पेरिसबाट सुरु भएको विद्यार्थी आन्दोलन फ्रान्सभर फैलिँदा सरकारमाथि दबाब बढेको छ। शिक्षकहरूको समर्थनमा सुरु भएको प्रदर्शन केही दिनमै राष्ट्रिय संकटमा परिणत भएको हो।
फ्रान्सका सयौँ विद्यालय बन्द भएका छन् भने ५ हजारभन्दा बढी मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये अधिकांश नाबालिग र यसअघि कुनै आपराधिक रेकर्ड नभएका विद्यार्थी रहेको बताइएको छ। प्रदर्शनका क्रममा विद्यार्थी, शिक्षक र प्रहरीसमेत घाइते भएका छन्।
उत्तर–पूर्वी सहर लेन्समा एक विद्यार्थीले ग्रेनेडजस्तो वस्तु उठाउँदा हात गुमाएको र टुर्समा अर्का विद्यार्थीले आँखामा गम्भीर चोट बेहोरेको जनाइएको छ। केही स्थानमा प्रदर्शनकारीले प्रहरीसँग झडप गर्नुका साथै विद्यालयमा तोडफोड र आगजनीसमेत गरेका छन्।
आन्दोलन आगामी मंगलबार थप ठूलो बन्ने अनुमान गरिएको छ। देशभर हजारौँ विद्यार्थी तथा समर्थक सडक प्रदर्शनमा सहभागी हुने अपेक्षा गरिएको छ।
कसरी सुरु भयो आन्दोलन?
सेप्टेम्बर २१ मा पेरिसको उपनगरस्थित सेन्ट–एक्जुपेरी माध्यमिक विद्यालयमा विद्यार्थीले शिक्षकसँग मिलेर कर्मचारी र शैक्षिक स्रोतको अभावविरुद्ध प्रदर्शन गरेका थिए। विद्यालयमा थप कर्मचारी पठाइएपछि त्यहाँको आन्दोलन अन्त्य भए पनि त्यसले अन्य विद्यालयका विद्यार्थीलाई समेत प्रदर्शनमा सहभागी हुन प्रेरित गरेको विद्यार्थी नेता मानेस नाडेलले बताएका छन्।
त्यसपछि पेरिस र आसपासका विद्यालयका प्रवेशद्वार अवरुद्ध हुन थाले। केही दिनमै उत्तरको लिलदेखि दक्षिणको मार्सेइसम्मका विद्यालयमा आन्दोलन फैलियो।
प्रदर्शनका क्रममा विद्यार्थीले सडकमा अवरोध खडा गर्ने, फोहोरका डब्बामा आगो लगाउने तथा प्रहरीसँग झडप गर्ने घटना भएका छन्। आन्दोलन सुरु भएयता १०० भन्दा बढी माध्यमिक विद्यालयमा क्षति पुगेको बताइएको छ।
प्रहरीको कारबाहीलाई लिएर पनि आलोचना भइरहेको छ। अलान्सोंमा एक प्रहरीले प्रदर्शनमा सहभागी एक किशोरीलाई घाँटीमा समातेको भिडियो सार्वजनिक भएपछि प्रहरीको बल प्रयोगबारे प्रश्न उठेको छ।
विद्यार्थीको मुख्य माग के हो?
हिंसात्मक घटनाले आन्दोलनलाई चर्चामा ल्याए पनि विद्यार्थीका असन्तुष्टि लामो समयदेखि रहेको बताइएको छ। उनीहरूले भीडभाडयुक्त कक्षा, पर्याप्त शिक्षक तथा शैक्षिक सामग्रीको अभाव र शिक्षक अनुपस्थित हुँदा कक्षा सञ्चालन नहुने समस्यालाई प्रमुख मुद्दा बनाएका छन्।
सन् २०१० मा फ्रान्समा जन्मदर बढेका कारण अहिले माध्यमिक तहमा विद्यार्थीको संख्या बढेको छ। तर लामो समयदेखि वास्तविक मूल्यका आधारमा शिक्षा क्षेत्रमा बजेट घट्दै गएको विद्यार्थी संगठनहरूको भनाइ छ। सन् २००८ को तुलनामा माध्यमिक विद्यालयमा विद्यार्थी संख्या करिब २ लाख ५० हजारले बढे पनि शिक्षकको संख्या घटेको जनाइएको छ। सार्वजनिक विद्यालयका करिब ७० प्रतिशत कक्षामा ३० भन्दा बढी विद्यार्थी रहेको दाबी गरिएको छ।
सरकारको प्रतिक्रिया
सरकारले सुरुवाती चरणमा आन्दोलनमा वामपन्थी दल ‘ला फ्रान्स इन्सुमिस’ (LFI) को सहभागितामाथि बढी ध्यान दिएको भन्दै आलोचना भएको छ। प्रदर्शन बढ्दै गएपछि भने सरकारले प्रहरी परिचालन र सार्वजनिक सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिएको छ।
ग्रेटर पेरिस क्षेत्रमा मात्रै विद्यालयमा भएको क्षतिको लागत करिब ७० लाख युरो अनुमान गरिएको छ।
शिक्षामन्त्री एडुआर्ड गेफ्रेले शुक्रबार विद्यार्थी नेताहरूसँग छलफल गरे पनि कुनै सहमति हुन सकेन। त्यसपछि विद्यार्थी नेताहरूले मंगलबार हुने प्रदर्शनमा ठूलो सहभागिताका लागि आह्वान गरेका छन्।
यसैबीच, फ्रान्सको कमजोर सार्वजनिक वित्तीय अवस्थाले सरकारलाई थप खर्च गर्न कठिन बनाएको छ। सरकारले सन् २०२७ को बजेटमार्फत बजेट घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशतमा सीमित गर्ने प्रयास गरिरहेको छ।
फ्रान्समा विद्यार्थी आन्दोलनको राजनीतिक प्रभावबारे पनि चर्चा बढेको छ। सन् १९६८ को विद्यार्थी आन्दोलनले देशकै सबैभन्दा ठूलो हडतालमध्ये एकको रूप लिएको इतिहास छ। अहिलेको आन्दोलन पनि सरकारका लागि ठूलो चुनौतीका रूपमा देखा परेको छ।
विद्यार्थी नेताहरू भने आफूहरूले ठूलो राजनीतिक माग नराखेको बताउँछन्। उनीहरूको मुख्य माग एउटै छ—विद्यार्थीले सुरक्षित र पर्याप्त स्रोतसहित पढ्न पाउने शिक्षा प्रणाली।