निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि देशभर १६५ निर्वाचन क्षेत्रमा गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित रूपमा ‘सुनामी’ ल्याएको प्रारम्भिक नतिजाले देखाएको छ। हालसम्म सार्वजनिक परिणामअनुसार रास्वपाले १७ क्षेत्रमा जित हात पारेको छ भने एक सयभन्दा बढी क्षेत्रमा अग्रता लिइरहेको छ।
निर्वाचन आयोगका अनुसार देशका अधिकांश क्षेत्रमा मतगणना जारी रहँदा हालसम्म २५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रारम्भिक नतिजाले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाप्रति मतदाताको झुकाव उल्लेखनीय देखिएको छ भने पुराना ठूला दलहरू भने धेरै क्षेत्रमा जमानत जोगाउने चुनौतीमा परेका छन्।
रास्वपाले जितेका प्रमुख निर्वाचन क्षेत्र
प्रारम्भिक परिणामअनुसार रास्वपाले विभिन्न जिल्लाका १७ निर्वाचन क्षेत्रमा जित निकालेको छ।
धनुषा–३ मा मनिष झाले ४३ हजार १४२ मतसहित विजयी हुँदै बिमलेन्द्र निधि र जुलीकुमारी महतो जस्ता हेभिवेट उम्मेदवारलाई पराजित गरे।
कास्की–३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित निर्वाचित भइन्। उनले दामोदर पौडेल बैरागी लाई पराजित गरिन्।
काठमाडौं–१० मा प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भए भने कांग्रेसका हिमाल कार्की दोस्रो स्थानमा रहे।
मोरङ–४ मा सन्तोष राजवंशी ले कांग्रेसका गुरुराज घिमिरे लाई २८ हजारभन्दा बढी मतान्तरले हराउँदै जित निकाले।
कास्की–२ मा उत्तमप्रसाद पौडेल, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–३ मा राजुनाथ पाण्डे र काठमाडौं–१ मा रञ्जु दर्शना नेउपाने विजयी भएका छन्।
त्यस्तै काठमाडौं–९ मा पार्टीका उपसभापति डोल प्रसाद अर्याल, मोरङ–६ मा रुबिना आचार्य, बाँके–१ मा सुरेशकुमार चौधरी, स्याङ्जा–१ मा धनञ्जय रेग्मी र रुपन्देही–४ मा कन्हैया बनियाँ विजयी भएका छन्।
अन्य दलको स्थिति
यसैबीच नेपाली कांग्रेस ले मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ गरी चार क्षेत्रमा जित निकालेको छ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी ले रुकुम पूर्व–१ बाट पुष्पकमल दाहाल प्रचण्ड र कालिकोट–१ बाट महेन्द्रबहादुर शाही लाई विजयी गराएको छ।
नेकपा एमाले ले भने बाँके–२ बाट मोहम्मद ईश्तियाक राई लाई विजयी गराउँदै आफ्नो पहिलो जित निकालेको छ।
देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन आयोगले जनाएको छ। प्रारम्भिक नतिजाले भने नेपाली राजनीतिमा नयाँ शक्ति उदाएको संकेत दिइरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।