आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत फैलाइने मिथ्या तथा भ्रामक सूचनाविरुद्ध 'अनलाइनखबर' र 'नेपाल फ्याक्टचेक' ले सहकार्य गरेका छन् । निर्वाचनका समयमा हुन सक्ने सूचनाको दुरुपयोग रोक्न र आम नागरिकलाई सत्यतथ्य जानकारी दिन दुई संस्थाबीच औपचारिक सहमति भएको हो ।
सहमति पत्रमा अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत र नेपाल फ्याक्टचेकका परियोजना प्रमुख उज्ज्वल आचार्यले हस्ताक्षर गरेका छन् ।
निर्वाचनजस्तो संवेदनशील समयमा गलत सूचनाले लोकतान्त्रिक अभ्यास र जनमतमा गम्भीर असर पार्न सक्ने खतरालाई मध्यनजर गर्दै यो पहल चालिएको दुवै संस्थाले जनाएका छन् । "मिथ्या सूचनाले नेपाली समाज, राजनीति र विशेषगरी निर्वाचन प्रक्रियामा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न यो सहकार्य कोशेढुङ्गा सावित हुनेछ," सहमतिपछि जारी विज्ञप्तिमा भनिएको छ ।
सहमतिअनुसार निर्वाचन अवधिभर सामाजिक सञ्जालमा भाइरल हुने शंकास्पद दाबी, भ्रामक फोटो, भिडियो र समाचारहरूको नेपाल फ्याक्टचेकले प्राविधिक तथ्यजाँच गर्नेछ । ती तथ्यजाँच गरिएका सामग्रीहरू अनलाइनखबर डटकम र हिमालय टेलिभिजनमार्फत डिकोडिङसहित प्रकाशन तथा प्रसारण गरिनेछ ।
नेपाल फ्याक्टचेक डट ओआरजी सन् २०२० देखि सञ्चालनमा रहेको नेपालको स्थापित तथ्यजाँच निकाय हो । सेन्टर फर मिडिया रिसर्च नेपाल र 'माइसंसार' को संयुक्त प्रयासमा सञ्चालित यो संस्था अन्तर्राष्ट्रिय तथ्यजाँच सञ्जाल (IFCN) को मान्यता प्राप्त नेपालको एकमात्र संस्था हो ।
अनलाइनखबरले आफ्नो सम्पादकीय प्रतिबद्धता दोहोर्याउँदै मिथ्या सूचनाविरुद्ध लड्न मूलधारका मिडियाको भूमिका अपरिहार्य रहेको जनाएको छ । यो सहकार्यले मतदातालाई भ्रममुक्त भई आफ्नो मताधिकार प्रयोग गर्न मद्दत पुग्ने र नेपाली सञ्चार क्षेत्रमा जिम्मेवार पत्रकारिताको नयाँ उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।