महिला सहभागिता, समावेशिता र नयाँ राजनीतिक संस्कृतिको पक्षमा आफूलाई प्रस्तुत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वाग्मती प्रदेशका जिल्ला अधिवेशनमा भने महिला नेतृत्व स्थापित गर्न असफल देखिएको छ।
शनिबार र आइतबार सम्पन्न अधिवेशनमार्फत वाग्मती प्रदेशका १३ मध्ये ९ जिल्लामा नयाँ नेतृत्व चयन भएको भए पनि कुनै पनि जिल्लामा महिला सभापति वा प्रमुख पदमा चयन नभएको तथ्य सार्वजनिक भएको छ। अधिकांश जिल्लामा पुरुष नेतृत्व नै दोहोरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार काभ्रेपलाञ्चोक, मकवानपुर, भक्तपुर र रामेछापमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ भने काठमाडौं, नुवाकोट, सिन्धुली, धादिङ र दोलखामा मतदानमार्फत नयाँ नेतृत्व छानिएको हो। तर, यी कुनै पनि जिल्लामा महिलाले सभापति वा प्रमुख पदमा स्थान पाउन सकेनन्।
रास्वपाले महिला सशक्तीकरणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डामध्ये एक भन्दै आएको भए पनि जिल्ला तहमा देखिएको परिणामले पार्टीभित्रको समावेशी अभ्यासमाथि प्रश्न उठाएको छ। विश्लेषकहरूले नेतृत्व संरचनामा महिलाको न्यून सहभागिताले पार्टीको नीतिगत प्रतिबद्धतामाथि नै पुनर्विचार आवश्यक देखिएको टिप्पणी गरेका छन्।
यसैबीच, रास्वपा वाग्मती प्रदेश सभापति अच्युतम लामिछानेले महिला नेतृत्वको अनुपस्थितिलाई चुनौतीका रूपमा स्वीकार गरेका छन्। उनले भने, “हामीलाई दुःख लागेको छ। महिलाहरू आफैं नेतृत्वका लागि अग्रसर भएर नआएको अवस्था देखियो। अब पार्टीले महिला सशक्तीकरण र नेतृत्व विकासका लागि विशेष प्रशिक्षण कार्यक्रम आवश्यक छ भन्ने महसुस गरेको छ।”
उनका अनुसार आगामी दिनमा महिलालाई पद दिने मात्र होइन, प्रतिस्पर्धामार्फत नेतृत्व लिन सक्ने वातावरण निर्माण गर्नु पार्टीको प्राथमिकता हुनुपर्नेछ।
अधिवेशनका क्रममा काभ्रेपलाञ्चोकमा प्रवीणकुमार ढकाल पुनः सभापति बनेका छन् भने मकवानपुरमा सञ्जीव पाठक, भक्तपुरमा रामेश्वर बस्नेत र काठमाडौंमा राजा शाक्य जिल्ला सभापतिमा निर्वाचित भएका छन्। यस्तै नुवाकोट, सिन्धुली, धादिङ, दोलखा र रामेछापमा पनि नयाँ नेतृत्व चयन गरिएको छ।
सिन्धुपाल्चोकमा भने विभिन्न कारण देखाउँदै अधिवेशन स्थगित गरिएको छ। अन्य जिल्लामा अधिवेशन प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।
रास्वपाले असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ, जसमा समावेशिता र संगठनात्मक संरचनाको विषय प्रमुख बहसको एजेन्डा बन्ने अपेक्षा गरिएको छ।