टी–२० विश्वकप इतिहासमै दुर्लभ मानिने दुई सुपर ओभरसम्म लम्बिएको रोमाञ्चक भिडन्तमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई मात्र ४ रनले पराजित गर्दै सनसनीपूर्ण जित हात पारेको छ।
निर्धारित २० ओभरमा दुवै टोली बराबरीमा रोकिएपछि खेल सुपर ओभरमा पुगेको थियो। पहिलो सुपर ओभरसमेत १७–१७ रनमा टुंगिएपछि दोस्रो सुपर ओभरको सहारा लिनुपरेको हो। दोस्रो अवसरमा डेभिड मिलरले चार बलमै अविजित १६ रन प्रहार गर्दै टोलीलाई २३ रनसम्म पुर्याए। २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९–२ रनमै सीमित भयो।
यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी कक (५९) र रायन रिकेल्टन (६१) को अर्धशतकमा ६ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। दुवैले दोस्रो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए। कप्तान राशिद खानले एकै ओभरमा दुवैलाई आउट गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए।
१८८ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानले आक्रामक सुरुआत गर्दै चार ओभरमै बिना विकेट ५० रन बनायो। तर लुंगी एनगिडीले लगातार दुई विकेट लिएपछि खेल मोडियो। रहमानुल्लाह गुरबाजले ४२ बलमा ८४ रनको विस्फोटक इनिङ्स खेल्दै टोलीलाई जित नजिक पुर्याए। अजमतुल्लाह ओमरजाई (२२) र राशिद खान (२०) ले पनि साथ दिए।
अन्तिम ओभरमा १३ रन आवश्यक पर्दा एक विकेट बाँकी थियो। कागिसो रबाडाका दुई नो–बलले अफगानिस्तानलाई जीवनदान दिए पनि जितका लागि दुई रन लिन खोज्दा फजलहक फारुकी रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो।
पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन बनायो। जवाफमा दक्षिण अफ्रिकाले अन्तिम बलमा ट्रिस्टन स्टब्सको छक्कासहित बराबरी गर्यो। दोस्रो सुपर ओभरमा भने केशव महाराजले दुई विकेट लिँदै खेल दक्षिण अफ्रिकाको पक्षमा मोडे।
यस जितसँगै दक्षिण अफ्रिकाले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको छ। लगातार दुई हार बेहोरेको अफगानिस्तानको नकआउट सम्भावना भने झनै कठिन बनेको छ।