्त गरेका छन्।
यससँगै पर्साका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले जित निकाल्दै जिल्लामा उल्लेखनीय सफलता हासिल गरेको छ।