गर्मी मौसम सुरु भएसँगै तापक्रम बढ्न थालेको छ। अत्यधिक गर्मीका कारण शरीरमा पानीको कमी, थकान, कमजोरी तथा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन्। यस्तो अवस्थामा शरीरलाई चिसो, ताजा र हाइड्रेटेड राख्न प्राकृतिक पेय पदार्थको सेवन महत्वपूर्ण मानिन्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार नरिवल पानी गर्मी मौसममा सबैभन्दा लाभदायक प्राकृतिक पेयमध्ये एक हो। यसमा प्रशस्त मात्रामा पानी, इलेक्ट्रोलाइट्स तथा आवश्यक पोषक तत्त्वहरू पाइने भएकाले शरीरलाई ऊर्जा दिनुका साथै डिहाइड्रेसनबाट जोगाउन मद्दत गर्छ।
पोषणविद् अतुल उपाध्यायका अनुसार नरिवल पानीले गर्मीका कारण पसिनाबाट गुमेको पानी तथा खनिज पदार्थको कमी छिट्टै पूरा गर्छ। नरिवल पानीमा करिब ९४ प्रतिशत पानी हुने भएकाले यसलाई प्राकृतिक हाइड्रेशन ड्रिंकका रूपमा लिइन्छ।
शरीरमा पानीको कमी हुन दिँदैन
गर्मीका बेला अत्यधिक पसिना आउने हुँदा शरीरमा पानीको मात्रा घट्न सक्छ। नरिवल पानीमा पाइने पोटासियम, सोडियम र अन्य इलेक्ट्रोलाइट्सले शरीरमा पानीको सन्तुलन कायम राख्न सहयोग गर्छ।
पाचन प्रणालीलाई बनाउँछ स्वस्थ
नरिवल पानीमा रहेको फाइबरले पाचन प्रक्रियामा सुधार ल्याउँछ। यसले पेट फुल्ने, ग्याँस हुने तथा अपचजस्ता समस्यालाई कम गर्न मद्दत गर्ने चिकित्सकहरू बताउँछन्।
थकान हटाएर दिन्छ ऊर्जा
गर्मीका कारण शरीरमा आलस्य र थकान महसुस हुन सक्छ। नरिवल पानीले तुरुन्तै ऊर्जा प्रदान गर्ने भएकाले शरीरलाई स्फूर्तिलो बनाउन सहयोग पुर्याउँछ।
तौल नियन्त्रणमा सहयोगी
कम क्यालोरी, कम चिल्लो र कम चिनी भएका कारण नरिवल पानी तौल नियन्त्रण गर्न चाहने व्यक्तिका लागि पनि उपयुक्त पेय मानिन्छ।
मुटुको स्वास्थ्यका लागि लाभदायक
नरिवल पानीमा पाइने पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ। साथै, यसले खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।
छालामा ल्याउँछ प्राकृतिक चमक
नरिवल पानीमा एन्टीअक्सिडेन्ट तथा भिटामिन सी पाइने भएकाले यसले छालालाई भित्रबाट हाइड्रेट राख्छ। नियमित सेवनले छालाको प्राकृतिक चमक बढ्न सक्ने विज्ञहरूको भनाइ छ।
गर्मी मौसममा पर्याप्त मात्रामा पानी पिउनुका साथै नरिवल पानीको सेवन गर्दा शरीरलाई स्वस्थ, ऊर्जावान् र ताजा राख्न सकिने स्वास्थ्यकर्मीहरूको सुझाव छ।