गत भदौ २३ र २४ मा देशभर गुञ्जिएको जेनजी आन्दोलन नेपाली राजनीतिक इतिहासको एउटा निर्णायक मोडका रूपमा हेरिएको छ । यो आन्दोलन कुनै एक दल, नेता वा निर्वाचनकेन्द्रित थिएन, दशकौंदेखि जरा गाडेर बसेको नातावाद, कृपावाद, भ्रष्टाचार र बेरोजगारीविरुद्ध युवाहरूको सामूहिक आक्रोश थियो । हाम्रो होइन, राम्रो चाहिन्छ भन्ने नाराले राजनीतिमा पात्रमात्र होइन, प्रवृत्ति नै बदलिनुपर्ने सन्देश दिएको थियो । यही आन्दोलनपछि दलहरू उम्मेदवार चयनको चरणमा प्रवेश गर्दा जनअपेक्षा असाधारण रूपमा बढेको देखिन्छ । परम्परागत रूपमा राजनीतिक दलहरू टिकट वितरण गर्दा गुट, पहुँच, आर्थिक क्षमता र शीर्ष नेतासँगको निकटतालाई मुख्य आधार बनाउँदै आएका थिए । तर ,जेनजी आन्दोलनपछि यस्तो अभ्यासमाथि तीव्र प्रश्न उठ्यो ।
आन्दोलनको दबाबका कारण दलहरूले सार्वजनिक रूपमा नै स्वच्छ छवि, योग्यता, युवाको प्रतिनिधित्व र समावेशीताको कुरा गर्न थाले । कतिपय दलमा आन्तरिक छलफल, विशेष अधिवेशन र युवाकेन्द्रित भाष्य शुरू हुनु यसैको परिणाम मानिन्छ । नेपाली कांग्रेसमा देखिएको विशेष अधिवेशन वा एमालेमा युवाको सहभागिता बढाउने प्रयासलाई यस सन्दर्भमा हेर्न सकिन्छ । तर व्यवहारमा हेर्दा परिवर्तन आंशिक र विरोधाभासपूर्ण देखिन्छ । धेरै पुराना दलहरूले उम्मेदवार चयनमा पुरानै अनुहार दोहो¥याएका छन् । दलहरूले विवादित वा पटकपटक चुनाव लडेका उम्मेदवारलाई नै टिकट दिएको तथ्यले जेनजीको भावनालाई हल्का रूपमा मात्र बुझिएको संकेत गर्छ । नयाँ पार्टीहरूबाट समेत नयाँ सोचको अपेक्षा गरिएको भए पनि धेरै ठाउँमा पुरानै पात्रहरू फरक झण्डामुनि दोहोरिन पुगेका छन् । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकार र त्यसमा सहभागी मन्त्रीहरूको भूमिकाले झनै बहस सिर्जना गरेको छ । आन्दोलनको मर्मअनुसार काम गर्नुपर्ने सरकारका धेरै मन्त्रीहरू राजीनामा दिएर चुनावमा होमिनुले युवाहरूमा निराशा थपिएको छ । यसले आन्दोलनलाई सत्तामा पुग्ने सिँढीका रूपमा प्रयोग गरिएको आरोपलाई बल दिएको छ । आन्दोलनमा सहभागी युवाहरूको बलिदान, अनुशासन र विश्वासको कदर नगरी स्वार्थ केन्द्रित राजनीतिमा फर्किएको अनुभूति व्यापक छ । समावेशीता र लैङ्गिक प्रतिनिधित्वको सवालमा अवस्था झनै चिन्ताजनक छ । देशभर ५० प्रतिशतभन्दा बढी महिला मतदाता हुँदा पनि उम्मेदवारीमा महिलाको हिस्सा करीब ११ प्रतिशतमा सीमित हुनु राजनीतिक दलहरूको दोहोरो चरित्रको प्रमाण हो । मधेशमा दिइएका अधिकांश महिला उम्मेदवारी पनि पूँजीपति, नेताका नातेदार वा पहुँच भएका परिवारमै सीमित छन् । दलित, अल्पसंख्यक र पिछडिएका वर्गको प्रतिनिधित्व झनै कमजोर छ, जुन जेनजी आन्दोलनको मूल भावना विपरीत छ । यद्यपि, केही दलहरूले जेनजीको सन्देशलाई अवसरका रूपमा लिएको दाबी पनि गरेका छन् । युवालाई उम्मेदवार बनाउने, खुला प्रतिस्पर्धा गर्ने र पुरानो राजनीतिलाई विस्थापित गर्ने प्रयास सकारात्मक संकेत हुन् । तर, समग्र चित्र हेर्दा जेनजी आन्दोलनले दलहरूलाई आत्ममन्थन गर्न बाध्य त बनाएको छ, तर पूर्ण रूपान्तरण गराउन सकेको छैन । यसर्थ, जेनजी आन्दोलनपछिको उम्मेदवार चयन प्रक्रिया आशा र निराशाको संगम बनेको छ । आन्दोलनले प्रश्न र दबाब सिर्जना गरेको छ, तर वास्तविक परिवर्तनको जिम्मा अझै पनि दलहरूको नियत र जनताको विवेकपूर्ण निर्णयमा निर्भर छ । अबको निर्वाचन केवल सरकार बनाउने प्रक्रिया होइन, जेनजीले मागेको नयाँ राजनीतिक संस्कार स्वीकार्ने वा अस्वीकार गर्ने जनमत संग्रहजस्तै बनेको छ । प्रस्तुत छ, मध्य नेपालले यसै सन्दर्भमा सरोकारका विभिन्न व्यक्तिहरूसँग गरेको कुराकानीको सार:
प्राडा दीपक शाक्य (उपकुलपति)
(मधेश विश्वविद्यालय)युवाको भावना समेट्ने काम भएको छ
जेनजीको आन्दोलनपछि दलहरूमा केही परिवर्तन आएको छ । पूर्ण रुपमा जेनजीको भावनाअनुसार रुपान्तरण गर्न नसके पनि जेनजीको भावनालाई समेट्नु पर्छ । युवाहरूलाई अगाडि बढाउनु पर्छ भन्ने आत्मज्ञान प्राप्त गरेका छन् । नेपाली कांग्रेसमा जेनजी युवाहरूको दबाबले विशेष महाअधिवेशन भएको हो । एमालेमा पुरानैले जिते पनि युवाहरूको बाहुल्य समेट्न प्रयत्न गरिरहेका छन् । उम्मेदवारी चयन हेर्दा पार्टीहरूले सबै ठाउँमा युवाहरूलाई पूर्णरुपले समेट्न नसके पनि युवाहरूलाई प्राथमिकता दिएर भावना र युवाहरूलाई अगाडि बढाउनु पर्छ भनेर पार्टीहरूले सकारात्मक रुपमा लिएकाजस्तो लाग्छ ।
दीपेन्द्र चौहान( एशिया संयुक्त सचिव)
विश्व पत्रकार महासंघमर्मअनुसार काम भएको छैन
जेनजी आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने हो, तर हुन सकेको छैन । जेनजीको मागअनुसार बनेको सरकारका अधिकांश मन्त्रीहरू राजीनामा दिएर चुनावमा होमिएका छन् । जेनजीको विश्वास र अनुशासनलाई तोडेर चुनावमा होमिनु राम्रो होइन । जेनजी आन्दोलनभन्दा अघिको नेपाल र जेनजी आन्दोलनपछिको नेपालमा फरक छ । विभिन्न पार्टीहरूमा देखिएको परिवर्तन जेनजी आन्दोलनको फलस्वरुप हो । नेपाली कांग्रेस पार्टीभित्र पनि जेनजी आन्दोलनको प्रभाव देखिएको छ । टिकट वितरण प्रक्रियामा पनि जेनजीहरूलाई प्राथमिकतामा राखेका छन् । अब आउने सरकारले जेनजीको भावनाअनुसार काम गरोस् । जेनजीको तागतमा नेताहरूले आफ्नो दुनो सोझ्याउने काम पनि गरिरहेका छन् । यस्ता क्रियाकलापहरूबाट नेताहरू सचेत हुन आवश्यक छ ।
अशोक तिवारी(केन्द्रीय सचिव )
नेपाल पत्रकार महासंघपुराना उम्मेदवारहरू नै दोहोरिएका छन्
उम्मेदवारी चयनमा पुराना पार्टीहरूले पुरानै ढाँचामा टिकट वितरण गरेका छन् । नयाँ पार्टीहरूमा केही सुधार हुन्छ भन्ने आम जनताले सोच बनाएका थिए । नयाँ पार्टीहरूमा पनि पुराना उम्मेदवारहरू नै दोहोरिएका छन् । पर्सामा कांग्रेस पार्टीमा ४ वटा नै पुराना उम्मेदवारहरू दोहोरिएका छन् । एमाले पार्टीमा पनि पुरानै उम्मेदवार र पार्टी परित्याग गरेर आएकालाई उम्मेदवार दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट पनि पुरानै उम्मेदवारहरू आएका छन् । जेनजी आन्दोलन परिवर्तनको लागि भएको थियो । तर, परिवर्तन देख्न पाइएन ।
जनार्दनसिहं क्षेत्री (सभापति)
नेपाली कांग्रेस, पर्साप्रयासभन्दा परिणाम महत्वपूर्ण हुन्छ
टिकट वितरणमा देखिएको असन्तुष्टि र त्यसले जन्माएको जेनजीको भावना नेपाली कांग्रेसभित्र मात्र होइन, समग्र नेपाली राजनीतिमा गम्भीर रूपमा उठिरहेको विषय हो । पार्टीभित्र आत्मआलोचनाको संस्कार अझै जीवित छ । जेनजी पुस्ता औपचारिक भाषणभन्दा पनि स्पष्टता, पारदर्शिता र जिम्मेवारी खोज्ने पुस्ता हो । जेनजीको मुख्य भावना अवसरको समानता, योग्यता, समावेशिता र परिवर्तनप्रति केन्द्रित छ । टिकट वितरणजस्तो संवेदनशील विषयमा पुरानै शक्ति सन्तुलन, गुटगत प्रभाव र अनुहार दोहोरिरहँदा युवापुस्तामा निराशा पैदा हुनु स्वाभाविक हो । माग सम्बोधनको प्रयास गरिएको छ । जेनजीका लागि प्रयासभन्दा परिणाम बढी महत्वपूर्ण हुन्छ । उनीहरू प्रतीकात्मक परिवर्तनभन्दा संरचनागत र व्यवहारिक परिवर्तन खोजिरहेका छन् । विशेष महाधिवेशनमार्फत् नेतृत्व परिवर्तन गरिएको छ । नेतृत्व परिवर्तन आफैंमा परिवर्तनको सुरुवात हो । यसले नीति, सोच र कार्यशैलीमा पनि नयाँपन ल्याउँछ । नेपाली कांग्रेसले ऐतिहासिक रूपमा हरेक परिवर्तनको अगुवाई गरेको छ । लोकतन्त्र, संविधान, समावेशिता र नागरिक अधिकारका आन्दोलनमा कांग्रेसको भूमिका छ । जेनजी इतिहासभन्दा भविष्यतर्फ बढी केन्द्रित छ । मागहरू सम्बोधन हुँदै जान्छन् । दीर्घकालीन भरोसा बनाउन स्पष्ट कार्ययोजना आवश्यक छ । जेनजी सामाजिक सञ्जालमार्फत तुरुन्त प्रतिक्रिया दिन्छ, निगरानी गर्छ र जवाफ माग्छ । त्यसैले कांग्रेसले संवादको भाषा पनि बदल्नु पर्छ । टिकट वितरणमा जेनजीको भावना सम्बोधन भएको संकेत त देखिन्छ, तर त्यो पर्याप्त छैन ।
ओमप्रकाश खनाल (अध्यक्ष)
नेपाल पत्रकार महासंघ, पर्सापुराना अनुहारले परिवर्तन कमजोर
हालका राजनीतिक घटनाक्रमहरूलाई विश्लेषण गर्दा जेनजी पुस्ताले उठाएको सुशासनको मुद्दा नेपाली राजनीतिमा एक महत्वपूर्ण मोडको रूपमा देखिएको छ । यो पुस्ताले नातावाद, कृपावाद, भ्रष्टाचार र शक्तिको दुरुपयोगविरुद्ध स्पष्ट रूपमा असन्तुष्टि प्रकट गरेको हो । सडकमा देखिएको आक्रोश केवल भावनात्मक अभिव्यक्ति मात्र नभई राज्य सञ्चालनको शैलीप्रति गरिएको गम्भीर प्रश्न थियो । यसले शासनसत्ता नै पल्टाइदियो । पारदर्शिता, जवाफदेहिता र योग्यतामा आधारित शासन प्रणालीको माग जेनजीको मुख्य अपेक्षा बनेको छ । यही दबाब र जनभावनाको प्रभावस्वरूप नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्दै आन्तरिक सुधार र परिवर्तनको संकेत दिने प्रयास गरेको देखिन्छ । यद्यपि, यसलाई पूर्ण रूपमा संरचनागत परिवर्तन भन्न सकिने अवस्था अझै बनेको छैन । अर्कोतर्फ, नेकपा एमालेले समयअगावै महाधिवेशन सम्पन्न गरी पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ, जसले परिवर्तनभन्दा स्थायित्वलाई प्राथमिकता दिएको सन्देश दिन्छ । यसले जेनजीले अपेक्षा गरेको नयाँ सोच र नयाँ अभ्यासलाई समेट्न नसकेको आलोचना पनि खेपिरहेको छ । यसैबीच केही राजनीतिक दलहरू चुनावलाई केन्द्रमा राखेर एकता, गठबन्धन र जोडघटाउमा सक्रिय देखिए । चुनावलक्षित एकताले संख्यात्मक बल त बढाउन सक्छ, तर त्यसले जनताको भावना सम्बोधन गर्न नसके लोकतान्त्रिक मूल्य कमजोर बन्ने खतरा रहन्छ । विशेषगरी टिकट वितरणको सवालमा नयाँ पुस्ताको मनोविज्ञान, अपेक्षा र आकांक्षालाई समेट्ने प्रयास निकै सीमित देखिएको छ । अधिकांश दलहरूमा पुरानै अनुहारहरू दोहोरिएका छन्, जसले परिवर्तनको नारालाई कमजोर बनाएको छ ।
अझ चिन्ताजनक पक्ष के छ भने नयाँ भनेर चिनिएका केही दलहरूमा समेत स्टन्टमुखी राजनीति गर्ने, विवादास्पद पृष्ठभूमि भएका र दीर्घकालीन दृष्टिकोणभन्दा चर्चामा रहने व्यक्तिहरूलाई अगाडि सारिएको देखिन्छ । यसले जेनजीको चेतनशील र सचेत मागलाई हल्का रूपमा लिएको संकेत दिन्छ । केवल नयाँ अनुहार प्रस्तुत गर्नुमात्र परिवर्तन होइन, सोच, आचरण र राजनीतिक संस्कारमा समेत नयाँपन आवश्यक हुन्छ । यदि जेनजीको भावना र आक्रोशलाई केवल सत्ता परिवर्तन गर्ने र सत्तामा पुग्ने औजारका रूपमा मात्र प्रयोग गरिन्छ भने त्यो लोकतन्त्रका लागि अर्को दुर्भाग्य हुनेछ । सुशासनको मुद्दा चुनावी नारा मात्र नभई व्यवहारमा उतारिनुपर्ने आवश्यकता हो । राजनीतिक दलहरूले अब युवाको आवाजलाई सुन्ने मात्र होइन, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउन जरुरी छ । अन्यथा, जनताको विश्वास गुम्दै जानेछ र राजनीतिक प्रणालीप्रति वितृष्णा अझ बढ्दै जानेछ । साँचो अर्थमा परिवर्तन तबमात्र सम्भव हुन्छ, जब जेनजीको चाहना नीति, नेतृत्व र कार्यशैलीमा प्रतिविम्बित हुन्छ ।
तबरेज अहमद(अध्यक्ष)
जसपा पार्टी, पर्साचुनाव अप्रेशन गरेर बच्चा जन्माउनुजस्तै
जेनजी आन्दोलन देशमा भएको बेथिति, भ्रष्टचार र बेरोजगारीविरुद्धको आन्दोलन थियो । जनताबाट चुनिएका प्रतिनिधिहरूलाई विघटन गरेर जनताको नेतृत्वबिहीन बनाउने परिकल्पना गरिएको थिएन । ६ महिनाको सरकारमा हामीले जुन गतिबिधिहरू देखेको छौं । मन्त्रीहरूले नागरिक सरकारमा सहभागी हुने गएका मन्त्रीहरू नै पार्टीको सदस्यता लिने र पार्टीबाट नै चुनाव लडिरहेका छन् । कलिला भाईबहिनीहरूलाई आन्दोलनमा प्रयोग गरियो । उनीहरूलाई मारियो । आयोग गठन गरेर अनुसन्धान भइरहेको छ । जेनजी आन्दोलनले समाजमा स्वच्छ छवि भएका र समाजमा योगदान दिएका मानिसलाई पार्टीहरूले उम्मेदवार बनाउला भन्ने आशा थियो । दल बदलुहरू कहिले कुन, कहिले कुन पार्टीमा समावेश हुने गरेको पाइन्छ । आफ्नै कार्यकर्ताहरूलाई दलबिहीन बनाउने र निष्ठाको राजनीतिमा पानी फ्याँक्ने कामले गर्दा जेनजी आन्दोलनको मर्मविपरीत काम भइरहेको छ । त्यही प्रणालीभित्र बसेर चुनाब गर्दा कुनै फाईदा छैन । यो चुनाव भनेको सुत्केरीको नर्मल बच्चा जन्माउनु र अप्रेशन गरेर बच्चा जन्माउनुजस्तै हो । नर्मल चुनाव ८४ मा हुन्थ्यो । हतार गरेर अप्रेशन गरेजस्तै यो चुनाव भएको छ । यो चुनावले जनता र कार्यकर्तामा खासै उत्साह छैन । युवाहरूमा पनि कुनै उत्साह छैन । यो चुनावले पनि हिजोभन्दा कुनै फरक परिणाम ल्याउने छैन । जेनजी आन्दोलनको मर्मअनुरुप काम नभएकाले सबै दुःखी छन् ।
किरण सरकार ( केन्द्रीय सदस्य)
नेपाली कांग्रेस
नेताहरू वर्चश्व देखाउन चुनावमा होमिए
दल र नेताहरू आफ्नो वर्चश्व कायम गर्न चुनावमा होमिएका छन् । जेनजी आन्दोलनको भावनालाई बुझेका छैनन् । अधिकार लिनका लागि महिलाहरू स्वयम मैदानमा उत्रिनु पर्छ । वर्षौंदेखि राजनीतिमा लागेका महिलाहरू पनि यो समयमा पार्टीमा जुध्न नसकेका हुन् । दलमा पुरुषहरू राजनीति गर्ने र आफूले नसके श्रीमतीलाई उम्मेदवारको रुपमा अघि सार्ने परिपाटी अहिले पनि परिवर्तन हुन सकेको छैन । सबैलाई पदको लोभ बढेको छ । सरकारको पदमा भएका मन्त्रीहरू चुनावमा जान्न भन्नेहरू पनि आज चुनावमा होमिएका छन् ।
प्रदीप चौरसिया(वडा अध्यक्ष)
वीरगञ्ज–५
परिवर्तनको दबाब सिर्जना गरेको छ
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले राजनीतिमा ठूलो हलचल ल्याएको छ । यस आन्दोलनले विशेषगरी आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया र राजनीतिक दलहरूको आन्तरिक कार्यशैलीमा केही आधारभूत परिवर्तनहरू ल्याएको देखिन्छ । परम्परागत रूपमा नातावाद, कृपावाद र चाकडीको आधारमा टिकट वितरण गर्ने परिपाटीलाई यस आन्दोलनले कडा चुनौती दिएको छ । अहिले दलहरूभित्र उम्मेदवारको शैक्षिक योग्यता, सफा छवि र विशेष क्षेत्रको विज्ञता खोज्न थालिएको छ । जेनजी मतदाताले हाम्रो होइन राम्रोको नारालाई थप सशक्त बनाएकाले दलहरू पुराना र विवादित नेताहरूलाई दोहो¥याउन डराएका छ । जेनजी आन्दोलनले नेपाली राजनीतिमा परिवर्तनको दबाब सिर्जना गरेको छ । उम्मेदवार चयनमा अब गुट भन्दा गुण र पाका भन्दा पौरखी युवाहरूलाई स्थान दिनुपर्ने बाध्यता दलहरूमा देखिएको छ ।
मनिका झा(पत्रकार)
जनकपुर
अहिलेको उम्मेदवारी पुरानै ढाँचाको छ
हरेक दलको उम्मेदवारी चयनलाई समग्र रुपमा हेर्दा न त समानुपातिक छ, नत समावेशी नै छ । जेनजीको आन्दोलन परिवर्तनका लागि भएको थियो । मधेश प्रदेशमा पुरानै नेताहरू उम्मेदवार बनेर आउँदा के परिवर्तन ल्याउँछ ? लैङ्गिक समानुपातिकको कुरा गर्ने हो भने समग्र देशमा नै ११ प्रतिशतमात्र महिलाको उम्मेदवारी परेको छ । ५० प्रतिशतभन्दा बढी महिला मतदाता रहँदा महिलाको उम्मेदारी अति न्यून परेको छ । यो लैङ्गिक अनुपातले सही छैन । नातावाद र कृपावादको राजनीतिलाई परिवर्तन गर्ने सपना देखेर जेनजी आन्दोलन भएको थियो । तर, अहिलेको उम्मेदवारी चयनले परिवर्तन गर्न सम्भव देखिएको छैन । उम्मेदवारी पाएका महिलाहरू पनि कहिले नदेखिएको अनुहार ल्याएका छन् । मधेशमा मुख्य दलहरूले उम्मेदवारी दिएका १२ जना महिलाहरू पनि पूँजीपतिहरू र नेताका नातेदारहरूले मात्र पाएका छन् । यो सही प्रतिनिधित्व होइन । महिलालाई मात्र उम्मेदवारी दिएर हँुदैन । दलित, अल्पसंख्यक, पिछडा वर्गको प्रतिनिधित्व छैन । हरेक दलहरूले समग्र समावेशी प्रक्रिया अवलम्वन गरेका छैनन् । जेनजीको माग समग्र व्यवस्थाप्रतिको आक्रोश थियो । जेनजी आन्दोलनको समग्र व्यवस्थाप्रतिको आक्रोशलाई दलहरूले हल्का तरिकाले बुझिरहेका छन् । यो आपतकालीन चुनाव हो । यो सडक बनाउने चुनाव होइन । विकास र परिवर्तनको मुद्दा बोकेको चुनाव हो । अहिलेको उम्मेदवारी पुरानै ढाँचाको उम्मेदवारी छ । जेनजी आन्दोलनको मर्मलाई विचार गरिएको छैन ।
हरि पन्त (अध्यक्ष)
रास्वपा पार्टी, पर्सारास्वपा जेनजीको मागअनुसार चलेको छ
रास्वपा पार्टी जेनजीको मागअनुसार नै चलेको छ । समग्र दलहरूको स्थिति हेर्दा अन्य पार्टीहरू पुरानै ढाँचामा चलेको देखिएको छ । ३५ वर्षदेखि जो पार्टीमा देखिएका अनुहार नै फेरि पनि देखिएका छन् । जेनजीको आन्दोलनपछि बनेको नागरिक सरकार काम चलाउ सरकार हो । अब पनि चुक्यौं भने ती पुरानै दलहरू आउँछन् । देश र युवाहरूको भविष्यका लागि हामी पनि चुनावमा होमिनु पर्छ भनेर राजनीतिमा होमिएका हुन् । नागरिक सरकारका मन्त्रीहरू पनि चुनावमा स्वच्छ भावनाले होमिएका हुन् । यो सकारात्मक पक्ष हो ।
ओमप्रकाश सर्राफ(अध्यक्ष)
जनमत पार्टी, पर्सा
मन्त्री पद छोडेर उम्मेदवारी दिए
निर्वाचनको समयमा नागरिक सरकार थियो । नागरिक सरकारमा भएका मन्त्रीहरू राजीनामा दिएर चुनाव लड्न गए । पुरानै सत्तास्वार्थको पुनरावृति हो । यदि चुनाव नै लड्नु थियो भने नागरिक सरकारमा जानुपर्ने कुनै औचित्य थिएन । नागरिक सरकारबाट मन्त्रीको पद पाएपछि यिनीहरूमा पनि स्वार्थ बढेको देखिन्छ । कुनै पहिचान नभएको मानिस आम जनतासामु चिनिने अवसर जेनजी आन्दोलनपछि नागरिक सरकारबाट पाए । सरकारको पदबाट राजीनामा दिएर चुनावको मुखमा उम्मेदवारी दिन गए । यिनीहरूमा पुराना नेताकोभन्दा पनि गलत संस्कार भएको बुझाइ छ । जेनजी आन्दोलन परिवर्तनको लागि भएको थियो । पुराना पार्टीले पुरानै अनुहारलाई दोहो¥याएका छन् । जेनजी आन्दोलनको मर्मविपरीत काम भएको छ । दलहरूको नियतमा खोट छ । जनताले नै दल र नेताहरूलाई सुधार्ने बेला भएको छ ।
बालगोपाल थापा (केन्द्रीय सदस्य)
नेपाली कम्युनिष्ट पार्टी
जेनजीका मुद्दा सम्बोधन हुनेमा शंका
चुनावमा सबै पार्टीले जेनजीको मुद्दालाई सम्बोधन गर्न अगाडि बढिरहेका छन् । पार्टीहरूमा जेनजीको मुद्दाहरू सम्बोधन हुने सवालमा पनि शंकास्पद छ । नयाँ प्रकारका सम्बोधन राजनीतिक सबै दलहरूमा गरिएको देखिँदैन । सबै दलमा पुरानै नेताहरू सत्तामा बस्ने मानसिकता छ । नयाँ मुद्दाको सम्बोधनका लागि नयाँ सोच आउनु पर्छ । नयाँ सोचले मात्र जेनजीको मुद्दा सम्बोधन गर्न सक्छ । नयाँ सोचले ठाउँ पाएन भने पुरानै व्यक्तिहरू आउने हो । नयाँ मुद्दा र विषयवस्तुहरूलाई सम्बोधन गर्न नयाँ सोच भएका नयाँ युवाहरू आउनु पर्छ । नयाँ सोच भएका युवा आउने सम्भावना कम छ ।