विश्वप्रसिद्ध अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्ट ले एकैपटक ३०० भन्दा बढी पत्रकार तथा कर्मचारीलाई सेवाबाट हटाएको छ। पत्रिकाको व्यवस्थापनले ‘स्टाफ कल’ मार्फत करिब ३० प्रतिशत जनशक्ति कटौती गरिएको जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेजनका संस्थापक तथा विश्वका प्रमुख अर्बपतिमध्ये एक जेफ बेजोसको स्वामित्वमा रहेको यस अखबारले आर्थिक संकट, घट्दो विज्ञापन आम्दानी र पाठक संख्यामा आएको गिरावटलाई कर्मचारी कटौतीको मुख्य कारणका रूपमा उल्लेख गरेको छ। पछिल्ला वर्षहरूमा डिजिटल रूपान्तरणको दबाब र सञ्चालन खर्च वृद्धिले परम्परागत मिडियाहरू आर्थिक रूपमा चुनौतीमा परिरहेका बेला पोस्टले पनि संरचनात्मक पुनर्संरचना अघि बढाएको हो ।
पुनर्संरचनाका नाममा पत्रिकाले आफ्नो खेलकुद विभाग (स्पोर्ट्स डेस्क) र पुस्तक खण्ड (बुक्स सेक्सन) पूर्ण रूपमा बन्द गरेको कोलम्बिया जर्नलिज्म रिभ्यू ले जनाएको छ। यस्तै, लोकप्रिय पडकास्ट ‘पोस्ट रिपोर्ट्स’ समेत स्थगित गरिएको छ। खेलकुद विभागका केही पत्रकारलाई ‘फिचर डेस्क’ मा सारिए पनि अधिकांश कर्मचारीले जागिर गुमाएका छन् ।
अन्तर्राष्ट्रिय ब्युरोहरूमा समेत कटौती गरिएको छ । भारत, खाडी क्षेत्र, अष्ट्रेलिया र युक्रेनमा कार्यरत ब्युरो प्रमुख तथा संवाददाताहरूलाई हटाइएको बताइएको छ। युक्रेन ब्युरो प्रमुख सियोभान ओ’ग्रेडी र संवाददाता लिजी जोन्सन पनि सेवामुक्त गरिएका पत्रकारहरूको सूचीमा परेका छन् ।
मिडिया उद्योगमा विश्वव्यापी रूपमा आर्थिक दबाब बढिरहेका बेला वासिङ्टन पोस्टको यो निर्णयलाई परम्परागत समाचार संस्थाहरूले भोग्नुपरेको संरचनात्मक संकटको संकेतका रूपमा हेरिएको छ । डिजिटल प्रतिस्पर्धा, सामाजिक सञ्जालको विस्तार र विज्ञापन बजारको परिवर्तनले ठूला अन्तर्राष्ट्रिय मिडियासमेत प्रभावित हुँदै गएको विश्लेषकहरूको भनाइ छ ।